काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा हिजो शुक्रबार भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोलेको बोली २४ घण्टा नबित्दै फेरेका छन् ।
‘सबै अस्पष्टता र अन्यौल निवारणार्थ’ भनी शनिबार सभापति देउवाले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु ।’
‘नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा व्यक्त धारणाले उत्पन्न गरेको केही अन्यौल र अस्पष्टता चिर्न यो विज्ञप्ति जारी गरेको छु’ सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि गम्भीर मुद्दामा प्रकृयागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्बेषण गर्ने कार्यमा बाधा पुग्छ नै । १२ बर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ । तर कानुनी राज्यमा विश्वास गर्ने नेपाली कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन ।’
मोहम्मद आफताव आलममाथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई नेपाली कांग्रेसको सहयोग रहने विज्ञप्तिमा उल्लेख छ । ‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु’ विज्ञप्तिमा सभापति देउवाले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ कार्तिक २०७६, १६ : २६
लेखकबाट थप