चितवन । पुतली २५ वसन्तमा टेकेकी छे । घरमा आएका विविध समस्यासँग जुध्न नसक्दा पुतली मनोरोगी हुन्छे । मनोरोगी भएकी पुतलीलाई घरका सदस्यहरुले हेला गर्छन् । राम्रोसँग उपचार गर्दिनन् । घरका सदस्यहरुको छिःछि र दुरःदुर सहन नसकी पुतली सडकमा पुग्छे ।
सडकमा कराउँदै, डुल्दै, कसैले केही दिएँ खाँदै गरेर पुतलीको दिनचर्या चल्छ । जब राति हुन्छ, पुतलीको सडक छेउमै बास हुन्छ । कुनै एक रात पुतली यौन पिपासुको नजरमा पर्छिन् । धेरैले उनको शरीर लुट्छन् । ऊ चिच्चाउँछे, कराउँछे तर उनको चित्कार यो समाज कसैले सुन्दैन । पुतलीलाई शरीरमाथि गिद्धे दृष्टि लगाउनेहरु दिनहुँ खेल्छन् ।
एकदिन पुतली सडकमै रोइरहेकी हुन्छिन् । कलेज पढेर आएकी सानुको मन पुतलीको जीवन देखेर धुरुक्कै रुन्छ । उनले प्रश्न गर्छिन्, ‘तपार्इंको नाम के हो ? तपाइँको घर, परिवार कहाँ छ ?
‘पुतली हो मेरो नाम, मलाई कसैले माया गर्दैनन्, सबैले पिट्छन्, शरीर लुट्छन् ।’ सानुले जफाव पाउँछिन् ।
सानुले पुतलीलाई समातेर आफ्नो घर लान्छिन् । सानुको आमा मनमायाले सानुलाई गाली गर्दै भन्छिन्, ‘छिछि, यो गन्हाएकी आइमाइलाई किन घर ल्याएकी, को हो ? जहाँबाट ल्याएकी हो, त्यहीँ लगेर छोडिदेऊ ।’
‘आमा उनको कोही छैन, सडकबाट ल्याएकी, अब हाम्रै घरमा बस्छिन्’ सानुले भनिन् । उनले यसो भन्दा आमा मनमाया रिसले चुर हुन्छिन् र भन्छिन्, ‘जहाँबाट ल्याएकी होस्, त्यही लगेर नछोडे, तलाइँ पनि घर बस्न दिन्नँ, बुझिस् ।’
मनमायाका छिमेकी हुन्छन् जिम्मल बा । उनले पनि मनमायालाई सडकमै लगेर छोड्न दबाब दिन्छन् ।
सानुले बाध्य भएर पुनः पुतलीलाई सडकमा लगेर छोड्छिन् । पुतलीको पुनः सडकमै बास हुन्छ, अनि फेरि उनीमाथि दानवी प्रवृत्ति देखिन्छ ।
समयको क्रमसँगै पुतली सडकमै गर्भवती हुन्छिन् । सडकमै उनलाई व्यथा लाग्छ । बच्चा जन्माउन नसक्दा सडकमै पुतलीको मृत्यु हुन्छ ।
पुतलीसँगै सडकमा मागेर खान पल्केको लाले पुतलीको मृत्युपछि धेरै बेर रुन्छ । पुतलीको मृत्युपछि घरमा राख्न नखोज्ने मनमाया, घरमा राख्न हुँदैन भन्ने जिम्मल बाको आँखा खुल्छ । सानु (जसले पुतलीलाई घर ल्याएकी थिइन्) पुतलीलाई अँगालो हालेर धेरैबेर रुन्छिन् ।
माथिको कथा मानव सेवा आश्रम भरतपुरले तयार पारेको ‘लौरो’ नामक सडक नाटकको हो । २० मिनेटको सडक नाटक आश्रमका साधक तथा अभियन्ता सुभास क्षितिजले लेखेका हुन् ।
‘पुतली प्रतिनिधि पात्र हुन्, उनीजस्ता धेरै नारीहरुले सडकमै गर्भवती भएर ज्यान गुमाएका छन्’ लेखक क्षितिजले भने, ‘कतैबाट पनि सेवाभाव नपाएकी पुतलीलाई मृत्युसम्म लैजाने अरु कोही नभएर हाम्रै समाज हो ।’
उक्त नाटक २ महिनादेखि विभिन्न ठाउँमा देखाइएको मानव सेवा आश्रम भरतपुरकी अभियन्ता रुपा केसीले बताइन् । उनले भनिन्, ‘सडक पेटीमा भएका मनोरोगी सहयोगापेक्षी व्यक्तिप्रति हरेक मानिसमा करुणा भाव दर्शाउन नाटक प्रस्तुत गरिएको हो ।’
नाटकमा पुतलीको भूमिकामा आश्रमकै अभियन्ता मनिसा खत्री, लालेको भूमिकामा उरविन सापकोटा, सानुको भूमिकामा सरस्वती गुरुङ, जिम्मल बाको भूमिकामा धिरज ठाकुर, नगरपालिकाको सरसफाइ कर्मचारीको भूमिका सुभास क्षितिज, मनमायाको भूमिकामा गंगा थापामगरले अभिनय गरेका मानव सेवा आश्रमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असोज २०७६, १७ : १०
लेखकबाट थप