ह्याप्पी बर्थ डे ‘कमरेड प्रचण्ड’ (जीवनीसहित)

विश्वलाई नै चकित पार्दै शान्ति प्रकृयालाई टुंगोमा पु¥याएका प्रचण्डलाई नेपालमा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाई जनताको पक्षमा काम गर्न सफलता मिलोस् ।

सफल खबर संवाददाता

विहीबार, २६ मंसिर २०७६, ११ : २६
ह्याप्पी बर्थ डे ‘कमरेड प्रचण्ड’ (जीवनीसहित)

चितवन । नेपाली राजनीतिक क्षेत्रमा  पुष्पकमल दाहाल प्रचण्ड कसैलाई चिनाइरहनु पर्ने नाम होइन । नेपाली राजनीतिमा प्रचण्ड नाम एउटा ‘आइकन’ बनिसकेको छ । प्रतिनिधि सभा सदस्य, पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डको आज ६५ औं जन्मदिन हो ।

समकालीन राजनीतिक नेताहरुमध्ये शिखर पुरुष मानिने प्रचण्डको ६५ वर्षे जीवनी सङ्घर्षको गाथाले भरिएको छ । २०२८ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएयता प्रचण्ड निरन्तर राजनीतिको मोर्चामा छन् । चौथो महाधिवेशन, मशाल, नेकपा (एकता केन्द्र), नेकपा (माओवादी), एकीकृत नेकपा (माओवादी), नेकपा (माओवादी केन्द्र) हुँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्म प्रचण्डले राजनीतिक नेतृत्व गरिरहेका छन् ।

दर्शन एवं विचारधाराको निर्माण, कम्युनिष्टहरुबीच एकता, विश्व हल्याउने जनयुद्ध र त्यसको नेतृत्व, शान्ति प्रक्रिया र राजनीतिक सहमतिको यात्रा, गणतन्त्रको स्थापना, सङ्घीयता, समावेशी राज्य चरित्रको निर्माण, जनताकै प्रतिनिधिद्वारा संविधान निर्माण, वाम एकता र राजनीतिक स्थिरताको प्रारम्भ, समाजवादको संकल्प लगायतका दृष्टिले नेपाली राजनीतिमा प्रचण्डको योगदान अद्वितीय रहेको छ ।

प्रचण्ड जस्तोसुकै बिमतिमा पनि सहमतिको सम्भावना देख्छन् । जब देशमा समस्या पर्छ, समाधानको सुत्र खोज्न उनी अग्रसर हुन्छन् । समकालीन नेताहरुमा उनलाई शालिन, रणनीतिक, लचक, गतिशील र सहकार्यको राजनीति गर्ने नेताका रुपमा चिनिन्छ । प्रस्तुत छ, पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष कमरेड प्रचण्डको संक्षिप्त जीवनी :

प्रचण्डको जन्म २०११ साल मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नम्बर २ लेवाडेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका जेठो छोरा प्रचण्डले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमा नै लिए । २०२६ चितवनको नारायणी विद्या मन्दिर मावि शिवनगरबाट एसएलसी उत्तीर्ण भई २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आईएस्सी पूरा गरेका प्रचण्डले २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सीपछि एमपीएसम्मको अध्ययन गरेका छन् । कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरिएका प्रचण्डको २०३८ सालदेखि २०६३ सालसम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम रहेको थियो । उनी आफू पुष्पकमलभन्दा प्रचण्ड भनिनुमा नै गौरव गर्छन् ।

२०१९ सालमा ढिकुरपोखरी–२ बाट चितवनको तत्कालीन शिवनगर गाविसमा बसाइसराई गरेका प्रचण्डको २०२६ साल बैशाखमा सीता पौडेलसँग विवाह भएको हो । उनका तीन छोरी र एक छोरामध्ये जेठी छोरी ज्ञानु र छोरा प्रकाशको निधन भइसकेको छ । उनी नारायणी विद्या मन्दिर मावि शिवनगर–२०२९ साल, डण्डा मावि नवलपरासी र भीमोदय मावि आरुघाट, गोरखा २०३३–२०३५ सालमा सेवारत रहेका थिए ।

२०२८ सालमा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनीतिक जीवन प्रारम्भ गरेका प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गरेका थिए । उनी २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालिन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भएका थिए । प्रचण्ड २०३८ सालमा क्षेत्रीय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए ।

२०४१ सालमा नेकपा (मशाल) को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र) को महामन्त्री भए । यसैगरी २०५१ सालमा तत्कालीन नेकपा (एकता केन्द्र)को प्रथम राष्ट्रिय सम्मेलनपछिको बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री भएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे । २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्षमा निर्वाचित भए । सोही सम्मेलनले विचारधारात्मक उपलब्धिका रुपमा प्रचण्डपथ संश्लेषण गर्यो ।

२०५८ सालमा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहेका प्रचण्ड २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी भूमिगत जीवनबाट सार्वजनिक भएका थिए । प्रचण्ड २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भए । उनी २०६९ सालमा वृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष बने । २०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित भए । २०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित भए । उनले उच्चस्तरीय राजनीतिक समितिको संयोजकको भूमिकासमेत निर्वाह गरिसकेका छन् ।

अध्यक्ष प्रचण्डका नेपाली क्रान्तिका समस्या भाग १, २ र ३, संस्कृति, कला र सौन्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरु खण्ड १ र २ तथा प्रचण्डका छानिएका सैन्य रचनाहरु लगायतका पुस्तक प्रकाशित छन् । उनी २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौ–१० र रोल्पा–२ बाट निर्वाचित भएका थिए । २०७० मंसीरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा प्रचण्ड सिराहा–५ बाट निर्वाचित भएका थिए ।

संविधान सभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं. ५ बाट निर्वाचित पुष्पकमल दाहाल प्रचण्ड २०७३ साल साउन १९ गते व्यवस्थापिका–संसदमा ३६३ सदस्यको बहुमत प्राप्त गरी नेपाल सरकारको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भए । २०७४ साल मंसीर २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट अध्यक्ष प्रचण्ड ४८,२७६ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

२०७५ साल जेठमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताको घोषणा भयो । नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने संकल्प बोकेका प्रचण्ड अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष छन् । विश्वलाई नै चकित पार्दै शान्ति प्रकृयालाई टुंगोमा पु¥याएका प्रचण्डलाई नेपालमा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाई जनताको पक्षमा काम गर्न सफलता मिलोस् । जन्मदिनको धेरै धेरै शुभकामना । ह्याप्पी बर्थ डे ‘कमरेड प्रचण्ड’ ।

प्रतिक्रिया दिनुहोस