इन्द्रजात्रा आज, काठमाडौंमा सार्वजनिक विदा

सफल खबर संवाददाता

शुक्रबार, २७ भदौ २०७६, ०८ : ०६
इन्द्रजात्रा आज, काठमाडौंमा सार्वजनिक विदा

फाईल फोटो

काठमाडौं । आज इन्द्रजात्रा । काठमाडौं उपत्यकामा सरकारले सार्वजनिक विदा दिएको छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाइदै आईएको छ ।

यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्छ ।

जात्राका अवसरमा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो ।

राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्धी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ । 

यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ ।

प्रतिक्रिया दिनुहोस