‘हिउँदे वर्षा केही दिन अझैं लम्बिने’

सफल खबर संवाददाता

विहीबार, २४ पुस २०७६, ०९ : ४६
‘हिउँदे वर्षा केही दिन अझैं लम्बिने’

काठमाडौँ  । शुक्रबार सम्म मौसममा सुधार आउने पुर्वानुमान गरेको मौसम पूर्वानुमान महाशाखाले  हिउँदे वर्षा केही दिन अझैं लम्बिने जनाएको छ । हिउँदे वर्षा केही ढिलो भएर हुनुपर्नेमा यस वर्ष चाडै भएकोले यो वर्षको हिउँदे वर्षा लम्बिने सम्भावना बढेको हो ।

हिउँदे याम शुरु भएयता अहिलेसहित तीनपटक हिउँदे वर्षा भइसकेको छ । हिउँदे वर्षा कायम रहेका बेला तापक्रममा सामान्य गिरावट आए पनि चिसो भने लामै समय रहने अनुमान महाशाखाले गरेको छ । महाशाखाका मौसमविद्का अनुसार हिउँदे वर्षा गराउने न्यूनचापीय प्रणाली सक्रिय रहेकाले थप वर्षा हुने क्रम जारी रह्न सक्छ । 

वर्षासँगै यस वर्ष हिमपात पनि गएको वर्षभन्दा बढी भएको महाशाखाले विश्लेषण गरेको छ ।
तेस्रो पटकको हिउँदे वर्षा गराउने न्यूनचापीय प्रणाली सोमबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको हो । जसका कारण मङ्गलबारदेखि नै देशभरको मौसम बदलीको अवस्था कायम रह्यो । बुधबार बिहानैदेखि देशका विभिन्न भूभागमा वर्षा सुरु भएको छ । बुधबार र बिहीबार पानी पर्ने क्रम उस्तै रहन्छ, शुक्रबारदेखि भने मौसम केही खुल्नेछ ।

शाखाका अनुसार देशको पश्चिमदेखि पूर्वसम्मका सबै आकाश बादलले ढाकेको छ । उच्च हिमाली र पहाडी भेगमा हिमपात सुरु भएको छ भने मध्य तथा तल्लो भेगमा वर्षा सुरु भएको छ । सुदूरपश्चिममा बिहीबार साँझ नै मौसम सुधार हुने सङ्केत रहे पनि अन्यत्र भने शुक्रबारबाट मात्र सुधार हुनेछ । 

तीन दिनसम्मको अवधिमा देशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान महाशाखाले गरेको छ । यस पालाको वर्षामा ४० देखि ८० प्रतिशतसम्मको वर्षा काठमाडौँलगायत विभिन्न मुख्य सहरमा हुने अनुमान गरिएको छ ।

अर्को वर्षा भित्रिँदै

तेस्रो चरणको हिउँदे वर्षा नसकिँदै नेपालमा चौथो चरणको वर्षा गराउने नयाँ न्यूनचापीय प्रणाली पश्चिमबाट प्रवेश गर्ने तयारीमा रहेको छ । नेपालको सिमानातिर लम्कँदै गरेको त्यो न्यूनचापीय प्रणालीले फेरि सोमबारदेखि वर्षाको सङ्केत गरिरहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । ‘एकदम चाँडो चाँडो आइरहेको छ, शनिबार र आइतबार केही राहत महसुस गरिए पनि सोमबारदेखि फेरि बदलीको अवस्था आउँदै छ ,’–उहाँले थप्नुभयो  ।

भूमध्य सागरमा उत्पन्न भएको पश्चिमी न्यूनचापीय प्रणाली कृष्ण सागर, क्यास्पियन सागरको आकाश हुँदै अफगानिस्तान, पाकिस्तान, जम्मुकाश्मीरको बाटो समातेर नेपालको पश्चिमी भूभागबाट वर्षा गराउन आइपुगेको हो । यस प्रणालीको आकार ठूलो भएमा तल तल उड्दै आउने गर्छ । सानो प्रणाली हँुदा भने उपल्लो क्षेत्रबाट नेपाल भित्रने गर्छ । अहिले कायम रहेको र आउने प्रणालीलाई बल दिन भारतको गुजरात र राजस्थानमा बनिरहेको दक्षिणी मौसमी प्रणालीले सघाइरहेको छ । जसले गर्दा हिउँदे वर्षाको समय र औसत दर वृद्धि गर्न मद्दत गरिरहेको महाशाखाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस