ओली र प्रचण्डबीच बाहिर आएजस्तो विवाद छैन : पौडेल

सफल खबर संवाददाता

मंगलबार, ०५ कार्तिक २०७६, १६ : ३३
ओली र प्रचण्डबीच बाहिर आएजस्तो विवाद छैन : पौडेल

फाइल फोटो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य देवेन्द्र पौडेलले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको बीचमा भएको खटपट सामान्य भएको बताएका छन् । आफ्नाआफ्ना भिन्न सोच र शैलीका कारण केही असमझदारी भएको जस्तो देखिए पनि बाहिर मिडियामा आएको जस्तो विवाद दुइ अध्यक्ष बीचमा नभएको पौडेलले दावी गरे ।
मंगलबार संवाद चौतारीले राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता पौडेलले ओली र प्रचण्डको बीचमा अहिले विवाद भयो भने देशकै लागि दुर्भाग्य हुने बताए । ‘कार्यशैली, सोच र स्वभावका कारण केही विवाद भएको जस्तो देखिएको हो तर उहाँहरुको बीचमा कुनै गम्भिर मतभेद छैन्’ पौडलले भने । दुई नेताका बीचमा भएको सहमती कार्यान्वयन भएर नै अगाडि बढ्नु पर्ने पक्षमा सिंगो पार्टी रहेकाले केही असमझदारी भए पनि वार्ता र छलफलबाट नै समाधान गरिनु पर्ने उनले बताए ।

अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता पौडेलले अहिले नै नयाँ सभामुख कोहो भनेर चर्चा गर्नु हतारो हुने बताए । तत्कालिन सभामुखले नैतिकताका आधारमा राजिनामा दिएर अहिले अनुसन्धानको क्रममा रहेकाले अहिले नै नयाँ सभामुखको खोजी गर्न नहुने बताए । अब नयाँ सभामुख चयन गर्दा विधि र प्रक्रिया बमोजिम दलीय सहमतिका अधारमा चयन हुने पनि पौडलले बताए ।
सोही कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले सत्तारुढ नेकपाले यस अघि सभामुख र उपसभामुख चयन गर्दा बहुमतको दम्भका अधारमा संविधान मिचेर चयन गरेकाले अब भने नेपाली कांग्रेसले त्यस्तो प्रवृत्तीको सशक्त प्रतिवाद गर्ने बताए । संविधान बमोजिम सभामुख उपसभामुख फरक दल र  लिंङ्गको हुनपर्ने व्यवस्थालाई उलंघन गर्दै यस अघि नेकपाले झेली गरेको भन्दै विश्वकर्माले अब त्यो सम्भव नुहने बताए ।

अन्तसंवादमा बोल्दै विश्वकर्माले पछिल्लो समय माननीयहरुका बारेमा आएका समाचार निकै लज्जाको विषय भएको भन्दै संविधानभन्दा माथि कोही नभएकाले जुन सुकै ओहदाको भए पनि अपराधीलाई कानुन बमोजिम कारवाही गर्नु पर्नेमा कांग्रेस प्रतिवद्ध रहेको बताए । कांग्रेस सभापती देउवाले त अनुुसन्धानलार्इ नै प्रभावित हुने गरी सांसद आलमको पक्षमा अभिव्यक्ति दिनु भयो नि भन्ने प्रश्नमा विश्वकर्माले देउवाले बोलेका कुरा र समाचार बनाउँने कुरामा केही तादम्यता नमिलेर त्यसो हुन गएको हुन सक्ने भन्दै  पछि सभापतिले नै त्यसलाई खण्डन गरेर विज्ञप्ती जारी गरिसकेको स्मरण गराए । उनले कुनै पनि बाहनमा कांग्रेसले अपराधीको पक्षपोषण गर्न नसक्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस