काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता खेलाडी मंगलबार पुरस्कृत भएका छन् । स्वर्ण विजेतात्रय सनिल शाही (पुरुष ६० केजी), भुपेन्द्र थापा (पुरुष ६४ केजी) तथा मिनु गुरुङ (महिला ५४ केजी) ले स्वर्ण जितेका थिए ।
स्वर्ण विजेतालाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले तथा नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष विष्णुगोपाल श्रेष्ठले व्यक्तिगत नगद पुरस्कार प्रदान गरे । खेलाडीलाई अवाले जनही १ लाख ५० हजार तथा श्रेष्ठले जनही ५० हजार नगद पुरस्कार प्रदान गरे । सातदोबाटोमा डिसेम्बर ६ देखि १० तारिखसम्म भएको बक्सिङमा पुष्करराज पन्त, रामचन्द्र थापा मगर, ताराराम श्रेष्ठ र धनकुमार मैनालीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
सोही अवसरमा चीनको जिङयाङमा हुने एसियाली ग्रान्ड स्ल्याम बक्सिङ प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई पनि बिदाइ गरियो । डिसेम्बर २० र २१ तारिखमा हुने प्रतियोगिताको पुरुष ६४ केजीमा भुपेन्द्र थापा तथा महिला ५४ केजीमा मिनु गुरुङले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
प्रशिक्षकमा रमेश श्रेष्ठ र सुवर्ण सापकोटा तथा व्यवस्थापकमा शोभाजंग केसी रहेका छन् । टोली बुधबार चीन जाँदै छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, अध्यक्ष अवाले, पूर्व अध्यक्ष श्रेष्ठलगायतले खेलाडीलाई पुरस्कृत गर्नुका साथै बिदाइ गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ पुस २०७६, २२ : ३४
लेखकबाट थप