विराटनगर । आफ्नै अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई शुक्रबार जिल्ला अदालत सुनसरीले प्रहरीलाई थप तीन दिन थुनामा राख्न अनुमति दिएको छ ।
प्रहरीले १० दिनको म्याद मागेकोमा अदालतले तीन दिनमात्र दिएको सुनसरी प्रहरीले बताएको छ । यसअघि गिरीलाई चार दिन र सात दिनको अनुमति दिइएको थियो ।
प्रहरीले बलात्कार प्रकरणमा संकलन भएका प्रमाणहरु जाँचका लागि काठमाडौं पठाएकाले थप अनुसन्धानका लागि १० दिन म्याद थपका लागि अदालतसँग अनुमति मागेको सुनसरीका डिएसपी विनोद शर्माले जानकारी दिए ।
म्याद थप पछि गिरीलाई पुनस् अस्पताल नै लगिएको छ । मुटुको समस्याका कारण उपचार गराइरहेका गिरीलाई अदालतले अस्पतालमै राखेर बयान लिने आदेश दिएका कारण विराट नर्सिङहोम नै पठाइएको डिएसपी शर्माले जानकारी दिए ।
अब प्रहरीले तीन दिनभित्र अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउनेछ ।
गत कात्तिक ४ गते आफ्नै अनुयायीलाई बलात्कार गरेको भन्दै सुनसरी प्रहरीमा किटानी जाहेरी परेपछि प्रहरीले गिरीलाई मंसिर १६ गते पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ मंसिर २०७६, १६ : ३२
लेखकबाट थप