सभामुख नहुँदा संघीय संसदका कामहरु रोकिए

सफल खबर संवाददाता

मंगलबार, ०५ कार्तिक २०७६, १६ : १२
सभामुख नहुँदा संघीय संसदका कामहरु रोकिए

काठमाडौं । प्रतिनिधिसभाका सभामुख नहुँदा संघीय संसदबाट पारित भएका विधेयकहरु प्रमाणित गर्ने काम नै रोकिएका छन् । 
संसद सचिवालयका कर्मचारीमाथि बलात्कार गरेको आरोपमा सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित पाँच वटा विधेयक प्रमाणिकरण गर्न राष्ट्रपति समक्ष पठाउने काम नै रोकिएको हो । 

सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्नुपर्ने भएकाले संसदबाट पारित गरिएको ती विधेयकहरु प्रमाणीकरणको काम पनि रोकिएको संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए । 

संवैधानिक व्यवस्था अनुसार सभामुखले दुवै सदनबाट पारित भएको विधेयक प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्नुपर्ने हुन्छ । तर सभामुख नहुँदा ती सबै कामहरु रोकिएको अवस्थामा रहेको पनि संसद सचिवालयले जनाएको छ ।

संघीय संसद सचिवालयले सभामुख पद रिक्त हुँदा प्रतिनिधिसभाका सांसदहरुको देश भित्र र बाहिर हुने औपचारिक कार्यक्रमहरु पनि रोकिएको स्पष्ट पारेको छ । प्रवक्ता पाण्डेले सभामुख नहुँदा प्रतिनिधिसभाका सांसदहरुले देशभित्र र बाहिर हुने औपचारिक कार्यक्रमहरु पनि रोकिएको बताए । त्यसैगरी सभामुख नहुँदा संसदीय समितिका बैठकहरु पनि अघि बढ्न सकेका छैनन् । सभामुखको निर्देशनमा बन्ने एजेन्डाका आधारमा मात्रै संसदीय समितिका कामहरु अघि बढ्नुपर्ने संवैधानिक व्यवस्था भएकाले सभामुखको अभावमा संसदीय समितिका गतिविधिहरु पनि ठप्प रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस