एक मधेश एक प्रदेश हुन सक्दैन : उपसभापति गच्छदार

शनिबार, ०९ कार्तिक २०७६, १५ : ३८
एक मधेश एक प्रदेश हुन सक्दैन : उपसभापति गच्छदार

ललितपुर । नेपाली काङ्गे्रसका उपसभापति विजयकुमार गच्छदारले ‘एक मधेश एक प्रदेश’मा जान नहुने बताउनुभएको छ । गोदावरी नगरपालिकाले तिहार, नेपाल सम्वत् ११४० एवम छठ पर्वको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उपसभापति गच्छदारले पार्टीको स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभयो । 
उहाँले भन्नुभयो, “मभन्दा ठूलो पार्टी हो । पार्टीभन्दा ठूलो मधेश हो । मधेशभन्दा ठूलो मेरो देश भएकाले यसलाई विभाजन गरेर मुलुकले समृद्धि हासिल गर्न सकिदैन ।” थारु र जनजातिको हकहितका लागि लडेको मान्छे समग्र मुलुकको हितमा लड्नुपर्छ भनी काङ्ग्रेसमा लागि परेको उपसभापति गच्छदारको भनाइ थियो । उहाँले भन्नुभयो, “काङ्ग्रेसमा रहेर महँगी र भ्रष्टाचारलगायत विसङ्गति नियन्त्रण गर्नमा रचनात्मक भूमिका निर्वाह गरिरहेको छु ।” आगामी निर्वाचनमा विजय हासिल गर्न काङ्ग्रेस लागिपरेको उहाँको भनाइ थियो ।  

उपसभापति गच्छदारले युवा पुस्ताले पुराना पुस्ताको कदर गर्दै उहाँहरुको योगदानलाई बिर्सनु नहुने बताउनुभयो । “देश निर्माणमा युवा पुस्ता अनुशासित भएर अघि बढ्नुपर्छ”, उपसभापति गच्छदारले भन्नुभयो । काङ्ग्रेस     ललितपुरका सभापति मदनबहादुर अमात्यले पञ्चायती र व्यक्तिवादी प्रवृत्तिबाट माथि उठेर लोकतान्त्रिक संस्कार अङ्गाल्न कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले चाडपर्वले सबै नेपालीको कामना पूरा होस् भन्नुभयो । नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले सबै नगरवासीको साथमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपप्रमुख मुना अधिकारीले काङ्गे्रसको जागरण अभियानले मुलुकमा ऊर्जा थपेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस