चितवनमा ५३ हजार मेट्रिक टन केरा उत्पादन, १ अर्ब ३५ करोडको कारोबार

उर्गेन तामाङ

शुक्रबार, ०३ असोज २०७६, १५ : ४६

- उर्गेन तामाङ

चितवन । चितवनमा एकै वर्ष ५३ हजार मेट्रिक टन केरा उत्पादन भएको छ । १ अर्ब ३५ करोडको वार्षिक कारोबार भएको छ । 

चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोका अनुसार आर्थिक वर्ष २०७५।७६ मा जिल्लामा ५३ हजार मेट्रिक टन केरा उत्पादन भएको हो । केरा बिक्री गरेर किसानले यस वर्ष मात्रै ३० करोड रुपैयाँ बचत गर्न सफल भएको अध्यक्ष महतोले बताए । 

चितवनमा २०५१ सालबाट व्यावसायिक रुपमा सुरु भएको केराखेती अहिले ३ हजार बिघामा फैलिएको छ । केराखेतीमा ७ सय कृषक आवद्ध छन् । यसअघि आव २०७४।७५ मा २ हजार ७ सय बिघामा केराखेती भएको थियो । किसानको बगानमै केरा प्रतिकोसा २ रुपैयाँदेखि ६ रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । 

पूर्वी चितवनबाट सुरु भएको केरा व्यवसाय जिल्लाभर फैलिँदै गइरहेको छ । हरेक वर्ष कृषक, क्षेत्रफल, उत्पादन र कारोबार पनि बढिरहेको छ । अहिले भरतपुर महानगरपालिका, कालिका नगरपालिका, खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका, माडी नगरपलिका लगायतका विभिन्न स्थानमा केराखेती फैलिएको छ । 

पछिल्लो समय महानगरको जगतपुर, मेघौली क्षेत्र, पूर्वी चितवनको झुवानी, कुमरोजमा केराखेती बिस्तार भइरहेको छ । जिल्लामा सबैभन्दा बढी पदमपुरमा ८ सय बिघामा केराखेती भइरहेको छ । रत्ननगर नगरपालिकामा ७ सय बिघा, चैनपुरमा ३ सय बिघा, जुटपानीमा पनि ३ सय बिघा र ठिमुरामा १ सय बिघामा व्यावसायिकरुपमा केराखेती भइरहेको केरा उत्पादक संघका अध्यक्ष महतोले बताए । ३ हजार बिघामध्ये ५ सय बिघामा हरियो केरा उत्पादन हुन्छ भने बाँकी क्षेत्रफलमा मालभोग जातको पहेँलो केरा लगाइएको छ । 

एकतिहाई उत्पादन चितवनमै

नेपालमा उत्पादन हुने केरामध्ये एक तिहाईभन्दा बढी चितवनमै उत्पादन हुने गरेको तथ्यांकमा उल्लेख छ । नेपालमा कुल मागको ४० प्रतिशतमात्रै केरा उत्पादन हुने गरेको छ । मागको ६० प्रतिशत भने भारतबाट आयात हुने गर्छ । नेपालमा उत्पादन हुने ४० प्रतिशतमध्ये १५ प्रतिशत चितवनमै उत्पादन हुने गरेको अध्यक्ष महतोले बताए । 
उत्पादन भएको १५ प्रतिशतमध्ये पनि ८ प्रतिशत चितवनमै खपत हुन्छ, बाँकी ७ प्रतिशत मुलुकका अन्य बजारमा जाने गर्छ । चितवनमा उत्पादन हुने केराको मुख्य बजार काठमाडौँ हो । नारायणगढ, हेटौँडा, पोखरा, बुटवल, बाग्लुङ, बेनी, दाङसम्म व्यापारीले केरा लैजाने गर्दछन् । अन्य बालीको तुलनामा केराखेतीमा बढी मुनाफा हुने भएपछि कृषकहरु केरा खेतीतर्फ आकर्षित हँुदै गइरहेका छन् । 

हरेक वर्ष चितवनमा केराखेती बिस्तार भइरहेको छ । चितवनसँगै मुलुकका अन्य जिल्लामा पनि केराखेती बिस्तार भएको पाइन्छ । चितवनबाट गोरखा, लमजुङ, तनँहु, काभ्रेहुँदै जाजरकोटसम्मका किसानले केराको गानो लैजाने गरेका छन् । यसवर्ष २ लाख केराको गानो बिक्री भएको छ । कृषकले प्रतिगानो २० रुपैँयामा बिक्री गर्छन् । 

स्थायी बजारको अभाव

केराको स्थायी बजार छैन । उत्पादन भएको केराको मूल्य राम्रै भए पनि अस्थायी बजारका कारण ढुक्क हुने अवस्था छैन । विचौलियाका कारण किसानले उपयुक्त मुल्य पाउन सक्दैनन् । अर्कोतर्फ भारतिय बजारले प्रत्यक्ष प्रभाव पारिरहेको छ । सरकारले किसानले उत्पादन गरेको केरा बजारको ग्यारेन्टी गर्न सके केरा उत्पादन थप बढ्न सक्ने व्यवसायीको भनाई छ । 

केरालाई बजारसम्म पुर्याउन केरा उत्पादक संघले पनि पहल गर्ने गरेको छ । केरा व्यवसायी र केरा कृषकबीच बेलाबेलामा छलफल गर्ने, समन्वय गर्र्नेे गरेको संघले जनाएको छ । कहिले व्यापारी कृषकको बगानमै पुग्छन् भने केही कृषक आफैले बजारमा लगेर बेच्ने गरेका छन् । 

केराखेतीको सुरुवात 

जानकारहरुका अनुसार चितवनमा २०५१ सालबाट कृषकहरुले व्यावसायिक रुपमा केराखेती सुरु गरेका हुन् । थोरै थोरै परिमाणमा भए पनि केरा व्यवसाय गर्ने कृषकको संख्या बढ्दै गयो । कृषकको संख्या बढ्दै गएपछि २०६२ सालमा पूर्वी चितवन केरा व्यवसायी समिति नामको संस्था स्थापना भयो । उक्त समितिले पूर्वी चितवनका केरा व्यवसायीलाई मात्रै समेटेको थियो । 

हरेक वर्ष कृषकको आकर्षण बढ्दै जाँदा केरा व्यवसाय बिस्तारै जिल्लाभर बिस्तार हुँदै गयो । त्यसपछि जिल्लाका सबै केरा व्यवसायीलाई समेट्ने गरी २०७१ सालमा चितवन केरा उत्पादक संघ गठन भयो । सोही वर्ष जिल्ला प्रशासन कार्यालयमा बैधानिक रुपमा संघ दर्ता भएको थियो । 

संघमा अहिले जिल्लाका ठुला, साना सबै केरा उत्पादक कृषकहरु आवद्ध छन् । संघ दर्ता भएपछि कृषकहरुले संगठित रुपमा व्यवसायको सम्भावना, चुनौती, समस्या लगायतका विविध विषयमा छलफल, बहस गर्न थाले । त्यसपछि केरा व्यवसायतर्फ कृषकहरु थप आकर्षित हुन थालेको पाइन्छ । 

प्रतिक्रिया दिनुहोस