कौडीको भाउमा यसरी लुट्छन् व्यापारीले सरकारी सम्पत्ति

सफल खबर संवाददाता

बुधबार, ०२ पुस २०७६, १३ : ५१
कौडीको भाउमा यसरी लुट्छन् व्यापारीले सरकारी सम्पत्ति

काठमाडौँ । नेपालको सरकारी सम्पत्तिलाई कसरी कौडीको भाउमा लुटपाट गरिन्छ भन्ने प्रत्यक्ष उदाहरणको रहेको छ तारागाउँ रिजेन्सी होटल लिमिटेड । 

सरकारी स्वामित्वको संस्थालाई अनेकन तिकडम गरेर बौद्धको जग्गा भारतीय व्यापारीलाई जिम्मा लगाइयो । जग्गामा भारतीय एवम् नेपाली व्यापारी समेत मिलेर तारागाँउ रिजेन्सी होटल चलाएका छन् । कहिल्यै नाफा नदेखाउने, तर सधै नाफाको व्यापार गर्दै आएका भारतीय व्यापारीलाई कारवाही गर्ने आँट कुनै पनि सरकारले गरेको छैन । 

सरकारीसाधन र स्रोतको चरम दुरुपयोग भएपनि भारतीय व्यापारीले सबैलाई मिलाएर आफूखुसी कारोबार गर्दै आएको पाइएको छ । उनीहरुले नेपालको नियम, कानून तथा विधिको समेत ठाडै उल्लंघन गरेका छन् । तर तालुकदार निकायको रुपमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समेत तारागाँउमा भइरहेको अव्यावसायिक एवम् गैरकानूनी क्रियाकलापलाई नियन्त्रण गर्न सकेको छैन । 

मन्त्रालयले समस्या समाधानका लागि प्रयत्न भने नगरेको होइन, तर छानबनि एवम् अध्ययनका लागि बनाइएका समितिका पदाधिकारीलाई नै भारतीय व्यापारीले आफ्नो चंगुलमा पार्ने, आर्थिक तथा गैरआर्थिक प्रलोभन दिएर प्रभावमा पार्ने गरेको पाइएको छ ।  पटक पटक सरकार बदलिए, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री बदलिए तर तारागाउँमा भइरहेको अव्यवसायिक एवम् अव्यवहारिक निर्णयलाई कोही कसैले पनि नियन्त्रण गर्न सकेको छैन । 

पछिल्लो पटक होटल सञ्चालक समितिको बैठकमा तारागाउँ विकास समितिका अध्यक्ष प्रह्लाद न्यौपानेले चर्को असन्तुष्टि प्रकट गरेको समाचार सार्वजनिक भएको छ । न्यौपानेले संस्थामा भइरहेको बेथिति रोक्न त्यस्तो प्रयास गरेका हुन् वा बार्गेनिङका लागि हो भन्ने बारेमा अहिल्यै टिप्पणी गर्नु हतार हुनेछ ।  सञ्चालक समितिमा प्रतिनिधित्व, हकप्रद सेयर, लगानी र प्रतिफल लगायतका विषयमा अध्यक्ष न्यौपानले आफ्नो ६ बुँदे फरक मत सहित असन्तुष्टि प्रकट गरेको बताइन्छ । 

अघिल्लो साताको सोमबार भएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको होटल सञ्चालक समितिको बैठकमा अध्यक्ष न्यौपानले तारा गाउँ विकास समितिको तर्फबाट फरक मत प्रस्तुत गरेको दाबी गरिएको छ । अध्यक्ष न्यौपानेले सञ्चालक समितिमा बिकास समितिको तर्फबाट यसअघि तीन जनाको प्रतिनिधित्व रहने प्रावधान भएपनि पछिल्लो समयमा एक जना मात्रै प्रतिनिधित्व गराएको भन्दै तीन जनाकै प्रतिनिधित्व हुनुपर्ने अडान राखेको न्यौपानेले बताएका छन् । 

