आठ वर्षको प्रयासपछि नेपाल बन्यो खुल्ला दिसामुक्त राष्ट्र

सफल खबर संवाददाता

सोमबार, १३ असोज २०७६, १५ : ०१
आठ वर्षको प्रयासपछि नेपाल बन्यो खुल्ला दिसामुक्त राष्ट्र

काठमाडौं । आठ वर्षको लामो प्रयासपछि नेपाललाई आजदेखि खुल्ला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ ।

नेपाल सरकारले काठमाडौँमा सोमबार एक भव्य कार्यक्रम गरी नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा फहराउनुका साथै आतिसबाजी गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालका लागि ऐतिहासिक पहल भएको बताए ।

कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले यसै आर्थिक वर्षभित्र नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने सरकारको नीति तथा कार्यक्रम र लक्ष्य पुरा भएको बताइन् ।

युएनलगायतका प्रतिनिधिहरुले सरसफाइमा नेपाल सरकारले गरेको तीव्र प्रगतिको सराहाना गरेका थिए ।

घोषणा कार्यक्रममा मन्त्री मोहम्मद इस्तियाक राई, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा।सुरेन्द्र यादव, प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। पुष्प कँडेललगायतले नेपाल खुला दिशामुक्त क्षेत्र घोषणा गरेर उदाहरणीय काम गरेको बताएका थिए ।

मन्त्री मगरले  २०६८ सालमा सुरु भएको सरसफाइ गुरुयोजनासँगै खुला दिसामुक्त क्षेत्र घोषणा अभियानले व्यापकता पाउँदै नेपाल नै खुला दिसामुक्त राष्ट्र हुन पुगेकोमा खुसी व्यक्त गरिन् ।

देशका ५६ लाख ६० हजार २ सय १४ घरधुरीहरुमा शौचालयहरु बनिसकेका छन् ।

‘अहिले नेपालका करिब सबै घरधुरीहरुमा सरसफाइको आधारभूत सुविधा एवं शौचालयको पहुँच पुगेको छ । देशका ७७ वटै जिल्लाहरु खुला दिसामुक्त भईसक्दा हामीले अपेक्षा गरेको लक्ष्य हासिल गरेका छौं,’ खानेपानी मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यले बताएका छन् ।

सरकारले सन् २०११ सालबाट हरेक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न सुरु गरेको थियो । सोही अभियान अन्तरगत सबैभन्दा पहिला कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।

अभियानमा सबै राजनीतिक दल, पेशा र व्यवसायमा संलग्न रहेकाले पनि देशलाई नै खुला दिसामुक्त घोषणा गर्न सक्ने अवस्थामा आइपुगेको खानेपानी मन्त्रालयको भनाइ छ । खुला दिसामुक्त राष्ट्र घोषणा भएसँगै सरसफाइ अभियानलाई तीव्रता दिने सरकारको योजना छ ।

कार्यक्रममा सम्बोधन गर्दै कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशमा पनि सवै घरमा शौचालय बनाएको भन्दै राउटे समुदायका लागि भने स्थायी शौचालय बनाउन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस