प्रचण्डलाई पेल्नुसम्म पेले पदलोलुप प्रधानमन्त्रीले

सरकार र पार्टी एकलौटी रुपमा सञ्चालन, पूर्वमाओवादीलाई बालुवाटार प्रवेशमा रोक

सफल खबर संवाददाता

शनिबार, ०९ कार्तिक २०७६, १७ : १४
प्रचण्डलाई पेल्नुसम्म पेले पदलोलुप प्रधानमन्त्रीले

काठमाडौं । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीचमा सहमतिका आधारमा एकता भएको हो । ती सहमति केही सार्वजनिक भएका छन् भने केही सार्वजनिक भएका छैनन् । तर सहमति अनुसार शक्ति बाँडफाँड गर्ने र पार्टीलाई क्रियाशील बनाउने भन्दा पनि कसरी पदमा बसिरहने र अरुलाई पेलिरहने भन्ने स्वभाव प्रधानमन्त्री केपी शर्मा ओलीमा देखिएको छ । 
सरकार र पार्टी समेत एकलौटी रुपमा सञ्चालन गरिरहेका केपी शर्मा ओलीले विगतमा भएको सहमतिलाई कार्यान्वयन नगर्ने र आफू नै सबै भएको ध्वाँस दिएपछि नेकपाभित्र अप्ठ्यारो अवस्था सिर्जना भएको छ । पटक पटक सहमति गर्ने, मिलेर जाने भन्ने प्रतिवद्धता व्यक्त गर्ने तर त्यसलाई व्यवहारमा कार्यान्वयन नगर्ने प्रवृत्ति ओलीमा देखिएको छ ।
विगतमा भएको सहमतिलाई अक्षरशः कार्यान्वयन गर्दा, त्यसबाट कोही कसैलाई घाटा हुँदेन । कोही पनि समस्या पर्नु पर्दैन, तर दादागिरी शैलीमा पार्टी सञ्चालन गर्ने, सरकारको काममा एकलौटी गर्ने र ज्यादती गर्ने, अरुलाई कुनै पनि जिम्मेवारी नदिने काममा ओली लागेको भन्दै उनको चौतर्फी आलोचना भएको छ । 
पछिल्लो पटक चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुँदा समेत उनै ओलीले नेकपा अध्यक्ष प्रचण्डलाई भेटवार्ता समेत गर्न नदिने षडयन्त्र गरेका थिए । उनले रात्रीभोजमा सहभागी भए भईहाल्छ नि, अरु काम त सरकारले गरिहाल्छ नि, सरकार नेकपा नै हो, किन चिन्ता लिएको भन्ने शैलीमा प्रचण्डलाई भेट नै नगराउने साजिस गरेका थिए । 
जानकारहरुका अनुसार चिनियाँ राष्ट्रपतिले नै प्रचण्डसँग भेटवार्ता गर्छु भन्ने सन्देश दिएपछि मात्रै सचिवालयका सदस्यसहितको भेटको अवसर मिलेको थियो । सरकारी वार्तामा समेत पूर्व माओवादीका कुनै पनि मन्त्रीलाई समेत सहभागी हुन नदिने ओलीको षड्यन्त्र थियो । तर पछि अलि लचक भएको जस्तो देखाएर सरकारी वार्तामा गृहमन्त्री रामबहादुर थापा र ऊर्जामन्त्री वर्षमान पुनलाई सहभागी गराएका थिए । 
मन्त्रिपरिषद्को मर्यादा क्रममा सबैभन्दा तल रहेकी भूमिसुधार मन्त्री पद्यमा अर्याललाई वार्ता टोलीमा राख्ने, महिला मन्त्री जसको कुने भूमिका नै थिए, थममाया थापालाई समेत ओलीले वार्तामा राखेका थिए । त्यसो त चिनियाँ राष्ट्रपतिसँग जबरजस्ती सेल्फी खिच्न मरिहत्ते गर्ने उनकै सल्लाहकार भनिएका विष्णु रिमाल र राजन भट्टराईले नेपालकै बेइज्जत गरेका थिए । सरकारी काम काजको संयोजन गरिरहेको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार विष्णु रिमाल र राजन भट्टराईले अखिलका ठेट्ना कार्यकर्ताको शैलीमा चिनियाँ राष्ट्रपतिसँग सेल्फी खिच्न तछाडमछाड गरेका थिए । चिनियाँ सुरक्षाकर्मीले ठेलठाल गरेपनि उनीहरुले जबरजस्ती सेल्फी खिचेर नेपालको मात्रै नभई नेकपाको समेत बेइज्जत गरेको भन्दै कुटनीतिक वृत्तमा समेत उडाउन थालिएको छ । उनीहरुले सामान्य सोमत समेत नदेखाएको जान्ने, सुन्ने र देख्नेहरु बताउँछन् । 
राष्ट्रपतिसँगको भेटमा समेत उनीहरुले बस्न खोजका थिए । तर शीतल निवासमा सो दिन उनीहरुले प्रवेश पाएका थिएनन् । प्रधानमन्त्री ओलीको आडमा नै उनीहरुले राष्ट्रिय बेइज्जत गरेको स्रोतको भनाइ छ । हुन्छ, हुन्छ मिलाएर गर्नु नी भन्दै उनीहरुलाई ओलीले आड भरोसा दिएका कारण नेपालको नै इज्जत माटोमा मिलेको बताइन्छ । 
चिनियाँ पक्षले नै पूर्व माओवादीका मन्त्री पनि चाहिने भन्दै परराष्ट्रलाई दबाव दिएपछि मात्रै गृहमन्त्री थापा र ऊर्जा मन्त्री पुनले सरकारी वार्ता टोलीमा सहभागी हुने अवसर पाएका थिए । ओलीको व्यवहारबाट आजित भएका चिनियाँ पक्षले नै दबाव दिएर पूर्व माओवादीका मन्त्री पनि चाहिने बताएको बालुवाटार र सिंहदबारमा चर्चा हुने गरेको छ । जानकारहरुका अनुसार ओलीले पूर्व माओवादी भारतका मान्छे हुन्, उनीहरुसँग कुनै पनि इमान छैन, उनीहरु सबै सूचना भारतीय दूतावास र नयाँ दिल्ली पु¥याउँछन् भन्दै गलत प्रचार गराएका थिए । 
को सँग भेटन्, को सँग नभेटने तथा को योग्य , को अयोग्य भन्दै प्रधानमन्त्रीको सल्लाहकार रहेका विष्णु रिमाल र राजन भट्टराईले नै लिस्ट तयार पारेको बताइन्छ । त्यसो त सोही लिस्टलाई नै परराष्ट्रमन्त्री ज्ञवाली र सचिव बैरागीले पनि सहमति जनाएको बताइन्छ । प्रधानमन्त्रीको त्यस्तो कार्यशैली देखिने भएपछि चिनियाँ पक्षले नै किन यस्तो असमानता भन्दै आपत्ति जनाएको जानकारहरु बताउँछन् । 
आफ्नै पार्टी हो, सबैलाई मिलाएर जानुपर्छ भन्ने स्वभाव समेत नभएका प्रधानमन्त्रीले प्रचण्ड मात्रै नभई पूर्वमाओवादीका कोही पनि मन्त्रीलाई चिनियाँसँगको सरकारी स्तरको छलफलमा बस्न नै नदिनु भन्ने खालको सन्देश परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र सचिव शंकरदास बैरागीलाई पुर्याएका थिए । तर मन्त्रीले प्रधानमन्त्रीले जे भने पनि हस भनेर आएका थिए । पछि प्रधानमन्त्रीले आफूलाई मुख्य सचिव बनाउछु भन्नु भएको भन्दै परराष्ट्र सचिव बैरागीले समेत पूर्व माओवादीका कुनै पनि मन्त्रीलाई सहभागी नगराउन सहमति जनाएका थिए । 

पूर्वमाओवादीलाई बालुवाटार प्रवेशमा रोक
पछिल्ला दिनमा ओलीले पूर्वमाओवादीका कुनै पनि व्यक्तिलाई बालुवाटारमा समेत प्रवेश गर्न रोक लगाएका छन् । सरकारी निकायमा रहेका पूर्वमाओवादीको पालामा नियुक्त भएकालाई कसरी कर्नरमा पार्ने र राजीनामा दिन लगाउने भन्दा अरु कुनै पनि भूमिका नदिने देखिएको छ । 
पूर्वमाओवादी मन्त्रीले सम्हालेका मन्त्रालयमा काम गर्न नदिन र हस्तक्षेप गर्ने कामलाई समेत अगाडि बढाएका छन् । शत्तिः बाँडफाडमा समेत इमान्दार नदेखिएका ओलीले पार्टी अध्यक्ष प्रचण्डलाई पटक पटक बालुवाटारमा अपमान गर्दै आएका छन् । पार्टी अध्यक्षलाई कसले के बोल्छ, मलाई के मतलब भन्ने शैलीमा अपमान मात्रै गरेका छैनन, आफूलाई मन लागेको मिडिया र पत्रकार बोलाएर पूर्व माओवादी विरुद्ध जेहाद छेडन लगाएका छन् । जसका कारण नेकपा भित्र असाध्यै नराम्रो संस्कारको विकास भएको छ । 
प्रधानमन्त्री ओलीको व्यवहारबाट आजित भएका माधवकुमार नेपाल, वामदेव गौतम, झलनाथ खनाललगायतले प्रचण्डलाई बोल्ड निर्णय गर्न सुझाव दिएको जानकारहरुको भनाई छ । विगतको सहमति कार्यान्वयन नगर्ने हो र पार्टीलाई सामूहिक प्रणालीमा नचलाउने हो भने अवस्था बिगर्न जाने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस