कांग्रेसले बोलायो आजै केन्द्रीय समिति बैठक

विधान विपरित केन्द्रीय समितिको अधिकार पदाधिकारीमा सार्ने प्रस्तावमा छलफल हुने

सफल खबर संवाददाता

विहीबार, ०७ कार्तिक २०७६, ०७ : ५२
कांग्रेसले बोलायो आजै केन्द्रीय समिति बैठक

फाइल फोटो

काठमाडौं । प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । कास्की लगायत उपचुनावको निर्वाचनका उम्मेद्वार चयनका लागि कांग्रेसले आज केन्द्रीय समिति बैठक बोलाएको हो । 

बुधबार दिउँसो तीन घण्टा पदाधिकारी बैठक राखेको कांग्रेसले आजका लागि केन्द्रीय समिति बैठक बोलाएको हो । उसले कास्की २ लगायतका उपचुनाव हुने निर्वाचन क्षेत्रमा उम्मेद्वार चयनको अधिकार केन्द्रीय समितिबाट पदाधिकारीमा ल्याउन लागेको छ ।

कांग्रेस विधानमा उम्मेदवार चयन केन्द्रीय समितिले गर्ने उल्लेख छ । तर उसले विधान विपरित केन्द्रीय समितिबाट अधिकार पदाधिकारीमा ल्याउन लागेको हो ।

सो सम्बन्धी प्रस्ताव अनुमोदनका लागि केन्द्रीय समितिमा लैजाने हिजोको पदाधिकारी वैठकले निर्णय गरेको थियो ।
त्यही निर्णयका आधारमा आज उसले बैठक बोलाएको हो ।

मंसिर १४ को उपचुनावका उम्मेद्वार चयन केन्द्रीय समितिमा छलफल गर्दा धेरै मतमतान्तर हुने भएकोले पदाधिकारीमा अधिकार केन्द्रीत गरेर सिमित नेताहरुका बीचमा मात्र छलफल गरी निर्णय लिने तयारी कांग्रेसको हो । त्यही अनुसार आज उसले केन्द्रीय समितिमा उम्मेद्वार चयनको अधिकार पदाधिकारीमा सार्न प्रस्ताव लान लागेको हो ।

कांग्रेस सहमहामन्त्री डा प्रकाशसरण महतले भने, –‘प्रस्ताव केन्द्रीय समितिले अनुमोदन गरेमा मात्र पदाधिकारीले निर्णय लिने कुरा हुन्छ । प्रस्ताव चाहीं आज सभापतिले लानुहुन्छ ।’

तिहार अगाडि नै पार्टीका तर्फबाट उम्मेद्वार चयन गरिसक्ने योजना पार्टीले बनाएको र छलफल तीव्र बनाएको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस