चितवनमा लामा गुरुको राष्ट्रिय भेला हुने

सफल खबर संवाददाता

मंगलबार, ०१ पुस २०७६, १५ : ३८
चितवनमा लामा गुरुको राष्ट्रिय भेला हुने

चितवन । लामा गुरुहरुको राष्ट्रिय भेला भरतपुरको शारदानगरस्थित टसीलिङ बौद्ध गुम्बा परिसरमा हुने भएको छ । भेलामा ३ सय लामा गुरु र १ हजार बढी भक्तजन सहभागि हुने जनाइएको छ । 

गुरुङ (तमु) लामा बौद्ध धर्म समाजको आयोजनमा हुने राष्ट्रिय भेलामा बुद्ध दर्शनका आधारमा पूजा विधि र कर्मकाण्डमा एकरुपता ल्याउने निष्कर्ष निकालिने जनाइएको छ । समाजका केन्द्रीय अध्यक्ष खेन्पो शिर लामा गुरुङले राष्ट्रिय भेलाले बुद्ध दर्शनलाई देशव्यापी बनाउन जागरण सुरु गर्ने बताए ।

यही ४ गतेदेखि सुरु हुने भेला ६ गते सकिनेछ । ४ गते समाजको छैठौँ वार्षिक साधरणसभाको उद्घाटन तथा बन्द सत्र हुनेछ । बन्द सत्रमा कर्मकाण्डलाई एक रुपता बनाउन गहन छलफल हुने अध्यक्ष गुरुङले जानकारी दिए । 

समाजका क्षेत्रीय शाखा चितवनका सचिव हितमान गुरुङले ५ गते विहान ७ बजे नारायणगढमा शान्ती पदयात्रा निकालिने बताए । उनका अनुसार पुल्चोकदेखि चौविसकोठीसम्म पदयात्रा निस्कने छ । गुरुङ समुदायको भेषभुषा, संस्कृति झल्काउने कार्यक्रमसहित पदयात्रा निकालिने छ । 

यस्तै शनिबार तेस्रो राष्ट्रिय भेला शारदानगरको टसिलिङ बौद्ध गुम्बा परिसरमा हुनेछ । भेलाको लुम्बिनि बौद्ध विश्वविद्यालयका उपकुलपति प्राज्ञ. डा हृदयरत्न बज्राचार्यले उद्घाटन गर्नेछन् । ६ गते आइतबार समाजको दोस्रो अधिवेसनले ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । भेला पश्चात चितवन घोषणापत्र सार्वजनिक हुनेछ । ३ दिने कार्यक्रममा ग्रहशान्ती, अवतारी लामा रिन्पोछेबाट अभिषेक लगायतका गतिविधि समेत हुनेछन् ।

प्रतिक्रिया दिनुहोस