जे गर्नु त्यही एक भोटले गर्यो

सफल खबर संवाददाता

सोमबार, १६ मंसिर २०७६, १२ : ३०
जे गर्नु त्यही एक भोटले गर्यो

धरान । शनिबार मतदान भएको उपनिर्वाचनको नतिजा आउने क्रममा धरान उपमहानगरपालिकामा एक भोटको करामत देखा परेको छ ।
धरान उपमहानगरपालिको मेयर र वडाध्यक्ष दुवैमा नेपाली कांग्रेसले जितेको भनेर बिजय जुलुस पनि हुँदै थियो । तर एकाएक वडा नम्बर ७ को वडाध्यक्षमा नेकपाका जीवन सुवेदीले १ मतले जितेको आधिकारिक घोषणापछि अबिर माला लगाएर विजयोत्सवमा रहेका कांग्रेसका सुवर्ण पालिखेले माला फुकाल्नु पर्‍यो ।
विजय उत्सव मनाइसकेपछि उनी एक मतले हारेको जानकारी निर्वाचन आयोगले गराएपछि उनले अबिर पुछेर माला फुकाले । नेकपाका जीवन सुवेदी ६२२ मतले बिजयी भए । पालिखे ६२१ मतमा रोकिए । कांग्रेसले परिणाम अस्वीकार गर्दै सुरूमा पुनः मतगणनाको माग गरेको थियो । तर, पुनः मतगणना भएन र निर्वाचन अधिकृतले सुवेदीलाई नै विजयीको प्रमाणपत्र दिए ।
वडाध्यक्षमा निर्वाचित सुवेदी २०७४ को चुनावमा वडा सदस्य निर्वाचित भएका थिए । उनी २०५४ मै वडाध्यक्ष भइसकेको तत्कालीन एमालेका पुराना नेता हुन् । एमालेबाट निर्वाचित धरान ७ का वडाध्यक्ष भुवन मोक्तानको निधनपछि उपचुनाव भएको हो ।

प्रतिक्रिया दिनुहोस