चितवन ।
‘तिहारै आयो लौ झिलीमिली
ए सुन हजुर भैलिनी आइन् आँगन’
२०५० सालको कुरा हो । महिना गते र बार थाहा छैन । रचनाकार यादव खरेललाई चलचित्र निर्देशक शम्भु प्रधानले भेटेर भने, ‘दाइ एउटा गीत लेख्न पर्ने भयो, समय निकाल्न सक्नुहुन्छ ?’ आफ्ना मित्रसमेत रहेका चलचित्र निर्देशक शम्भु प्रधानको आग्रहलाई उनले नाइँनास्ती गर्न नै सकेनन् ।
निर्देशक शम्भु प्रधान चलचित्र ‘स्वर्ग’ को निर्देशनमा व्यस्त थिए । यही फिल्मको लागि उनलाई एउटा उत्कृष्ट हुने गीत चाहिएको थियो । शम्भुले फिल्मको दृश्य पनि सुनाए । तिहारको गीत चाहिने भयो ।
नायिका नायकको घरमा भैलो खेल्न गएकी हुन्छे । त्यहीँ देउसीभैलो भट्याउँदा उसले प्रेमका कुरा पनि गर्छे । र, नायक नायिकाबीच प्रेम हुन्छ । शम्भुलाई यही ‘सिन’ का लागि गीत चाहिएको थियो । गीतमा प्रेम र संस्कृति दुबै हुनुपर्ने शम्भुको माग थियो ।
लेखक खरेलले शम्भुको सोही मागअनुसार नै गीत रचना गरे । गीतको बोल बन्यो, ‘तिहारै आयो, लौ झिलिमिली ।’ लोचन भट्टराई र नूतन प्रधान तथा शम्भुजित बास्कोटाको स्वरले सजियो । यो गीत यति सदाबहार बन्यो कि हरेक तिहारको ‘आइकन’ गीत बन्यो ।
‘हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको
हे औँसी बार गाई तिहार भैलो’
गीतमा तिहारको झिलीमिलीको व्याख्या छ । अलिकति प्रेमको कुरा पनि छ जसलाई खरेल ‘कथाको माग’ भन्न रुचाउँछन् । यो तर सांस्कृतिक पक्ष नभएको भए यति लामो समयसम्म तानिँदैनथ्यो । गीतमा समाज गीतका शब्दमा गाउँले परिवेशलाई व्याख्या गरिएको छ ।
‘हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको’ गीतमा भनिएको यो टुक्काले गाउँको व्याख्या गर्छ । अनि तिहारमा हुने ‘झिलीमिली बत्ती’ व्याख्या गरिएको छ । गीतले झिलीमिलीको मात्र कुरा गर्दैन, लाहुर जानेहरुलाई सन्देश पनि छ । ‘मेरो हजुर नजाउ लाहुर, नेपालमा पाइन्छ जागिर’ त्यतिबेलाको लाहुर जाने परिस्थिति गीतमा पोखिएको छ ।
देउसी खेल्न आएका उनीहरु मनका धनी नभेटेपछि मन दुखाएर फर्केको कुरा पनि गीतमा छ । ‘टाढाका हामी धाएर आयौँ, हाम्रो त घर हो गैरीगाउँ ! मनका धनी रैन छन् यहाँ, हिँड् है साथी फर्की जाउँ ।’ अहिले यो गीतले बजार खाएको छ । तिहारका पछिल्लो पटक बनेका सबै गीतलाई यो गीतले उछिनेको छ ।
प्रतिक्रिया दिनुहोस