मंसिर १४ बाट बाघ गणना गरिने

बुधबार, २९ कार्तिक २०७४, १३ : ३५
मंसिर १४ बाट बाघ गणना गरिने

 

आगामी मंसिर १४ गतेबाट नेपालका संरक्षित क्षेत्रहरुमा बाघ गणना गरिने भएको छ । निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार क्यामरा ट्यापिङ पद्धतिद्वारा बाघ गणना गरिने भएको हो ।

करिब दुई हजार अत्याधुनिक प्रविधिका क्यामरा जडान गरी क्यामराले कैद गरेका तस्वीरको अध्ययन गरेर बाघ गणना गरिने उहाँले बताउनुभयो । पर्सा वन्यजन्तु आरक्षबाट गणना शुरु गरिने उहाँले जानकारी दिनुभयो । पर्सा, चितवन हुँदै करिब तीन महिनाको अवधिमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म पुगेर बाघ गणना सम्पन्न गरिने लक्ष्य रहेको छ ।

बाघ रहेका नेपालका निकुञ्ज, आरक्ष, वन क्षेत्र र तीसँग जोडिएका भारतीय निकुञ्ज एवं वन क्षेत्रमा एउटै प्रक्रियाबाट एकैपटक बाघ गणना गरिने उहाँले जानकारी दिनुभयो ।

नेपाल र भारतका सीमा क्षेत्रमा रहेका बाघ नदोहोरिने गरी गणना गरिने भएको छ । खड्काका अनुसार बाघले आफ्नै क्षेत्र निर्धारण गरेर बस्ने गर्छ । कतिपय बाघ नेपाल र भारतका वन क्षेत्रमा मात्रै रहने भए पनि कतिपयले सीमा क्षेत्रमा दुवै देशको वन क्षेत्रलाई आफ्नो क्षेत्र बनाई बसेकाले दुवै देशमा एकैसाथ गणना गर्दा बाघको संख्या नदोहोरिने खड्काले बताउनुभयो ।

यसअघि पनि दुवै देशमा एकैसाथ बाघको गणना गरिएको थियो तर प्रविधि पनि एउटै प्रयोग गर्न लागिएको यो पहिलो पटक हो । नेपालको चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षसँगै भारतको वाल्मीकि टाइगर रिजर्ब छ ।

नेपालको बर्दिया राष्ट्रिय निकुञ्जसँगै भारतको कतर्नियाघाट वाइल्डलाइफ सेन्चुरी पर्छ । त्यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग भारतको दुधुवा टाइगर रिजर्ब जोडिएको छ । दुवै देशको निकुञ्ज, आरक्ष र वन क्षेत्रमा बाघ ओहोरदोहोर गर्ने गर्ने हुँदा के कति बाघ ओहोरदोहोर गर्छन् भन्ने यकिन गर्न पनि योपटक दुवैतर्फ एकैपटक बाघ गणना गर्न लागिएको हो ।

यस अघि नोभेम्बर दोस्रो साताबाट बाघ गणना थालिने भनिए पनि निर्वाचनका कारण टुंगो लाग्न सकेको थिएन । सरोकारवालाहरुको बैठकले निर्वाचनको दिन बाहेक अरु अन्य दिनमा काममा अवरोध नहुने देखिएपछि निर्वाचन अघि नै गणना शुरु गर्न लागिएको हो ।

महानिर्देशक खड्काले निर्वाचनको दिनमा पनि क्यामरा जडान गरेर निर्वाचनमा सहभागी हुन जान सकिने भएकाले गणनालाई नरोकि अघि बढाउने निर्णय गरिएको बताउनुभयो ।

गणना कार्यमा विश्व वन्यजन्तु कोष, जेडएसएल, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेना, निकुञ्ज अन्तर्गतका कर्मचारी, मध्यवर्तीका संरक्षणकर्मी लगायतको सहभागिता रहने छ । गणनाका लागि तीन करोडभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।

नेपालमा सन् २०१३ मा बाघको गणना भएको थियो । त्यो बेला देशभर बाघको संख्या १९८ पुगेकामा चितवन निकुञ्जमा मात्र सबैभन्दा धेरै १२० बाघ थिए ।

चितवन निकुञ्जबाहेक पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा निकुञ्जमा बाघ पाइन्छ । पाटे बाघ विश्वबाट लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो ।

सन् २०१० मा बाघ पाइने विश्वका विभिन्न देशका सरकारी अधिकारीको रुसमा सम्पन्न बैठकले सन् २०२२ सम्म बाघको संख्या दोब्बर पु¥याउने निर्णय गरेको थियो । जसअनुसार सन् २०२२ मा नेपालमा बाघको संख्या २५० पुग्नु पर्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो ।

पाटे बाघ नेपालसहित संसारका १४ देशमा पाइन्छ । नेपाल, भारत, चीन, बंगलादेश, भुटान, बर्मा कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, उत्तर कोरिया, रुस, थाइल्याण्ड र भियतनाममा हाल लगभग तीन हजार ९०० बाघ रहेको तथ्यांक छ ।

क्यामेरा ट्यापिङमार्फत बाघको संख्या यकिन गर्ने गरिन्छ । बाघ ओहोरदोहोर गर्ने सम्भावित ठाउँमा स्वचालित क्यामेरा राखिन्छ । बाघ जहाँबाट हिँडडुल गर्छ त्यो क्षेत्रमा दुईतर्फ क्यामेरा राखिन्छ । त्यो क्यामेराको अगाडिबाट बाघलगायत जे गए पनि स्वचालितरुपमा फोटो खिचिन्छ ।

निश्चित समयपछि क्यामेराको फोटो झिकेर विश्लेषण गर्ने काम हुन्छ । बाघको छालाको पाटा मान्छेको औँला छापजस्तो एकअर्कासँग मिल्दैन । त्यसैले फोटोमा छालाको पाटा हेरेर संख्या अनुमान गरिने कँडेलले बताउनुभयो ।

पछिल्लो समय चोरीशिकारीमा भएको कमी, आहारा प्रजातिका वन्यजन्तुको संख्यामा भएको वृद्धि, वासस्थानमा व्यवस्थापनमा भएको सुधारका कारण बाघको संख्या बढ्दै गएको अनुमान गरिएको छ ।

पर्यटक, गस्तीमा जाने सुरक्षाकर्मी, अनुगमनमा जाने निकुञ्ज कर्मचारीको भनाइका आधारमा संख्या बढेको अनुमान गरिएको कँडेलले बताउनुभयो । नेपालमा चार–चार वर्षमा बाघको गणना हुन्छ ।

प्रतिक्रिया दिनुहोस