यसअघि सञ्चालक समितिमा तारा गाउँ विकास समितिका अध्यक्ष–१, नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव–१, र समितिका संचालक सदस्य १, गरी जम्मा ३ जनाले होटल सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने प्रावधान थियो । तर, पछिल्लो समयमा तारा गाउँ रिजेन्सी होटल्स लिमिटेडमा तारा गाउँ विकास समितिको लगानी अनुपात साविकको २२.६७ प्रतिशतबाट घटेर ९.१ प्रतिशत घटेको भन्दै भारतीय व्यापारीले एक जनामा सिमित गराएका छन् । 

अध्यक्ष न्यौपानेले तारा गाउँ रिजेन्सी होटल लिमिटेडमा समितिको लगानीको अनुपात साविकको २२.६७ कायम रहनु पर्ने प्रावधानलाई यथावत राख्ने र आफ्नो हिस्साको हकप्रद शेयर प्राप्त गर्न होटल सञ्चालक समितिबाट नेपाल सरकारमा पुनः अनुरोध गर्न लगाउनु पर्ने अडान राखेको बताइन्छ । संसदको अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिले गरेको अध्ययनमा समेत तारागाँउमा ज्यादती भएको, कानून मिचिएको र सरकारी साधन र स्रोतको चरम दुरुपयोग भएको पाइएको थियो । 

समितिले गरेको अध्ययन कार्यान्वयन गराउन सरकारलाई निर्देशन दिएको भएपनि हालसम्म कार्यान्वयन भएको  छैन । अध्यक्ष न्यौपानेले  तारा गाउँ विकास समितिले तारा गाउँ रिजेन्सी होटल्स लिमिटेडमा गरेको लगानी र प्रतिफलको विश्लेषण गनुपर्ने, होटलको हालको सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण (डडिए) गर्नुपर्ने अडान राखेको बताइन्छ ।

प्रतिनिधि सभा सार्वजनिक लेखा समितिले १८ चैत २०५० मा दिएको निर्देशनको सम्वन्धमा समितिले होटल्सलाई लिजमा दिइएको जग्गाको समय सापेक्ष पुनः मूल्यांकन हुन पर्ने अडान समेत राखेको बताइन्छ । 

संघीय संसद, प्रतिनिधि सभा, अन्तरराष्ट्रिय सम्वन्ध समितिबाट पेश भएको तारा गाउँ विकास समितिका सम्वन्धमा अध्ययन अनुगमन सम्वन्धी प्रतिवेदन, २०७५ को कार्यान्वयन हुनु पर्ने र होटल्सको गुरुयोजनामा उल्लेखित सांस्कृतिक केन्द्र लगायतको कार्ययोजना कार्यान्वयनको व्यवस्था शिघ्र कार्यान्वयन गर्नु पर्ने अडान समेत राखिएको छ ।  

बैठकमा हायात होटलका प्रबन्ध निर्देशक सुरेशलाल श्रेष्ठ, सिइओ अरुणकुमार सराफ, सञ्चालक समिति सदस्य कमलादेवी श्रेष्ठ लगायत थिए । बैठकमा भारतीय नागरिक सर्राफले त बैठक भाडन आएको भन्दै न्यौपानेलाई हात हाल्ने प्रयास समेत गरेको बताइन्छ । तर न्यौपाने भने आफूले स्पष्ट ढंगले देश र जनताको पक्षमा कुरा राख्दा भारतीय नागरिकले अपशब्द बोलेको र सकेको गर्न भन्दै चुनौती दिएको बताइन्छ । 

स्रोतका अनुसार सर्राफले आफूले नेपाल सरकारका सबै उच्चा अधिकारीलाई मिलाएको, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालसँग सम्बन्ध भएको तथा अन्य मन्त्रीसँग पनि आफ्नो घनिष्ट सम्बन्ध भएको भन्दै तिमीले केही गर्न नसक्ने भन्दै न्यौपानेलाई हकारेका थिए । 

यो पनि पढ्नुहोस्,

अर्बौं रकम कुम्ल्याउने दाउमा हायातका सञ्चालकद्वय सर्राफ र श्रेष्ठ
सरकार र कम्पनीबीच भएको सम्झौता रद्द गर्न सुझाव

प्रतिक्रिया दिनुहोस