काबुल । तालिबान लडाकू समूहले अफगानिस्तानमा अमेरिकी सेनाबिरुद्धको लडाई जारी राख्ने चेतावनी दिएको छ ।
संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अफगानिस्तानमा सशस्त्र संघर्षरत तालिबानसँगको शान्ति वार्ता “मृततुल्य“ भएको बताएपछि तालिबानको सो भनाई आएको हो ।
तालिवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले अफगानिस्तानमा तालिबानको कब्जा अन्त्य गर्ने दुई तरिकाहरु भएका जिहाद लडाई र अर्को वार्ता भएको एएफपी समाचार समितिलाई बताएका छन् ।
‘यदि ट्रम्प वार्ता रोक्न चाहन्छन् भने हामी पहिलो तरिका अपनाउँछौं र उनीहरूले चाँडै नै पश्चाताप गर्नेछन्’ मुजाहिदले बताएका छन् ।
तालिबानको उक्त विज्ञप्ति १८ वर्ष भन्दा बढी समयदेखि जारी अफगान युद्धको अन्त्यका लागि हुने वार्ता अमेरिकी राष्ट्रपतिले रद्द गर्नु भएपछि आएको हो ।
ट्रम्पले शनिबार ट्वीटमार्फत क्याम्प डेभिडमा अफगानिस्तानका राष्ट्रपति र तालिवान नेताहरूसँग आइतबार हुने भनिएको गोप्य बैठकहरु रद्द भएको घोषणा गर्नु भएको थियो ।
ट्रम्पले सोमबार ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै अफगानिस्तानमा सशस्त्र संघर्षरत तालिबानसँगको शान्ति वार्ता “मृततुल्य“ भएको बताउनु भएको थियो ।
तालिवानको कब्जामा एक जिल्ला
उत्तरी अफगानिस्तानको तखार प्रान्तको याङगी काला जिल्ला तालिबान लडाकू समूहले कब्जामा लिएको स्थानीय एक अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।
विगत २४ घण्टासम्म निरन्तर रुपमा तालिबानले आक्रमण गरेपछि याङ्गी काला जिल्लाको मुख्यालय मंगलबार बिहान नै कब्जा गरेको बताइएको छ ।
यसैबीच, तखारको प्रान्तीय सरकारका प्रवक्ता मोहम्मद जावद हजारीले सिन्ह्वालाई याङगी काला जिल्लाको अवस्था जानकारी दिन सम्पर्क गर्नु हुँदै छोटो उत्तरमा पतन भएको जानकारी दिनु भएको छ । तर थप विवरण दिन भने उहाँले अस्वीकार गर्नु भएको छ ।
दुई दिनअघि याङ्गी काला जिल्लामा आक्रमण गर्न लागेका तालिबान लडाकू समूहले १८ लडाकू गुमाएको बताएका थिए ।सो कब्जाको क्रममा तालिबानका प्रमुख कमाण्डर मौलावी इमामुदीनसहित १८ जनाको ज्यान गएको छ । तखार र छिमेकमा पर्ने प्रान्त कुन्दुज र बाघलानमा समेत सक्रिय रहेका तालिबान लडाकू समूहले यस विषयमा केही टिप्पणी गरेका छैनन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २४ भदौ २०७६, १५ : १४
लेखकबाट थप