नेकपाले विधानमा के के गर्दैछ संसोधन (प्रस्ताव सहित)

सफल खबर संवाददाता

सोमबार, ३० मंसिर २०७६, ०८ : २५
नेकपाले विधानमा के के गर्दैछ संसोधन (प्रस्ताव सहित)

काठमाडौं । सत्तारुढ दल नेकपाले पार्टी विधानको प्रस्तावनामै संसोधन गर्ने भएको छ । त्यस्तै पार्टीमा उपाध्यक्ष पद नयाँ सिर्जना गरी वामदेव गौतमलाई उपाध्यक्ष बनाउने गरी विधान संसोधन गर्दैछ । आईतबार देखि शुरु भएको नेकपा स्थायी समिति बैठकमा महासचिव विष्णु पौडेलले एक पृष्ठमा विधान संसोधन प्रस्ताव पेश गरेका छन् । ८ बुँदामा महासचिव पौडेलले विधान संसोधनको प्रस्ताव पौडेलले बैठकमा पेश गरेका छन् ।

उपाध्यक्ष प्रस्ताव गरिएका गौतमका लागि विधानमै तिन अधिकार रहने गरी प्रस्ताव गरिएको छ । उपाध्यक्षको काम, कर्तब्य र अधिकारका रुपमा (क) अध्यक्षको अनुपस्थितीमा अध्यक्षको अधिकार र कर्तब्यको प्रयोग र पालना गर्ने, (ख) अध्यक्षलाई सघाउने (ग) केन्द्रीय कमिटिले तोकेका अन्य काम गर्ने गरी तीन अधिकार विधानमा ब्यवस्था गर्न लागिएको छ । के के छन् त विधानमा हुन लागेको संसोधन ? महासचिवले प्रस्ताव गरेको संसोधन प्रस्ताव यस्तो छ :–

क) विधानको प्रस्तावनामा
 –प्रस्तावनाको दोश्रो प्याराग्राफको शुरुमा यस पार्टीको .....भन्ने विश्वास गर्दछ भन्ने वाक्यांशको सट्टामा ‘यस पार्टीको रणनीतिक लक्ष्य र आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद हो । तत्कालिक कार्यक्रम समाजवाद उन्मुख जनताको जनवाद हो । यो पार्टी जनताको जनवाद कार्यान्वयन गर्दै समाजवादको आधार निर्माण गर्न, समाजमा रहेका सबैखाले शोषण, उत्पीडन र विभेदहरूको अन्त्य गर्दै समाजवाद स्थापना गर्न र मानव जातिको सबैभन्दा विकसित सामाजिक–आर्थिक व्यवस्था साम्यवादको दिशामा अघि बढ्न प्रतिबद्ध छ ।’ भन्ने उल्लेख गर्ने ।

–प्रस्तावनाको तेस्रो प्याराग्राफमा ‘समाजवादको आधार निर्माण गर्नु यस पार्टीको तत्कालिक लक्ष्य हो’ भन्ने वाक्यांशको सट्टा ‘ समाजवादको आधार निर्माण गर्नु जनताको जनवादको मुख्य उद्येश्य हो’ भन्ने वाक्यांश उल्लेख गर्ने ।

–धारा १० (ख) को ७ मा ‘संगठित सदस्यता प्रदान गर्न’ पछि ‘ उपयुक्त कमिटीमा संगठित गर्न’ भन्ने वाक्यांश थप्ने ।

–धारा ३९(ग) को सट्टामा सबै तहका कमिटिले एकता प्रक्रियालाई अघि बढाउन र योग्य, वरिष्ठ एवंम सक्रिय कमरेडहरुलाई उपयुक्त जिम्मेवारी दिन कमिटिको कुल सदस्य संख्यामा १० प्रतिशत नबढाई सदस्यहरु मनोनय गर्न सक्नेछन् । प्रदेश, जिल्ला र सो मातहतका कमिटिहरुको यस्तो निर्णय एक तह माथिल्लो कमिटिबाट अनुमोदन भएपछि लागु हुनेछ भन्ने वाक्याशं राख्ने ।

–काठमाडौं उपत्यकामा प्रदेश स्तरको विशेष कमिटिको ब्यवस्था गर्ने । उपत्यका विशेष कमिटिको अधिकार र कर्तब्य प्रदेश कमिटि सरह उल्लेख गर्ने । उपत्यकाका बिशेष जिल्ला कमिटि मातहतमा शाखा कमिटि, प्रारम्भिक कमिटि र पार्टी सेल गठन गर्न सकिने ब्यवस्था गर्ने 

–केन्द्रीय कमिटीमा उपाध्यक्षको ब्यवस्था गर्ने । उपाध्यक्षको अधिकार र कर्तब्य यसप्रकार उल्लेख गर्ने (क) अध्यक्षको अनुपस्थितीमा अध्यक्षको अधिकार र कर्तब्यको प्रयोग र पालना गर्ने, (ख) अध्यक्षलाई सघाउने र (ग) मा केन्द्रीय कमिटिले तोकेका अन्य काम गर्ने ।

–केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चमा अध्यक्षको मर्यादा स्थायी कमिटि सदस्य सरह उल्लेख गर्ने ।

–केन्द्रीय निकाय (अनुशासन आयोग, लेखापरिक्षण आयोग, निर्वाचन आयोग, सल्लाहकार परिषद, जेष्ठ कम्युनिष्ट मञ्चका अध्यक्षलाई केन्द्रीय कमिटि, पोलिटब्यूरो र स्थायी कमिटिको बैठकमा आमन्त्रण गर्ने ।
 

प्रतिक्रिया दिनुहोस