आलमसहित ११ जनाविरुद्ध आज मुद्दा दर्ता, आजीवन काराबासको माग

सफल खबर संवाददाता

सोमबार, १८ कार्तिक २०७६, ११ : १२
आलमसहित ११ जनाविरुद्ध आज मुद्दा दर्ता, आजीवन काराबासको माग

रौतहट । विष्फोटका घाइतेलाई ज्युँदै इँट्टाभट्टामा हालेर मारेको अभियोगमा सांसद मोहम्मद अफताब आलमसहित ११ जनाविरुद्ध आज मुद्दा दायर हुँदै छ।

आलमलाई आजीवन काराबासको माग दावीसहित जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता हुन लागेको हो । प्रहरीले आलमलाई आजीवन काराबासको सजायँ मागदाबीसहित सरकारी वकिलको कार्यालयमा राय पेस गरेको छ । प्रहरीले आलमविरुद्ध आठ सय पेजको अनुसन्धान रिपोर्टसहित आफ्नो राय जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरिसकेको छ ।

प्रहरीको अनुसन्धानमा आलमले तत्कालिन प्रहरी प्रशासनसँग मिलेर घाइतेलाई इटाभट्टीमा हालेको खुलेको छ । प्रहरीकै गाडीले स्कटिङ गरेर घाइतेलाई इटाभट्टामा लिएर गएको एक प्रहरीले बयानका क्रममा भनेका छन् ।

मुलुकी अपराध संहिता लागू हुनुभन्दा अगाडिको घटना भएकाले पुरानो मुलुकी ऐन २०२० अनुसार सर्वस्वसहित जन्मकैदको मागदावीको विकल्प पनि दिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

आलमविरुद्ध प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ गरी तीन वटा मुद्दामा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन  पेस गरिसकेको छ । आलम बाहेक अन्य दस जना भने फरार छन् । 

आलमसहित मोबिन आलम, शेख भई, शेख सेराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्री सहनी र मुक्ति साहविरुद्ध मुद्दा चलाउन लागिएको हो ।

पहिलो संविधानसभा चुनावताका २७ चैतमा रौतहट क्षेत्र नम्बर २ बाट कांग्रेस उम्मेदवार आलमले मतदानस्थल नजिकै बम पड्काएर बुथ कब्जा गर्ने योजनाअनुसार काका शेख इद्रिसको गोठमा बम बनाउँदा बनाउँदै विष्फोट भयो । सोही विष्फोटमा घाइते भएकालाई इँटाभट्टामा हालेर हत्या गरेको अभियोग आलममाथि लागेको हो। 

प्रतिक्रिया दिनुहोस