क्यानको अध्यक्षमा चतुरबहादुर चन्द विजयी

सफल खबर संवाददाता

शनिबार, ११ असोज २०७६, १६ : १२
क्यानको अध्यक्षमा चतुरबहादुर चन्द विजयी

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको अध्यक्षमा चतुरबहादुर चन्द विजयी भएका छन् । शनिवार सम्पन्न क्यानको निर्वाचनबाट उनी विजयी भएका हुन् । शुक्रबार उद्घाटन भएको क्यानको साधारण सभामा शनिवार नयाँ कार्यसमितिका लागि मतदान भएको थियो । 

उनले अर्का उम्मेदवार विनयराज पाण्डेलाई २९ मतान्तरले पराजित गरे । निर्वाचनमा खसेको ५९ मत मध्ये चन्दले ४४ मत पाउँदा पाण्डेले १५ मत पाएका थिए । 

सचिवमा अशोकनाथ प्याकुरेल विजयी भएका छन् भने कोषाध्यक्षमा रोशन बहादुर सिंह, राजुबाबु श्रेष्ठ विजयी भएका छन् ।

५९ जना मतदाता रहेको क्यानको १७ सदस्यीय कार्यसमितिमा १ जना महिला अनिवार्य भएकाले प्रतिनिधि आएकी जयन्ती भट्ट पहिला नै निर्विरोध भएकी थिइन् । बाँकी १६ सदस्यीय कार्यसमितिका लागि २९ जनाको उम्मेद्वारी परेको थियो । जसमध्ये प्रदेश सदस्यको लागि प्रदेश २, गण्डकी, प्रदेश ५,  कर्णाली र सुदूरपश्चिम प्रदेशबाट एक एक जनाको उम्मेद्वारी परेकाले उनीहरु निर्विरोध चयन भएका छन् ।

प्रदेश २ बाट मोहम्मद दाउद अन्सारी, गण्डकीबाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रशान्त विक्रम मल्ल, कर्णालीबाट पदम बहादुर खड्का र सुदूरपश्चिमबाट विक्रम विष्ट प्रदेश सदस्यमा निर्विरोध भएका हुन् ।

प्रतिक्रिया दिनुहोस