चितवन । दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको रत्ननगर महोत्सवको दशौँ संस्करणको उद्घाटन पुस २५ गते उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भएका छन् । माघ ७ गतेसम्म आयोजना हुने दशौँ रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक रत्ननगर उद्योग वाणिज्य संघले जनाएको छ ।
संघले बुधबार महोत्सवस्थल टिकौलीचौरमा पत्रकार सम्मेलन गरी महोत्सवको तयारीबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै रत्ननगर महोत्सव मूल आयोजक समितिका संयोजक राजाराम रेग्मीले भने, ‘रत्ननगर महोत्सवले चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको छ ।’
नेपाल भ्रमण वर्ष २०२० को सुरुवाती चरणमै आयोजना हुन लागेको रत्ननगर महोत्सवले भ्रमण वर्ष सफल पार्न पर्यटकीय गतिविधिमा जोड दिएको छ । हेलिकप्टरबाट स्थानीय पर्यटकीय स्थलहरुको भ्रमणको व्यवस्था त्यसको एउटा उदाहरण हो ।
यस पटक रत्ननगर महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, कला, सँस्कृति, वस्तु एवं सेवाका पाँच सय वटा स्टल रहने छन् । पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको यस महोत्सवमा ५० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान आयोजकको छ ।
रत्ननगर महोत्सव अन्तर्गत पुस २९ देखि माघ ४ गतेसम्म रत्ननगरको टाँडी बजारमा चिकेन एण्ड एग फुड फेस्टिबल आयोजना हुने भएको छ । मासुको खपत बढाउन मासुका विशेष परिकारसहित फुड फेस्टिबल आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।
पत्रकार सम्मेलनमा संघका पूर्वअध्यक्ष एवं महोत्सवका आर्थिक संयोजक ज्ञानबहादुर विसुराल, रत्ननगर नगरपालिका उपप्रमुख विमला दुवाडी लगायतले बोेलेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ पुस २०७६, १६ : १४
लेखकबाट थप