मसालमा १९ नेता कारवाहीमा

बुधबार, ०६ कार्तिक २०७६, १४ : ५१
मसालमा १९ नेता कारवाहीमा

काठमाडौं । पार्टी सानो भएपनि पार्टीभित्रका समस्या ठूला छन् । साना साना विषय देखि ठूला विषयसम्ममा नेकपा मसालमा अहिले दिनहु लफडै छ । पार्टीको विगत देखिको मुखपत्र हाँक अहिले पार्टी नियन्त्रण वाहिर पुगेको छ भने त्यही पत्रिकालाई सहयोग गरेको आरोपमा १९ नेता कारवाहीमा परेका छन् ।

नेकपा मसालको हालै बसेको बैठकले १९ नेतामध्ये दुई जनालाई अनिश्चितकालका लागि पार्टी सदस्यतावाटै र अन्य १७ जनालाई विभिन्न प्रकारको आन्तरिक कारवाही गरेको मसालले पुष्टि गरेको छ । मसालका प्रवक्ता रामप्रकाश पुरीले वक्तब्य जारी गर्दै ती नेताहरु कारवाहीमा परेको पुष्टि गरेका हुन् ।

‘हाँकलाई विभिन्न प्रकारले सहयोग गरेकोमा हालै बसेको केन्द्रीय समितिको बैठकले खाली १९ जनालाई मात्र कारवाही गरेको छ, जसमध्ये दुईजनालाई अनिश्चित कालको लागि पार्टीको सदस्यताबाट निस्कासन गर्ने र अन्य १७ जनालाई विभिन्न प्रकारका आन्तरिक कारवाही गरिएको छ ।’ पुरीले जारी गरेको वक्तब्यमा उल्लेख छ ।
उक्त कारवाहीलाई पार्टीमा भिन्न मत भएका पार्टी सदस्यहरूलाई कारवाही गरिएको आरोप सस्थापन इतर पक्षले लगाएको छ । तर पुरीले भने भिन्न मतका कारणले अहिलेसम्म एकजनालाई पनि कारवाही गरिएको नगरिएको जिकिर गरेका छन् । पुरीले भने,–‘पहिले महाधिवेशनको बेलामा मतभेद राख्ने पार्टी सदस्यहरू मध्ये कैयौँजना अहिले पनि केन्द्रीय समितिदेखि विभिन्न तहका समिति र जिम्मेवारीमा हुनुहुन्छ । त्यो अवस्थामा भिन्नमत भएकाले कारवाही गरिएको भन्ने हल्ला आफ्ना गल्तीहरूमाथि पर्दाहाल्ने तरिका मात्र हो ।’

पार्टीमा अनुशासन कायम राख्नका लागि विधान र सङ्गठनात्मक नियमहरू बनेका छन् । तिनीहरूको उल्लङ्घन गरेमा अनुशासनको कारवाही पार्टीमा पहिलेदेखि चल्दै आएको अभ्यास भएको पुरीको तर्क छ । कारवाहीमा परेकाहरुको नाम भने मसालले गुपचुप राखेको छ ।

प्रतिक्रिया दिनुहोस