कसले जित्ला क्रिकेट संघको अध्यक्ष ?

अध्यक्षका लागि पाण्डे र चन्द भिड्दै,  क्यानको अन्तराष्ट्रिय निलम्वन फुक्ने अपेक्षा

सफल खबर संवाददाता

शुक्रबार, १० असोज २०७६, १४ : १५
कसले जित्ला क्रिकेट संघको अध्यक्ष ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षका लागि विनयराज पाण्डे र चतुरबहादुर चन्द प्रतिस्पर्धामा छन् । क्यानको आज र भोलि हुने साधारणसभाबाट नयाँ कार्यसमिति चयन हुन लागेको हो ।
 
निर्वाचनमा दुईजनाले नेतृत्वको लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । अध्यक्षका प्रत्यासी पाण्डे क्यानका पूर्व अध्यक्ष समेत हुन् । चन्द भने क्यानका उपाध्यक्ष भइसकेको व्यक्ति हुन् । चन्द कांग्रेस वैतडीका नेता पनि हुन् । 

२०७२ मा भएको क्यानको अधिवेशन निष्पक्ष र पारदर्शी नभएको भन्दै त्यसबेलाको क्यान नेतृत्वलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मान्यता दिएको थिएन । पछि राखेपले रमेश सिलवालको अध्यक्षमा क्यानको नयाँ तदर्थ समिति गठन गरेपछि विवादले उग्ररुप लिएको थियो ।

विवादपछि आईसीसीले सरकारी हस्तक्षेप र क्यान निर्वाचन निष्पक्ष नभएको भन्दै ०७३ मा प्रतिवन्ध लगाएको थियो । त्यही क्यानको प्रतिवन्ध अहिले फुकुवा नजिक छ ।
साधारण सभाका लागि जिल्लाबाट ३९ र प्रदेशबाट २० गरी ५९ प्रतिनिधिले १७ सदस्यीय क्यानको केन्द्रीय कार्यसमितिका लागि मतदान गर्दैछन् । लामो समयदेखि क्यान अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट निलम्वनमा छ । यो निर्वाचनबाट क्यान निलम्वन फुकुवाको बाटो खुल्ने ठानिएको छ । 
 

प्रतिक्रिया दिनुहोस