सडकमा अण्डा उत्पादक किसानको नारा– विचौलिया मुर्दावाद, गिरफ्तार किसान रिहा गर

सफल खबर संवाददाता

बुधबार, ०२ पुस २०७६, १६ : ३५
सडकमा अण्डा उत्पादक किसानको नारा– विचौलिया मुर्दावाद, गिरफ्तार किसान रिहा गर

चितवन । अण्डा उत्पादक किसानहरुले विचौलियाको विरोध गर्दै सडकमै अण्डामात्र फुटाएनन्, विचौलियाकै कारणले अण्डाको मूल्य नपाएको आक्रोश किसानहरुले सडकमै पोखे । 

नेपाल अण्डा उत्पादक संघको अगुवाइमा आज चितवनको भरतपुर महानगरको मुख्य सडकहरुमा विचौलियाको विरोधमा चर्को नारा लगाएका थिए । जिल्ला प्रहरी कार्यालय अगाडिबाट निस्केको विरोध प्रदर्शनले महानगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।

विरोध प्रदर्शनमा गिरफ्तार किसान रिहा गर, बिचौलिया मुर्दावादलगायतका नारा किसानले लगाएका थिए । किसानले जिल्ला प्रशासन कार्यालय अगाडि धर्नासमेत दिएका छन् ।

पश्चिम चितवन अण्डा उत्पादक कृषक समुहले पक्राउ परेका आफ्ना साथीहरूको रिहाइको माग गरेकोे छ । आज पार्वतीपुरमा बसेको पदाधिकारी बैठकले उनीहरूलाई तत्काल रिहाइ गर्न जिल्ला प्रशासन समक्ष माग गरिएको हो ।

विवादपछिको पछिल्लो परिस्थितिलाई एकताबद्व भएर सामना गर्ने समुहका अध्यक्ष मेगबहादुर खड्काले बताउनुभयो । पक्राउ परेका किसानले आफ्नो समस्या सम्बोधन गर्न गरेको प्रयासका बाबजुद विवाद छलफलका माध्यमबाट मिलाउन आफूहरू तयार रहेको समेत अध्यक्ष खड्काले बताउनुभयो । सबै पक्षसँग छलफलको आवश्यकता महशुस गरिएको उहाँको भनाई छ । 

अण्डा उत्पादक, सप्लायर्स र दाना वितरक एक ठाउँमा आउनुको विकल्प नरहेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । गएको हप्ता किसान र वितरकविचको विवादले कुखुरा पालक किसान मञ्चको कार्यालयमा क्षति पुगेको भन्दै मञ्चले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा किसानहरु पक्राउ परेका हुन् ।

अण्डा उत्पादक किसानहरु भरतपुर ६ का गीतानगरका प्रकाश खतिवडा, भरतपुर २३ जगतपुरका आनन्द मास्के, कालिका ६ का रामहरि केसी, कालिका ६ का नै दिपेश्वर केसी, भरतपुर–१४ का राजेन्द्र साँखी पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस