पश्चिम नेपालमा बस्यो विप्लवको हेडक्वार्टर बैठक

गाँउका जनप्रतिनिधी र शहरका ‘दलाल’ व्यवसायीलाई तारो बनाउने गरी संघर्षका ठोस कार्यक्रम तय, वर्गसंघर्ष चर्काउने निर्णय

सफल खबर संवाददाता

सोमबार, २७ असोज २०७६, ०९ : ४५
पश्चिम नेपालमा बस्यो विप्लवको हेडक्वार्टर बैठक

काठमाडौं । सरकार चिनियाँ राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमणको तयारीमा रहेकै बेला प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव भने पार्टी बैठकमा व्यस्त बनेको खबर छ ।

उनले पार्टी हेर्डक्वाटरको बैठक बोलाएर पार्टीका केही कार्ययोजना बनाएको बुझिएको छ । बैठकमा नेताहरु विप्लव, प्रवक्ता खडकबहादुर विश्वकर्मा प्रकाण्ड, धर्मेन्द्र वास्तोला र सन्तोष बुढामगर सहभागी थिए ।

पश्चिम कमाण्ड अन्र्तगतको एक जिल्लामा बसेको हेर्डक्वाटर बैठक तीन दिनसम्म चलेको एक केन्द्रीय सदस्यले बताए । दशैंको अवसर पारेर मान्छेहरु चाडवाडमा केन्द्रीत हुने, सरकारी पक्ष पनि चाडवाड सुरक्षा र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारीमा जुट्ने भएपछि आफूहरुतिरको ध्यान कम केन्द्रीत हुने विश्लेषणका साथ नेकपाको हेर्डक्वार्टर बैठक बसेको स्रोतले बतायो ।

‘पार्टीले नयाँ केही अभियान ठोस गरेको छ,’ एक केन्द्रीय सदस्यले भने,–‘वर्गसंघर्षलाई ठोस गर्ने गरी अब पार्टीले केही कार्यक्रम बनाएको छ, अब क्रमशः त्यसको योजना अगाडि बढ्छ ।’

उनका अनुसार, पार्टीको यो पटक हेर्डक्वाटर बैठकमा नेताहरुले सरकारी प्रतिवन्ध यताको पार्टी गतिविधिको विहंगम छलफल भएको थियो ।

‘पार्टी नेता कार्यकर्ताको पक्राउ, सरकारी रणनीति, पार्टी रणनीति लगायतका विषयमा नेताहरुले गम्भिर छलफल भएको बताउनुभएको छ,’ ती नेताले भने,–‘छलफलपछि पार्टीले केही रणनीति बदल्नुपर्ने, वर्गसंर्घष केन्द्रीत केही ठोस कार्यक्रम बनाउनु पर्ने निश्र्कष निकालेको र त्यही अनुसारको योजना बनाएको जानकारी आएको छ ।’

यद्यपी उनले पनि चार नेताको मात्र बैठक भएकोले सम्पूर्ण योजना र विश्लेषण पार्टीको तल्लो कमिटिमा आई नपुगिसकेको बताए ।
‘अब आउँला केन्द्रीय समितिमा त्यसको प्रारुपहरु, त्यसपछि मात्र कसरी जाने भन्ने टुंगो लाग्छ,’ उनले भने ।

खासगरी वर्गसंर्घष अब केन्द्रीत गर्ने तिर नेताहरुले जोड गरेको आफूले पाएको उनले बताए । यसको अर्थ चन्द नेतृत्वको पार्टीले एनसेल, म्यानपावर व्यवसायी देखि गाउँ स्तरका केही कारवाहीलाई ठोस कार्ययोजनामा समेटेको हुन सक्ने उनले बताए ।

स्थानीय स्तरमा भष्टाचार मौलाएको, जनप्रतिनिधीका नाममा चर्काे भष्टाचार भएको र त्यसका विरुद्ध तलबाट पनि अब पार्टीले आफ्नो निसाना केन्द्रीत गर्नुपर्ने विषयमा बैठकमा छलफल केन्द्रीत भएको उनले बताए ।
‘यसको मतलव अब स्थानीय जनप्रतिनिधीमाथि पनि पार्टीको निगारानी, हस्तक्षेप बढ्न सक्छ,’ ती केन्द्रीय सदस्यले बताए । चन्दको पार्टीले स्थानीय जनप्रतिनिधीदेखि शहरका उनीहरुकै भाषामा ‘दलाल’ हरुमाथि आक्रमणको योजना बनाएको हुन सक्ने अनुमान गर्न थालिएको छ ।

पार्टी बैठकका समसामायिक राजनीतिक निर्णयका विषयमा भने महासचिव विप्लवले एउटा वक्तव्यमार्फत सार्वजनिक गर्ने तयारी पनि भएको छ । 
पार्टीको पछिल्लो राजनीतिक धारण सहितको वक्तव्य आज भोलि तिर आउँदैछ, ती नेताले भने । 

प्रतिक्रिया दिनुहोस