हामी पनि गिरिजाबाबुकै उत्तराधिकारी हौँ, उहाँकै पालादेखि विस्तार हुन लागेको विमानस्थल अब बन्छ : मन्त्री भट्टराई

सफल खबर संवाददाता

बुधबार, १८ भदौ २०७६, १५ : ०१
हामी पनि गिरिजाबाबुकै उत्तराधिकारी हौँ, उहाँकै पालादेखि विस्तार हुन लागेको विमानस्थल अब बन्छ : मन्त्री भट्टराई

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेस भट्टराईले भरतपुर विमानस्थल अवश्य विस्तार हुने बताउनुभएको छ । उहाँले भरतपुर विमानस्थल विस्तारको लागि फेरि अर्को सर्वदलीय बैठक नबस्ने बताएका छन् ।

आज भरतपुर महानगरपालिकामा भएको भरतपुर विमानस्थल विस्तार एवम् सुधार सम्बन्धमा सरोकारवालाबीचको अन्तक्र्रिया कार्यक्रममा मन्त्री भट्टराईले भरतपुर विमानस्थलको विस्तार गर्न तत्काल अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘गिरिजाबाबुको पालादेखि विमानस्थल विस्तार गर्ने कुरा भएको रहेछ, हामी पनि उहाँकै उत्तराधिकारी हौँ । अब विमानस्थल विस्तार हुन्छ ।’

कार्यक्रममा उहाँले छलफल र बैठक हुने तर काम नहुने परिपाटीलाई चिर्न जरुरी भएको बताउँदै भन्नुभयो, ‘विमानस्थल विस्तारमा पटकपटक छलफल हुँदैन, यही छलफल नै अन्तिम हो । अब काम अघि बढ्छ ।’

उहाँले मन्तव्यकै क्रममा भरतपुर विमानस्थलनजिक रहेको सेनाको गढलाई अन्यत्र उपयोगी ठाउँ तत्काल खोज्न महानगरपालिका प्रमुख रेनु दाहाललाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘आजैदेखि सेनाको लागि चाहिने उपयोगी ठाउँ खोज्न लाग्नूस्, नेपाली सेना विकासको बाधक हिजो पनि थिएन र आज पनि हुँदैन ।’

कार्यक्रममा उहाँले नेकपाका पूर्वअध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत रक्षामन्त्री, रक्षासचिव, प्रधानसेनापतिसहितको उपस्थितिमा एउटा सानो छलफल चलाइदिनसमेत अनुरोध गर्नुभएको थियो ।

मन्त्री भट्टराईले भन्नुभयो, ‘केही सहमति र विमानस्थल विस्तारको कामलाई तीव्रता दिन समन्वयकारी भूमिका राख्न पर्ने हुनाले प्रचण्ड कामरेडले एक हव्ताभित्र रक्षामन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयबीच छलफल चलाइदिनुहुन्छ भन्ने आशा गरेको छु ।’

कार्यक्रममा उहाँले विदेशको अध्यास हेर्दा पनि सहरका बीचमा विमानस्थल रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘काठमाडौँ पनि पहिला छेउमा नै थियो, अहिल सहरको बीचमा भयो । सहरीकरण हुँदै जाँदा विमानस्थल सहरको बीचमा हुन जानु कुनै नौलो कुरा होइन ।’

कार्यक्रममा उहाँले भरतपुर विमानस्थलमा सुरक्षित अवतरणको लागि अग्ला निजी निवासहरुको अवरोध छ, जुन अवरोधलाई पनि समाधान गर्न महानगरसँग आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा मन्त्री भट्टराईले विमानस्थल विस्तारपछि रात्रिकालीन सेवासमेत उपलव्ध गराउन सकिने बताउनुभयो । उहाँले भरतपुर विमानस्थलको विस्तारको विषयमा तत्काल एक हव्ताभित्र मन्त्रालयमा प्राविधिकसहितको एक टोली बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो । उहाँका अनुसार बनाइएको टोली वा समूहले नै भरतपुर विमानस्थलको विस्तारको कार्यक्रम अघि बढाउँछ ।

प्रतिक्रिया दिनुहोस