कास्कीमा उम्मेदवार छान्न कांग्रेसलाई महाभारत, नेकपामा विद्या र प्यासीमध्ये एकको सम्भावना बलियो

सफल खबर संवाददाता

बुधबार, ०६ कार्तिक २०७६, ०९ : ११
कास्कीमा उम्मेदवार छान्न कांग्रेसलाई महाभारत, नेकपामा विद्या र प्यासीमध्ये एकको सम्भावना बलियो

काठमाडौं । प्रतिनिधीसभा अन्र्तगतको कास्की २ मा आगामी १४ मंसिरमा उपचुनाव हुँदैछ । नेकपाका नेता तथा त्यस क्षेत्रका जनप्रतिनिधी रविन्द्र अधिकारीको गत फागुनमा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएपछि उक्त क्षेत्र जनप्रतिनिधीविहिन बनेको थियो ।

.अबको एक महिनापछि हुने त्यस क्षेत्रको चुनावका लागि अहिले राजनीतिक दलहरु उम्मेदवार चयनको रस्साकस्सीमा छन् । विपक्षी पार्टीहरुको चुनावी रणनीति, सम्भावित उम्मेद्वारको लेखाजोखा गर्दै प्रमुख राजनीतिक दलहरु आफ्नो उम्मेद्वार चयनमा जुटेका छन् ।

रविन्द्र मिश्रको पार्टी साझा पार्टीले आज त्यस क्षेत्रबाट चुनाव लड्ने उम्मेद्वारको नाम घोषणा गर्ने तयारी गरेको छ । उनको पार्टीले त्यस क्षेत्रमा चुनाव नजित्ने र चुनाव कांग्रेस र नेकपाबाटै एकले जित्ने भएकाले पनि मान्छेहरुको ध्यान प्रमुख यी दुईपार्टीबाट को उम्मेद्वार बन्छन् रु भन्नेतिर नै छ ।

दुवै पार्टीले निर्वाचन क्षेत्र, जिल्ला कमिटि सम्मको सिफारिसका आधारमा केन्द्रमा बढीमा तीन जनासम्मको नाम सिफारिस गरेर पठाउन निर्देशन गरेका छन् । उम्मेद्वार चयनकै लागि १० कात्तिकमा कांग्रेसले पार्टी केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।

नेकपाले भने कात्तिक १० भित्र उम्मे्दवारको नाम सिफारिस गर्न प्रदेश कमिटिलाई निर्देशन गरेको छ । जसकाकारण पनि काग्रेस र नेकपा दुवै दलहरु अहिले आन्तरिक छलफलहरुमा जुटेका छन् ।
कांग्रेसले यो चुनावलाई मिनी जनमतका रुपमा लिंदै जसरी पनि जितेर नेकपाको जनमत गुम्न थालेको संकेत दिन अथक प्रयास गर्ने जनाएको छ । नेकपालाई आफ्नो जनमत टिकाउने चुनौति छ ।

कुन दलका के छन् तयारी ?
नेकपा पार्टी केन्द्रले १० कात्तिक भित्र प्रदेश कमिटिलाई निर्वाचन क्षेत्रीय कमिटि र जिल्ला कमिटिसँगको परामर्शका आधारमा तीन जनाको नाम केन्द्रमा सिफारिस गर्न निर्देशन दिएको छ । सोही कारण ८ गते कास्कीका उपल्लो तहका नेताहरुको बैठक राख्ने तयारी नेकपाले गरेको छ । ८ गते जिल्लाका उपल्लो तहका नेताहरुको बैठक बस्ने र ९ गते थप प्रदेश कमिटिका पदाधिकारी सहतिको बैठक बसेर केन्द्रमा नाम सिफारिस गर्ने तयारी छ ।
नेकपाबाट पहिले शुरुमा सचिवालय सदस्य वामदेव गौतम नै कास्कीको उपचुनावमा लडने चर्चा थियो । तर गौतमले आफू र आफू निकट व्यक्तिहरुलाई पठाई त्यस क्षेत्रको मिनि मत सर्वेक्षण गरेपछि चुनाव लड्ने योजनाबाट पछि हटेका थिए ।

आफू चुनाव लड्न कास्की जाँदा त्यो क्षेत्रमा पनि आफूलाई जसरी पनि हराउने योजना बन्ने भन्दै उनले जितेको क्षेत्र गुमाउन नहुने र त्यस क्षेत्रमा स्थानीयलाई नै उम्ेद्वार बनाउनु पर्ने गरी वक्तव्य नै दिएका थिए ।
वामदेवपछि हटेपछि अब नेकपाका तर्फबाट स्थानीय नेताहरुलाई नै त्यहाँ चुनाव लड्ने ढोका खुलेको छ । नेकपाबाट रविन्द्र अधिकारीकै पतनी विद्या भट्टराई चुनाव उठ्ने चर्चा पनि छ ।
पार्टीले आवश्यक ठाने आफू चुनाव लड्न तयार रहेको उनले बताएकी पनि थिइन् । तर पछिल्लो पटक उनले मुख खोलेकी छैनन् । विद्याका अतिरिक्त सोमनाथ प्यासी, तुलबहादुर गुरुङ, श्रीनाथ वराल, धनराज आचार्य र भीम कार्की लगायतले टिकटमा रुची देखाएका छन् ।

कतिपयले जिल्ला इन्चार्ज राजकाजी गुरुङलाई टिकट दिनुपर्ने तर्क पनि अगाडि सारेका छन् । तर नेकपाबाट अहिलेसम्म विद्या र प्यासीमध्ये एक उठन सक्ने आंकलन भइरहेको छ ।
विद्यालाई चुनाव लडाउँदा सान्त्वना मत पनि प्राप्त हुने र सजिलै जित्न सकिने आंकलन पनि एकथरी नेकपाका नेताहरुको छ । प्यासीलाई चुनाव लडाएमा भने नेकपाले केही कानुनी प्रक्रिया पूरा गर्नुपर्ने देखिएको छ । प्यासी चुनावको समानुपातिक तर्फको उम्मेद्वर सूचिमा रहेका कारण उनको नाम पार्टी केन्द्रले त्यो सूचिबाट निर्वाचन आयोगबाट फिर्ता लिनुपर्ने हुन्छ । नत्र प्यासीलाई उम्मेद्वर बन्न कानुनी पाटोले छेक्ने छ । नेकपाका एक नेताले भने, –‘हामी पार्टीले दिएको समयावधिभित्रै सर्वसम्मत निर्णयका साथ पठाउछौं ।’

कांग्रेसमा भने भित्री झगडा चर्काे देखिएको छ । आकांक्षी बढी देखिएपछि र त्यसको व्यवस्थापन मिलाउन सकस परेपछि उम्मेद्वार चयन अगाडि नै काग्रेसलाई किचलो व्यवस्थापन मुख्य समस्याका रुपमा आइलागेको छ ।
कांग्रेसबाट आकांक्षी धेरै देखिएपछि केन्द्रमा तीन जनाको नाम सिफारिस गर्न आग्रह गरिएपनि १६ जनाको नाम सिफारिस भएको कांग्रेस कास्कीले जनाएको छ ।
सिफारिस भएकामा खेमराज पौडल, महादेव गुरुङ, सोभियतबहादुर अधिकारी, निर्मल कर्माचार्य, देवराज चालिसे, माधव बास्तोला‘मधु’, महासमिति सदस्य ऋषि काफ्ले, कृष्ण कार्कीसहित वीरेन्द्रनारायण विजुक्छे, गुरु बराल, विजय आचार्य, केशव निर्दोषी, लक्ष्मी पाण्डे, खेमकुमारी बराल, रंगिला आचार्य र विमला भण्डारी लगायतको नाम छ ।

यस अगाडि रविन्द्र अधिकारीसँग कांग्रेसले देवराज चालिसेलाई उम्मेद्वार बनाएको थियो । त्यसबेला चालिसेले १८ हजार ६६१ मत ल्याएका थिए । अधिकारीले २७ हजार २०७ मत ल्याएर विजयी बनेका थिए । चालिसेले आफूलाई एकपटक फेरि चान्स दिनुपर्ने तर्क पार्टीमा गरेका छन् ।
आकांक्षी बढी देखिएपछि र सरकारको अलोकप्रियता, नेकपाका नेताहरुको एकपछि अर्काे काण्डका कारण तैपनि चुनावमा बाजी पार्न सकिहालिन्छ की भन्ने ध्येयले कांग्रेसमा आकाक्षी बढेका हुन् । त्यसमाथी पार्टी केन्द्रले नै चुनावलाई जीवनमरणको विषय बनाउन चाहेकोले पनि सिंगो पार्टी नै चुनावमा लाग्ने हुँदा चुनाव जितिहालिन्छ की भन्ने धेरै कांग्रेसका आकाक्षी नेताहरुलाई लागेको छ ।
अहिले केन्द्रमा नाम सिफारिस भएका कांग्रेस नेताहरु केन्द्रीय नेताहरुलाई प्रभाव पारेर टिकट उछिट्याउनका लागि काठमाडौंमा आइपुगेका छन् । उनीहरु प्रभावशाली नेताहरुको घर दैलो चाहारिरहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस