कारागारमा हस्तकलाको काम गरेर पैसा कमाउँदै कैदीबन्दी

हिरालाल आचार्य ‘डायमण्ड’

शनिबार, ३० कार्तिक २०७६, १३ : ३५
कारागारमा हस्तकलाको काम गरेर पैसा कमाउँदै कैदीबन्दी

- हिरालाल आचार्य ‘डायमण्ड’
चितवन । कारागार कार्यालय भरतपुर चितवनमा कैद सजाय भोगिरहेका कैदीबन्दीहरुले मुढा बनाउने, गलैंचा बनाउने, सिलाइकटाई गर्ने, सिरकडसना बनाउने लगायतका कामहरु गर्दै आएका छन् । यी काम गरेर उनीहरुले आम्दानीका साथै सीप पनि हासिल गरेका छन् । 
कारागार कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार कारागारभित्र मुढा बनाउने काम बढी हुन्छ । कारागारमा हाल पुरुष ७ सय ७ जना, महिला ७० जना र आश्रित बालबालिका ४ जना गरी ७ सय ८१ कैदीबन्दी रहेका छन् । प्रतिकैदीबन्दी दैनिक ६० रुपैयाँ र ७०० ग्राम चामल कारागार प्रशासनले दिने गरेको छ । कैदीबन्दीहरुले भित्रै मेसमा खाना पकाएर खान्छन् ।

कारागार प्रमुख काफ्लेका अनुसार ४ सय जना कैदीबन्दीले काम गर्छन् । जसमा पनि ३ सय जना पुरुषले मुढा बनाउने काम गर्छन् । बाँकी सय जनाले अन्य काम गर्ने गरेका छन् । बिहान दश बजेबाट पाँच बजेसम्म काम हुने गर्छ । त्यसपछि कैदीबन्दीहरु खेल खेल्ने गर्छन् । कैदीबन्दीहरुद्वारा उत्पादित वस्तुको लेखाजोखा कार्यालय प्रशासनले राख्दैन । उनीहरु आफैले कार्यालय सहयोगी प्रेम सुवदीसँगको समन्वयमा राख्ने गरेको उनले जानकारी दिए । 

कैदीबन्दीहरुको बाहिर पहुँच नहुने भएकाले कारागार कार्यालयका सहयोगी प्रेम सुवेदीले कैदीबन्दीहरुसँग समन्वय गर्ने गरेका छन् । मुढाका लागि आवश्यक कच्चा पदार्थ ल्याइदिने र उत्पादित मुढालाई बजारसम्म पु¥याउने काममा सुवेदीले सहयोग गर्छन् । कारागारभित्र कैदीबन्दीले आ–आफ्नो समूह बनाएर एक छुट्टाछुट्टै उद्योग जस्तै उत्पादन केन्द्र बनाएका छन् ।

कारागारभित्र मुढा बनाउने समूह प्रमुखसँगको समन्वयमा बाँस लगायतका कच्चापदार्थ सुवेदीले खरिद गर्छन् । त्यसपछि बनिसकेको मुढालाई समूह प्रमुख र सुवेदीबीच बजारमा बेचिने दरको सम्झौता हुन्छ । त्यसपछि सुवेदीले मुढा बाहिरी बजारमा पठाउँछन् ।

सुवेदीका अनुसार यहाँ उत्पादित मुढा स्थानीय बजारसहित काठमाडौं, पोखरा, भैरहवा, बुटवललसम्म पुग्ने गर्छ । उनले भने, ‘कारागारमा भएको मुढा उत्पादन क्षमताभन्दा बाहिर माग कम छ । पहिलाको तुलनामा मुढाको माग क्रमशः घट्दै गएको छ । अन्य जिल्लाका कारागारमा पनि मुढा उत्पादन सुरु भएर होला ।’ बाहिर बन्ने मुढाभन्दा कारागारमा बन्ने मुढाको बनावट र मूल्य फरक रहेको छ । कारागारमा स्तरीय मुढा बन्ने उनले दाबी गरे ।

सुवेदीका अनुसार कारागारमा नयाँ आउने कैदीबन्दीहरुले अन्य साथीहरुले गरेको हेरेर काम सिक्ने गरेका छन् । ‘कारागारमा मुढा बुन्ने सुरुवाती अवस्थामा भने साना तथा घरेलु उद्योग कार्यालयले तालिम दिएको थियो अरे’ उनले भने । 

