उपनिर्वाचनमा नेकपाका सबै उम्मेदवार विजयी हुने छन् : अध्यक्ष प्रचण्ड

सफल खबर संवाददाता

सोमबार, ०९ मंसिर २०७६, १६ : ३२
उपनिर्वाचनमा नेकपाका सबै उम्मेदवार विजयी हुने छन् : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री तथा चितवन निर्वाचन क्षेत्र नम्बर ३ का सांसद पुष्पकमल दाहाल (प्रचण्ड) ले आसन्न मंसिर १४ गतेको उपनिर्वाचनमा नेकपाका सम्पूर्ण उम्मेदवार विजयी हुने बताउनु भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १६ विजयनगरमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सोही वडाका अध्यक्षका उम्मेदवार भक्तराज हमाललाई अग्रीम शुभकामना दिनुभयो । आसन्न उपनिर्वाचनमा पछिल्लो विवरण अनुसार ८० प्रतिशतभन्दा बढी स्थानमा नेकपाका उम्मेदवारले विजय हासिल गर्ने उहाँले बताउनु भयो । 

नेकपाको जनलहर र यसको नेतृत्वमा गठित सरकारले देशको योजनाबद्ध विकासमा खेलेको भूमिका र यसका कारण नेकपाको पक्षमा देखिएको जनलहर देखेर प्रतिक्रियावादीहरू अनर्गल प्रचारबाजीमा लागेको भन्दै उहाँले पोखरामा कांग्रेस सभापति शेरबहादुर देउवाले सीमा विवाद सम्बन्धी भद्दा र असान्दर्भिक अभिव्यक्ति दिएकोे बताउनु भयो ।

अबको युग भ्रम छरेर झुटा र आधारहीन हल्ला चलाएर शक्ति आर्जन गर्ने दिन नभएको बताउँदै अध्यक्ष प्रचण्डले समाज रूपान्तरण, सुशासन, समृद्धि र विकासका एजेण्डाहरू कार्यान्वयन गरेर मात्र जनताको विश्वास हासिल गर्नुपर्ने बताउनु भयो ।


अध्यक्ष प्रचण्डले एकतापछिको नेकपा पानीको फोका नभएको भन्दै यो नयाँ नेपाल निर्माण गरेर देखाउने मुख्य आधार भएको बताउनु भयो । नेकपा र एमालेबीचको पार्टी एकता प्रधानमन्त्री बन्न हतारो भएर सत्ता स्वार्थबाट नभई संसारलाई एकताको सन्देशमार्फत समृद्धि, सुशासन, स्थायित्व र तीव्र विकासका लागि भएको बताउँदै सर्वसहमतिका साथ पार्टी एकता सम्पूर्ण रूपले पूरा भएको बताउनु भयो । 

नेकपाले जे भन्छ त्यो गर्छ भन्दै अध्यक्ष प्रचण्डले प्रम केपी शर्मा आलीले ५ वर्ष सरकारको नेतृत्व मार्फत राष्ट्र निर्माणमा लाग्ने र अफू पार्टीको सुदृढीकरण र संगठन बिस्तारमा केन्द्रित हुने बताउँदै विरोधीहरूका सबै प्रकारका भ्रमबाट मुक्त हुन नेता, कार्यकर्ता तथा सर्वसाधारणलाई आग्रह गर्नुभयो ।

अध्यक्ष प्रचण्डले आफू चितवनको जनप्रतिनिधि समेत भएको हुनाले चितवनलाई विकासको मोडलको रूपमा विकास गर्न चाहेको र यसलाई राष्ट्रिय मोडल बनाउने बताउनु भयो । रापती र नारायणी नदीको काम भैरहेको बताउँदै उहाँले चितवन र नवलपुरलाई जोडेर कम्प्याक्ट विकास गर्ने आफ्नो योजना रहेको र छिट्टै यसको कार्य थालनी हुने बताउनु भयो । अध्यक्ष प्रचण्डले नारायणी नदीमा ३ वटा पुल निर्माणको काम छिट्टै सुरु हुने समेत बताउनु भयो । उहाँले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा ठूलाठूला परियोजनाहरु खडा गरेर काम अगाडि बढ्ने बताउनु भयो । यसै वडामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला देशकै गौरवको आयोजना भएको बताउँदै उहाँले यसले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खल्ने बताउनु भयो ।

