विप्लवलाई अर्काे झट्का, आफ्नै दाजु समेत समातिए

मध्यपश्चिम कमाण्ड इन्चार्ज र राप्ती ब्यूरो इन्चार्जसहति २१ नेता दाङको जंगलबाट पक्राउ

सफल खबर संवाददाता

विहीबार, ३० असोज २०७६, ०९ : ३५
विप्लवलाई अर्काे झट्का, आफ्नै दाजु समेत समातिए

काठमाडौं । सरकारले प्रतिवन्धित घोषणा गरेका नेत्रविक्रम चन्द विप्लवलाई एकपछि अर्काे झट्का लाग्न थालेको छ । पार्टीका प्रभवशाली नेता हेमन्तप्रकाश वली पक्राउ परेपछि उनका विश्वासपात्र मानिएका आफ्नै दाजु समेत पक्राउ परेका छन् ।

विप्लवका दाजु चन्दबहादुर चन्द विरजंग दाङको जंगलबाट गएराती पक्राउ परेका छन् । उनी प्रतिवन्धित नेकपाका मध्यपश्चिम कमाण्ड इन्चार्ज हुन् ।

उनीसहित केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सुवास बाठा (केशबहादुर बाठा) मगर पनि पक्राउ परेका छन् । युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन पनि पक्राउ परेको नेकपा स्रोतले जनायो ।
उनीहरूलाई गएराति २ बजे दाङको नेपाल–भारत सिमामा पर्ने राजपुर गाउँपालिकाको वडा नम्बर ४ को जंगलबाट पक्राउ गरिएको दाङ प्रहरी प्रवक्ता विनोदविक्रम शाहले टेलिफोनमा बताए ।

प्रहरीले पक्राउ परेका विप्लवका दाजु सहितबाट उल्लेख्य मात्रामा हातहतियार र विस्फोटक पदार्थ पनि बरामद गरिएकोे दावी गरेको छ ।
पक्राउ परेकामा पार्टीका केन्द्रीय स्तरका नेता पनि रहेको बताइएको छ । असोज तेश्रो साता मात्रै नेकपाले पार्टी केन्द्रीय समितिको बैठक राखेर ६ महिने अभियान सञ्चालन गर्ने र अभियानकै क्रममा वर्गसंघर्ष चर्काउने समेतको निर्णय गरेपछि प्रहरीले पनि विप्लवका नेता कार्यकर्ताको खोजी कार्य तिव्र पारेको छ ।

ठूलो संख्यामा हातहतियारसहित नेकपाका नेता कार्यकर्ता नै लुकी बसेको सुराकका आधारमा प्रहरीले गएराती त्यस ठाउँमा छापा मारेको थियो । त्यही क्रममा उनीहरु पक्राउ परेको प्रहरीको भनाइ छ । 

उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय ल्याउने काम भइरहेको छ । ‘जिप्रका ल्याएर बयान लिएपछि थप नेता कार्यकर्ताको परिचय खुल्छ होला’, शाहले बताए । 

प्रतिक्रिया दिनुहोस