एजेन्सी । ट्वीटरका दुई कर्मचारीहरुमाथि साउदी अरबको लागि जासुसी गरेको आरोप लागेको छ ।
बुधरबार सान फ्रान्सिस्कोमा सार्वजनिक भएको मुद्दाका अनुसार ती कर्मचारीहरुले साउदी एजेन्टले चाहेको केही ट्वीटर प्रयोगकर्ताको व्यक्तिगत जानकारी दिएका थिए । त्यसरी खोजिएका धेरैजसो ट्वीटर एकाउन्टहरु साउदी सरकारका मुखर आलोचकहरु थिए ।
अदालती कागजातले आरोप लागेका दुई कर्मचारीहरुको नाम पनि सार्वजनिक गरेको छ । तिनको नाम अहमद अबुआम्मो र अली अल्जाबराह रहेको अदालतले जनाएको छ । अहदम अमेरिकी नागरिक हुन् भने अली साउदी अरबियाका हुन् ।
तेस्रो व्यक्ति साउदी नागरिक अहमेद अल्मुटेरीमाथि पनि जासुसीको आरोप लागेको छ ।
अल्मुटेरीले आरोपित ट्वीटर कर्मचारी र साउदी अधिकारीबीचमा मध्यस्थकर्ता गरेको मुद्दामा उल्लेख छ ।
अबुआम्मोलाई बुधबार सियाटल अदालत अघि प्रस्तुत गरिएको थियो । शुक्रबार अर्को सुनुवाई बाँकी रहेकाले उनलाई हिरासतमै राखिएको छ ।
उनलाई जाली कागजात र एफबीआईलाई झुटो वयान दिएको आरोप पनि लगाइएको छ । अहिले अबुआम्मोले ट्वीटरको मिडिया साझेदारी म्यानेजरको काम छाडिसकेको बताइएको छ ।
अलि अल्जबराह र अहमद अल्मुटेरी दुवै साउदी अरबमै रहेको विश्वास गरिएको छ ।
ट्वीटरका पूर्व इन्जीनियर अल्जाबराहले ६ हजारभन्दा बढी ट्वीटर प्रयोगकर्ताको व्यक्तिगत सूचना हेरेको छ । अल्जाबराह सन् २०१५ मा साउदी एजेन्टको रुपमा भर्ति भएको अनुसन्धानले देखाएको छ ।
तर अल्जाबराहको कार्यबारे ट्वीटरका उच्चाधिकारीले पहिले सुइको पाएपछि उनीसँग सोधखोज गरिएको थियो । त्यस लगतै उनले प्रशासनिक बिदा लिएर आफ्नी श्रीमती र छोरीका साथ साउदी अरब लागेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २१ कार्तिक २०७६, १२ : ३०
लेखकबाट थप