यहाँ २ सयदेखि ३ हजार ५ सयसम्मका विभिन्न डिजाइनका मुढा बनाइन्छ । सुवेदीका अनुसार यसअघि डाइनिङ्ग टेबल सेट बन्ने गथ्र्याे । जसलाई धेरै नै मूल्य पर्दथ्यो । तर अहिले त्यो सीप जानेका कारागारबाट छुटिसकेका छन् ।

के भन्छन् कैदीबन्दी ?
कैदीबन्दीका नाइके विक्रम महतोले आफ्नो नेतृत्वमा ४०–५० जनाको समूह बनाएका छन् । उनले त्यो समूहलाई सुपरिवेक्षण गर्छन् । महतो कारागारभित्र आएको ८ वर्ष भयो । उनी यहाँ आएर यो काम सिकेर समूहको नेतृत्व गर्नेसम्म पुगेका हुन् ।

आफ्नो समूहले दिनमा ४०–५० वटा मुढा उत्पादन गर्ने गरेको महतोले बताए । उनका अनुसार बाँस काट्ने, रङ लगाउने, मुढा उठाउने, बुन्ने, बिट मार्ने, टायर राख्ने र बुट्टा बनाउने काम फरक–फरक व्यक्तिले गर्ने गरी कार्य विभाजन गरिएको छ । प्रत्येकलाई उनले काम अनुसारको ज्याला बाँड्ने गर्छन् । 

महतोका अनुसार मुढा बनाउने काममा कार्यालय सहयोगी प्रेम सुवेदीले लागनी गरेर समन्वय गर्ने गरेका छन् । मुढा बनिसकेपछि महतोले सुवेदीलाई बेच्न जिम्मा लगाउँछन् ।
महतोले महिनामा ४ हजारदेखि ८ हजारसम्म कमाइ हुने गरेको बताए । ‘कुनै महिना काम धेरै त कहिले काम थोरै आउँछ । अनि पैसा पनि त्यसै अनुसार कमाइन्छ’ महतोले भने । उनले कारागारमा काम गर्न पाउँदा जेल जीवन काट्न केही सहज महसुस हुने गरेको बताए ।

६ वर्षदेखि कारागारभित्र रहेका मोहन विकले कारागारमा आएको ८ महिनामा काम सिके । उनले मुढाको बिट मार्ने काम गर्छन् । विकले महिनामा ३ हजारदेखि ५ हजारसम्म कमाइ भइरहेको बताए । कारागारमा रहँदा पनि काम गर्न पाउँदा खुसी लागेको उनले बताए । पहिले पहिले पैसा घरमा पठाउने गरेपनि अहिले कमाएको पैसा यहीँ खाँदा र लाउँदा ठिक्क भइरहेको उनले बताए । 

७ वर्षदेखि कैद सजाय भोगिरहेकी लक्ष्मी महतोले सिलाइकटाइको काम गर्दै आइरहेकी छिन् । उनी कारागारमा आउनुभन्दा पहिला नै काम सिकेकी थिइन् । ‘मैले घरमै हुँदा नै कपडा सिलाउने काम सिकेको थिएँ । कारागारमा आउनु परेपछि समय काट्न बसिबियाँलो गरौं भनी यहाँ काम सुरु गरेको हुँ’ उनले भनिन् ।

उनले कारागारकी आफ्नी साथीलाई पनि काम सिकाइरहेकी छिन् । उनीकहाँ कारागारका अन्य साथीहरुका साथै बाहिरबाट पनि स्थानीयहरु कपडा सिलाउन आउने गर्छन् । उनले बाहिरी बजारमा भएको दरभन्दा सस्तोमा लुगा सिलाउने गर्छिन् ।

चार वर्षदेखि कारागार जीवन बिताइरहेकी उर्मिला तामाङले गलैंचा बनाउने काम गर्छिन् । एउटा गलैंचा बनाउन आफूलाई करिब डेढ महिना लाग्ने उनले बताइन् । एउटा गलैंचा बुनेको उनले ५ हजार परिश्रमिक पाउँछिन् । त्यसै बसिरहनुभन्दा यो काम गर्दा दिन काट्न सजिलो भएको उनले सुनाइन् ।

दुई वर्षदेखि कारागार सजाय भोगिरहेकी हरिमाया लोले पनि गलैंचा बुन्ने गर्छिन् । उनले आफूलाई एउटा गलैंचा बुन्न दुई महिना लाग्ने गरेको बताइन् । उनले पनि प्रतिगलैंचा ५ हजार नै पाउँछिन् । उनले कारागारमा यसरी गलैंचा बुन्न पाउँदा पैसा कमाउनुका साथै समय बिताउन सहज भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस