आलमको न्यायाधीशलाई जवाफ : ‘त्यस बेलाको मोबाइल नम्बर बिर्सें’

पत्रपत्रिकाबाट

बुधबार, २० कार्तिक २०७६, ०६ : ५७
आलमको न्यायाधीशलाई जवाफ : ‘त्यस बेलाको मोबाइल नम्बर बिर्सें’

काठमाडौँ । हत्या आरोपमा पक्राउ परेका निलम्बित सांसद मो. अफताब आलमसँग जिल्ला अदालतमा बुधबार पनि बयान लिइने भएको छ। न्यायाधीश दीपक ढकालको इजलासमा मंगलबार नेता आलमसँग बयान लिइएको हो। बयानका लागि बिहान साढे १० बजेतिर अदालत लगिएको थियो। तर, सवा ३ बजे मात्रै बयान सुरु भएको थियो।

आलमलाई साढे एक बजेतिर इजलासमा उपस्थित गराए पनि उनको पक्षमा रहेका कानुन व्यवसायीले केही समय बयान रोकेका थिए। आलमसँग मंगलबार नौ वटा प्रश्न सोधिएको छ। त्यसपछि कार्यालय समय सकिएकाले बयान रोकिएको हो।

आलम पक्षका कानुन व्यवसायीले मिसिलको फोटोकपी नपाएको भन्दै केहीबेर बयान रोकेका थिए। फोटोकपी वितरण भएपछि बयान थालिएको हो। बयान नसकिएकाले आलमलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा लगिएको छ।

आठ सयभन्दा बढी पृष्ठको मिसिल फोटो कपी गर्न समय लागेकाले वितरणमा ढिलाइ भएको सरकारी वकिल कार्यालयले जनाएको छ। आलमलाई ३२ वर्ष कैद माग गर्दै सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। कर्तव्य ज्यान मुद्दामा २० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा २ वर्ष कैद माग गरेर मुद्दा दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिए।

सरकारी वकिलको कार्यालयले ३९ पृष्ठको अभियोगपत्र तथा ८ सय ७८ पृष्ठको मिसिल दर्ता गरेको थियो। २०६४ चैत २७ गते आलमका काका सेख इद्रिसको गोठमा बम विस्फोट हुँदा घाइते तथा मृत्यु भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा गत असोज २६ गते नेता आलम पक्राउ परेका थिए। आजको अन्नपूर्ण पोस्ट मा खबर छ ।

प्रतिक्रिया दिनुहोस