प्रचण्ड र नेपाललाई पेल्ने रणनीतिमा ओली

विगत सहमति सम्झौता कुनै कार्यान्वयन नगर्ने, आफै शसक्त र बलियो भएर जाने योजनामा ओली देखिएका छन्

सफल खबर संवाददाता

सोमबार, ०४ कार्तिक २०७६, ०७ : ५२
प्रचण्ड र नेपाललाई पेल्ने रणनीतिमा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीमा अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाललाई पेलेर जाने रणनीतिमा देखिएका छन् । पार्टी सचिवालयमा झण्डै अल्पमतमा रहेका ओलीले गत भदौ अन्तिम साता पार्टीका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र नेता वामदेव गौतमसँग नयाँ समझदारी गर्दै नेता माधव नेपाललाई एक्लाएका थिए ।
प्रचण्डलाई पार्टीको कार्यकारी अधिकार, खनाललाई उनको गुमेको वरिष्ठता र गौतमलाई विद्यान संसोधन गरेरै पार्टी उपाध्यक्ष र संगठन विभागको नेतृत्व् दिने गरि नयाँ समझदारी बनाएर आफू इतर पक्षमा बन्दै गएको वहुमत गठवन्धन भत्काउन सफल भएका ओलीले अहिले प्रचण्ड र नेपाललाई एक्लाउने रणनीतिमा लागेका हुन् ।
तत्काल पार्टी स्थायी समिति र केन्द्रीय समिति बैठक नबोलाउने र सचिवालयमा वामदेव र झलनाथको साथ लिएर प्रचण्ड र नेपाललाई पेलेर जाने रणनीतिमा ओली देखिएका हुन् ।
शुरुमा नेपाल र अहिले प्रचण्डलाई कमजोर बनाउने गरी ओली प्रस्तुत हुन थालेका छन् । प्रचण्डसँगको सहमति सम्झौता कार्यान्यनमा भन्दा ओली सहमति लत्याउने गरी केही दिन यता अगाडि बढ्न थालेका छन् ।

पूर्वमाओवादी खेमाका नेताहरुमाथि एकपछि अर्काे आक्रमण गर्दै प्रचण्डलाई कमजोर बनाउने र आफू शक्तिशाली बनिरहने योजनामा ओली लागेका छन् । त्यसका लागि उनले प्रचण्डलाई कार्यकारी अधिकार दिने समझदारी तोडेका मात्र छैनन्, पार्टी एकताका क्रममा पार्टीका महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जर्नादन शर्मा समेतलाई साक्षी राखेर गरेको सहमति समेत लत्याउने गरी अघि बढेका छन् ।

त्यसमा पनि उनले अहिले नयाँ समझदारी हुनुपर्ने र आफूलाई कसैले पनि लेखेटन नसक्ने भन्दै कडा टिप्पणी गर्न थालेका छन् । नेपालका दुई राष्ट्रिय दैनिक पत्रिकालाई आलोपालो गरी दिएको अन्तर्वार्तामा उनले प्रचण्ड र नेपालप्रति लक्षित गर्दै आलोचना गरेका छन् ।
खासगरी निवर्तमान सभामुख कृष्णवहादुर महरा प्रकरणपछि ओलीले पार्टी सचिवालयमा प्रचण्ड र नेपाललाई एक्लाउन अहिले अनेक तिकडम गर्न खोजेका छन् ।
नेकपाको ९ सदस्यीय सचिवालयमा झलनाथ खनाल, वामदेव गौतम, इश्वर पोखरेल र विष्णु पौडेललाई ओलीले आफ्नो पक्षमा टिकाउने र सकभर रामबहादुर थापालाई पनि आफैतिर तान्न प्रयास गर्ने योजनामा ओली देखिन्छन् ।

त्यसो गर्दा प्रष्ट बहुमत हुने ठानी ओलीले प्रचण्ड, माधव नेपाल र नारायणकाजी श्रेष्ठलाई मात्र एकातिर कित्तामा पारेर पेल्ने रणनीति अवलम्वन गर्न खोजेको देखिएका छन् ।

ओली पक्षको बुझाई गृहमन्त्री समेत रहेका सचिवालय सदस्य थापा आफूतिर नआएपनि बीचमा बस्न सक्ने बुझाईमा छन् । त्यही बुझाईका आधारमा ओली अहिले पार्टीका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले बोलेका सार्वजनिक अभिव्यक्तिलाई लिएर पनि दैनिक पत्रिकाको अन्तर्वार्तामा कडा असन्तुष्टि जनाउन थालेका छन् ।
ओलीको सिंगापुर उपचार भ्रमण अगाडी उनि नभएका बेलामा पनि प्रचण्डले पार्टी बैठक बोलाउने र आवश्यक निर्णय लिन सक्ने गरी सचिवालय बैठकले निर्णय गरेको थियो । सिंगापुरबाट फर्केपछि कार्यकारी अधिकार पार्टीको प्रचण्डलाई दिने र सरकारको नेतृत्वमा ओली सक्रीय हुने दुई अध्यक्षका बीचमा समझदारी बनेको थियो ।

तर ओलीले सिंगापुर भ्रमणपछि पनि त्यो समझदारी अनुसार जिम्मेवारी प्रचण्डमा दिनभन्दा सिनियर र जुनियर अध्यक्षको वहस गरेर सहमति अनुसार प्रचण्डलाई जिम्मेवारी दिन नचाहेपछि दुई अध्यक्षका बीचमा असमझदारी बढ्न खोजेको थियो ।

त्यसपछि ओली प्रचण्डमाथि पनि खनिन थालेका छन् ।

सोमबारको एक दैनिक पत्रिकालाई दिएको अन्तर्वार्तामा ओलीले प्रचण्डले पछिल्ला दिनमा दिएका दुई अभिव्यक्तिको खरो आलोचना गरेका छन् । प्रचण्डले नेपालका कम्युनिष्ट हरुले पाठ नसिके सोभयित संघमा जस्तै गल्यामगुल्म ढल्ने र नेकपालाई ग्याष्ट्रिक र अल्सर हुन खोजेको भन्दै आचरण सुधार्न जोड गरेका थिए ।

तर ओलीले सोमबारको एक दैनिक पत्रिकामा दिएको अभिव्यक्तिमा प्रचण्ड पनि पार्टी अध्यक्ष भएकोले त्यसको उपचारमा कति लागे, कति ट्यावलेट खुवाए भन्दै प्रचण्डप्रति तिखो आलोचनामा उत्रिएका थिए ।

ओली अहिले प्रचण्डलाई कार्यकारी अधिकार नदिने, विगतका सहमति पनि कार्यान्वयन नगर्ने, सभामुख पदमा पनि विगतको भागवन्डाका आधारमा पूर्व माओवादी पक्षलाई नदिने र संसदमा पारित हुन नसकेको एमसीसी प्रस्तावलाई पार्टीमा छलफल समेत नगराई अबको संसदबाट पारित गराउने जस्ता योजनामा छन् । यसले ओली प्रचण्ड सम्बधमा दरार उत्पन्न गर्न खोजेको छ ।

स्थायी समिति बैठक बोलाउँदा ओली सचिवालयमा प्रचण्ड र नेपाललाई एक्लाउने प्रयास गरेपनि स्थायी र केन्द्रीय समितिमा अल्पमतमा पर्ने भएपछि उनी बैठक टार्दै जान थालेका छन् । कात्तिक १७, १८ तिर स्थायी समिति बोलाउने भन्नेमा प्रचण्डको प्रस्तावमा ओली अझै मौन बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस