लिने होइन त जलदेवीमा जिपलाईनको मज्जा ?

सफल खबर संवाददाता

शुक्रबार, १७ असोज २०७६, १६ : २३
लिने होइन त जलदेवीमा जिपलाईनको मज्जा ?

–  अजय गोर्खाली    
चितवन । तपाईं चितवनवासी हुनुहुन्छ र यो दशैं, तिहारमा कहाँ गएर कसरी रमाउने भन्ने सोच्दै हुनुहुन्छ भने भरतपुर–२, आँपटारीमा जानुहोस् र साहसिक खेलको मज्जा लिनुहोस् । चितवनवासी मात्र नभई बाहिरबाट आउनेलाई पनि सजिलो छ । नारायणगढ–मुग्लिन सडक खण्डको छेउमै छ, जिपलाईन खेल्ने ठाउँ र यो दशैं, तिहारका लागि मात्र नभई अब वर्षाैं वर्षसम्म यहाँ जिपलाईन सञ्चालनमा आउने बताइएको छ ।

जलदेवी सामुदायिक वन उपभोक्ता समूहले गत असोज १ गतेबाट चितवनमै पहिलोपटक जिपलाईन सञ्चालनमा ल्याएको हो र सामुदायिक वनमा नेपालमै पहिलोपटक जलदेवीले नै जिपलाईन सञ्चालनमा ल्याएको समूहका अध्यक्ष केशवबहादुर थापा बताउँछन् । ९५ मिटर, ८५ मिटर र १२५ मिटर दूरीका लागि अलग–अलग शुल्क निर्धारण गरिएको छ । रु. ५०० मा ९५ मिटर र ८५ मिटरको दुईवटा दूरी तय गर्न सकिनेछ । १२५ मिटरका लागि ६०० रुपैयाँ शुल्क तोकिएको छ भने तीनैवटा दूरीका लागि ९०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । ठूला मान्छेका लागि मात्र नभई बच्चाका लागि समेत यहाँ जिपलाईन सञ्चालनमा ल्याइएको छ, जसको दूरी ४० मिटरको रहेको छ भने शुल्क जम्मा १०० रुपैयाँ रहेको छ । नेपाल आर्मीमा छँदा माउन्टेन वारफेर गरेका मोहन आले प्रशिक्षकको रुपमा रहेका छन् । अहिले दैनिक २०–३० जना जिपलाईन खेल्न आउने गरेको आलेले बताए । 


बच्चालाई साहसी, निडर बनाउन यो खेलले सघाउने बताउँदै जलदेवी जिपलाईन इको एड्भेन्चरका भिडियो टिम को–अर्डिनेटर विष्णुकान्त घिमिरे भन्छन्, ‘उचाइसँगको मान्छेहरुको डरलाई यसले कम गराउँछ, हाइटसँग डर होइन कि इन्जोय गर्न सिकाउँछ ।’

अब छिट्टै २२५ मिटरको थप जिपलाईन सञ्चालनमा ल्याउने तयारी भइरहेको वन समूहका अध्यक्ष केशवबहादुर थापाले बताए । तीन वर्ष अघिदेखिको आफूहरुको कन्सेप्ट अहिले कार्यान्वयनमा आएको बताउँदै अध्यक्ष थापाले भने, ‘यो अष्ट्रियाको प्रविधि हो । नेटमा हेर्दा थाइल्याण्डमा सञ्चालित जिपलाईनबाट हामी प्रभावित भयौं । अरु–अरु देशमा सिमेन्टेड गरेर पर्खाल लगाएर जिपलाईन सञ्चालित छ तर थाइल्याण्डमा रुख–रुखमै जिपलाईन सञ्चालित भएको देखेपछि हामीले पनि हाम्रो वनमा रुख–रुखमा जिपलाईन सञ्चालन गर्ने कन्सेप्ट बनायौं’, उनले थपे, ‘आम उपभोक्तासँग छलफल गरेर, साधारणसभाबाट पास गराई, जिल्ला वनबाट अनुमति लिएर, भरतपुर महानगरपालिकालाई कर तिरेर यो जिपलाईन सञ्चालनमा ल्याएका हौं ।’


यो व्यक्ति विशेषलाई धनी बनाउन नभई समूह, समुदाय र राज्यलाई धनी बनाउन सञ्चालन गरिएको उनले बताए । ‘अहिले प्रत्यक्ष रुपमा ८/१० जनाले रोजगारी पाएका छन् । अब प्रत्यक्ष रुपमै १४/१५ जनाले रोजगारी पाउनेवाला छन् । अप्रत्यक्ष रुपमा ५०/६० जनाले रोजगारी पाउनेछन्, मान्छेहरु आउने–जाने भीड भइसकेपछि कोहीले मकै पोलेर, कसैले चटपट, काँक्रो बेचेर, कोहीले फलफूल, पानी बेचेर पनि आम्दानी गर्न सक्नेछन्’, अध्यक्ष थापा भन्छन्, ‘यसलाई सफल बनाउन चुनौती पनि ठूलै छ तर हामी त्यसलाई पार गर्न सक्छौं भनेर लागिराछौं ।’ 

विदेशी पर्यटक पनि आफूहरुको लक्ष्य रहेको बताउँदै त्यसका लागि सौराहा र ठमेलका विभिन्न होटलहरुसँग कन्ट्याक्ट गर्दै रहेको उनले बताए । सार्क राष्ट्रका पर्यटकका लागि रु. २००० र अन्य बाहिरी राष्ट्रका पर्यटकका लागि रु. ३००० शुल्क निर्धारण गरिएको उनले जनाए । सन् २०२० मा २० लाख पर्यटक भिœयाउने नेपाल सरकारको जुन लक्ष्य छ,  यहाँ आउने पर्यटकहरुको मनोरञ्जन र उनीहरुको बसाइँ लम्ब्याउन यसले केही टेवा पु¥याउने  उनी बताउँछन् । 

जलदेवी पार्क एवम् पिकनिक स्पटसँगै सञ्चालनमा रहेको छ जिपलाईन । अब यहाँ जिपलाईन जस्तै ट्रि क्लाइम्बिङ जस्ता अन्य साहसिक खेल पनि सञ्चालनमा ल्याइने अध्यक्ष थापाले बताएका छन् । पहिले यहीँ पोखरीमा बोटिङ पनि सञ्चालनमा थियो, अहिले रोकिएको छ, अब छिट्टै त्यो पनि सञ्चालनमा ल्याइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस