अमेरिकाद्वारा नेपाली सेनालाई दुुई विमान हस्तान्तरण

सफल खबर संवाददाता

बुधबार, ०२ पुस २०७६, १५ : ३१
अमेरिकाद्वारा नेपाली सेनालाई दुुई विमान हस्तान्तरण

काठमाडौँ । अमेरिकाले नेपाली सेनालाई एम–२८ स्काइट्रक सहयोग स्वरुप हस्तान्तरण गरेको छ । 
बुधबार प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा मध्य एयर बेश गौचर व्यारेकमा आयोजित एक विशेष समारोहकाबीच अमेरिकाले सो स्काइट्रक हस्तान्तरण गरेको हो । 

उक्त हस्तान्तरण समारोहमा स्काइट्रकको ‘प्रतिकृति’ नेपालका लागि अमेरिकी राजदुत रेन्डी बेरीले सेनाका बलाधिकृत रथी शरद कुमार गिरीलाई हस्तान्तरण गरे । 

उक्त हस्तान्तरण कार्यक्रमको शुभारम्भमा सैनिक हवाई महानिर्देशनालयका निमित्त महानिर्देशक पाइलट सहायक रथी धनेन्द्र बहादुर शाहले स्वागत मन्तव्य राखेका थिए । 

यस्तै अमेरिकी बेरीले यो सहयोगले नेपाली सेनाका लागि नेपालको मानवीय सहायता तथा विपद्‍ प्रतिकार्य सञ्‍चालन क्षमतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

यसले नेपालको दीर्घकालीन दिगोपन, सुरक्षा र उत्थानशीलतालाई सशक्त बनाउनका लागि दुई देशबीचको सहकार्य तथा निकट साझेदारी प्रदर्शन भएको पनि उनले बताए । 

सोही अवसरमा प्रधानसेनापति थापाले यस प्रकारको सहयोगले विपद्‍ व्यवस्थापनमा नेपाली सेनाको कार्यदक्षता अभिबृद्धि गर्न थप मद्दत पुग्ने एवं सहयोगको लागि अमेरिकाप्रति हार्दिक कृतज्ञता व्यक्त गरे । 

उक्त हस्तान्तरण कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की, नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तण्डुललगायतको उपस्थिति रहेको थियो ।   

यस किसिमको सहयोगले नेपाली सेनाको उद्धार तथा राहत पुर्‍याउने कार्यमा थप मद्दत पुग्नुको साथै दुई देशबीचको द्विपक्षीय आपसी हीत र पारस्परिक सम्बन्ध अझ प्रगाढ हुने विश्‍वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस