भिटेन र दुर्गेश पक्राउ प्रकरणमा सञ्चारमन्त्रीले भने,– हामीले ती गीत परिवारसँग बसेर सुन्न सक्छौं ?

सफल खबर संवाददाता

विहीबार, ०७ कार्तिक २०७६, १८ : ४८
भिटेन र दुर्गेश पक्राउ प्रकरणमा सञ्चारमन्त्रीले भने,– हामीले ती गीत परिवारसँग बसेर सुन्न सक्छौं ?

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले ¥यापर भिटेन र दुर्गेश थापा पक्राउको बचाउ गरेका छन् ।
बिहीबार मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा उनले नेपाली समाजको मूल्य पद्धती रहेको र स्वतन्त्रताका नाममा त्यसलाई भत्काउने गल्ती नगर्न आग्रह गरे । 

पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटालाई थापा र भिटेन पक्राउबारे प्रश्न सोधिएको थिए । मन्त्री बास्कोटाले भने– ‘जहाँसम्म थापाको पश्न उठ्यो । अब थापाले गर्ला, लामाले गर्ला, नेवारले गर्ला, बाहुनले गर्ला जसले गरुन कलाकारिता भनेको समाजको ऐना हो । कहिलेकाही त्यसले इतिहास पनि रचना गर्छ । गाउनै नपाउने भनेर हामीले भनेका छौँ र ? जे पनि गाउँछ भने तपाई आफ्नो दिदी भाई दिदी बहिनी परिवारसँग तिनले गाएको गीत सुन्न सक्नुहुन्छ ? सुन्न कति समाथ्र्य राख्नुहुन्छ ? कतै अनुहार लाजले रातोपिरो हुन्छ कि ? कतै मुख थुन्नुपर्ने जस्तो हुन्छ कि ? जुनसुकै समाजको एउटा मूल्य पद्धति हुन्छ, त्यसमा कसैले गल्ती नगरुन ।’ 

उनले स्वतन्त्रता छ भन्दैमा नाङ्गै हिँड्न नपाइने बताए । उनले हरेक देशको आफ्नै मौलिक कला साहित्य हुने भन्दै आज पनि बालकृष्ण सम, महाकविका कुरा हुने, राममायणका कुरा हुने, मोतीराम भट्टदेखि आधुनिक दुर्गालाल श्रेष्ठसम्मका कविता सुनिने गरेको बताउँदै भाषाका हिसाबले नेपाली भाषा समृद्ध हुनुपर्नेमा जोड दिए ।  मन्त्री बास्कोटाले भने– ‘शब्दहरु सञ्चारको माध्यम पनि हो, त्यो देशको संस्कृतिको परिचय पनि हो ।’ 

सरकारले बस भने बस, उठ भने उठ नचाहेको तर अराजकता स्वीकार्य नहुने उनले बताए ।

‘कसैलाई नगर्नु भनेकै कुरा गर्नु पर्ने हो भने मान्छे जलाएर मारेको पनि ठीकै छ, अरुका छोरीचेली झम्टिएको पनि ठीकै छ, मनपरी बोलेको पनि ठीकै छ, भ्रष्टाचार गरेको पनि बहादुरपूर्ण भयो ?’ ननइश्यूलाई इश्यू नबनाउन आग्रह गर्दै मन्त्री बास्कोटाले भने, ‘हामी के चाहन्छौं ? कस्तो समाज निर्माण गर्न चाहन्छौं ? कुरा यो हो ।
 

प्रतिक्रिया दिनुहोस