नेकपा स्थायी कमिटी बैठक : मातृका यादवले राखे ‘प्रचण्डपथ’ व्यूताउने प्रस्ताव

सफल खबर संवाददाता

बुधबार, ०२ पुस २०७६, १७ : २०
नेकपा स्थायी कमिटी बैठक : मातृका यादवले राखे ‘प्रचण्डपथ’ व्यूताउने प्रस्ताव

काठमाडौँ । नेकपा स्थायी कमिटी बैठकमा नेकपा नेता मातृका यादवले प्रचण्डप्रथ व्यूताउने प्रस्ताव राखेका छन् । 

नेकपा पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेकपाको स्थायी कमिटी बैठकमा प्रचण्डपथ व्यूताउने प्रस्ताव राखेका हुन् । 

बुधबारको बैठकमा पूर्वमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य मातृका यादवले नेकपाको विचारधारामा प्रचण्डपथलाई पनि समेट्नु पर्ने बताए । 

बैठकमा सहभागी एक नेताका अनुसार यादवले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको प्रतिवेदनमा प्रस्तावित वैज्ञानिक समाजवादको बाटो हुँदै साम्यवादमा जाने कार्यदिशामा असन्तुष्टि जनाएका हुन्।

‘हाम्रो अहिले स्पष्ट विचारधारा छैन त्यही भएर हामी रूमलिएका छौं,’ यादवले बैठकमा भने, ‘हामीले पहिला प्रचण्डपथ छोड्यौं। पछि माओवाद छोड्यौं। विचारधारा एकएक गर्दै छोड्दै जाने हो भने त हामी कम्युनिष्ट पार्टी नै रहँदैनौं।’

तत्कालीन नेकपा माओवादीले सशस्त्र युद्धका क्रममा प्रचण्डपथलाई पार्टीको विचारधारामा राखेको थियो।

प्रचण्डपथमा रहेको बन्दुक बोक्ने कुरा हटाएर अरू कुरा नेकपाको विचारधारामा राख्न सकिने यादवको जिकिर छ। उनले बदलिएको परिस्थितिमा पनि प्रचण्डपथका सकारात्मक कुरालाई आदर्श मानेर अघि बढ्न सकिने तर्क गरेका छन्।

तत्कालीन माओवादीले सशस्त्र विद्रोहको बेला २०५७ माघ–फागुनमा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट प्रचण्डपथलाई मार्गदर्शक सिद्धान्त बनाएको थियो । ०६५ पुसमा तत्कालीन माओवादी र एकता केन्द्रबीच एकता भएपछि प्रचण्डपथलाई पार्टीको पथ प्रदर्शक सिद्धान्तबाट स्थगित गर्ने निर्णय भएको थियो ।

त्यसबेलाको माओवादी र एमालेबीच एकता भएर नेकपा बनेको छ र बैचारिक बहसलाई एकता महाधिवेशबाट हल गर्ने सहमति भएको छ ।
 

प्रतिक्रिया दिनुहोस