अध्यक्ष प्रचण्डले आफ्नै कार्यकालमा भरतपुर महानगरपालिकाका मुख्य र त्यससँग जोडिएका बाटाहरू कालोपत्रे भएरै छाड्ने बताउँदै यो अवसरलाई गुमाउनु नहुने बताउनु भयो । उहाँले नेकपा र नेकपाको नेतृत्वको सरकारले आफ्नो सीमा कसैलाई नछोड्ने बताउँदै आफ्नो एक इन्च जमिन पनि अरूलाई नछोड्ने र अरुको पनि नलिने बताउनु भयो । उहाँले सरकारले यसको कुटनीतिक पहल गरिसकेको बताउँदै हाम्रो भूमि फिर्ता भएरै छाड्ने बताउनु भयो ।

प्रदेश ३ इन्चार्ज काशीनाथ अधिकारीले यो निर्वाचनमा नेकपालाई हार्ने कुनै छुट नभएको बताउँदै सम्पूर्ण नेकपाका नेता कार्यकर्ता तथा जनसमुदायलाई १४ गते हुने निर्वाचनमा नेकपाका जुझारू उम्मेदवार भक्तराज हमाललाई अत्याधिक मतले विजयी गराउन आग्रह गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टीमात्र यो देशको परिवर्तनकारी शक्ति भएको भन्दै उहाँले यसले मात्र विकास, समृद्धि, सुशासन र राष्ट्रियताको संरक्षण गर्न सक्ने बताउनु भयो ।

नेकपा प्रदेश नम्बर ३ का अध्यक्ष नारायणप्रसाद दाहालले नेकपाको नेतृत्वले मात्र वडा, महानगर,  प्रदेश र देशको विकास गर्न सक्ने बताउँदै सबैलाई सूर्य चिह्नमा मतदान गर्न आग्रह गर्नुभयो । चतुरमानजीको सपना साकार पार्न भक्तराज हमालले जित्नै पर्ने बताउँदै उहाँले अब कांग्रेसबाट विकास, समृद्धि, राष्ट्रियताको संरक्षण हुन नसक्ने बताउनु भयो । कुनै पनि भ्रममा नपर्न आग्रह गर्दै उहाँले भक्तराजको जितका लागि आआफ्नो ठाउँबाट लागि पर्न आग्रह गर्नुभयो ।
भरतपुर महानगरपालिका प्रमुख तथा नेकपा केन्द्रीय सदस्य रेनु दाहालले भरतपुर महानगर दिगो र आत्मनिर्भर विकासको पक्षमा दृढतापूर्वक लागिरहेको बताउँदै महानगरको समृद्धि र विकास नेकपा नेतृत्वको प्रमुख लगायतका जनप्रतिनिधिहरूले मात्र पूरा गर्न सक्ने बताउनु भयो ।

उहाँले आसन्न निर्वाचनमा वडा नम्बर १६ का विकासप्रेमी, समाजसेवी उम्मेदवार भक्तराज हमाललाई अत्याधिक मत दिई विजयी गराउन वडा नम्बर १६ का मतदाताहरूलाई आग्रह गर्दै वडा नम्बर १६ को विकासमा आफू प्रतिबद्ध रहेको बताउनु भयो । 

प्रदेश सभा सदस्य कृष्ण भूर्तेलले नेकपाका उम्मेदवार भक्तराज हमाललाई अत्याधिक मतले विजयी गराउन वडा नम्बर १६ का मतदाताहरूलाई आग्रह गर्नु भएको थियो ।


वडा अध्यक्षका उम्मेदवार भक्तराज हमालले आफू लामो समय शिक्षण सेवामा लाग्दै समाजसेवामा लागिरहेको बताउँदै सदैव समाजसेवामा क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले मंसिर १४ गते हुने उपनिर्वाचनमा सूर्य चिह्नमा मतदान गरी विजयी गराउन आग्रह गर्दै आफ्ना प्रतिवद्धताहरु व्यक्त गर्नु भएको थियो ।

नेकपा नेतृ पार्वती रावलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी ३ दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरू नेकपामा प्रवेश गरेका थिए । मतदाताहरुको उत्साहजनक सहभागिता रहेको त्यस चुनावी सभामा कलाकारहरूले गीतसंगीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस