ओली–नेपाल सम्बन्ध : सधैका दुश्मनी !

सफल खबर संवाददाता

शुक्रबार, ०६ भदौ २०७६, ०७ : ३२
ओली–नेपाल सम्बन्ध : सधैका दुश्मनी !

काठमाडौं । बिहिबार नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र चौथो वरियताका वरिष्ठ नेता माधव नेपालबीच भनाभन भयो ।

एकै राजनीतिक पुस्ताका यी नेताका बीचमा भनाभन चलेपछि नेकपा सचिवालय बैठक एजेण्डा प्रवेश नै नगरी छिटोछिटो नेताहरुले स्थगित गराउनु परेको छ । ओली नेपाल भनाभन यति सम्म तल झरेर भएको थियो की, अर्का पार्टी अध्यक्ष प्रचण्ड, नेता बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ ले नै भनाभन रोक्नका लागि हस्तक्षेप नै गर्नु परेको थियो ।

प्रधानमन्त्री ओली सिंगापुर उपचार भ्रमणमा जानु भन्दा चार घण्टा अगाडी प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक बसेको थियो । त्यही नेताहरुका बीचमा चर्काचर्की परेको हो ।

सचिवालयका ९ सदस्यमध्ये तेश्रो मर्यादा पाएका वरिष्ठ नेता झलनाथ खनाल अनुपस्थित उक्त बैठकमा उपप्रधान तथा रक्षामन्त्री समेत रहेका इश्वर पोखरेल र गृहमन्त्री समेत रहेका रामबहादुर थापा ओली–नेपालको झगडा परिरहँदा चुप देखिएपनि अन्य नेताहरु विवाद मथ्थर बनाउने प्रयासमा जुटेका थिए । खनाल भने चिन भ्रमणमा छन् ।

ओली नेपाल : को कस्ता छन् ?
विपन्न पृष्ठभूमिबाट मुलुकको सर्वोच्च कार्यकारी पदमा पुगेका नेता हुन्,  ओली । आमा गुमाएर टुहुरो रहँदा ओली बाल्यकालमा कम्युनिस्ट नेता रामनाथ दाहालको आश्रयमा बसेका थिए । अर्काका घरमा गोठालो बसेर उनले बाल्यकालको शिक्षा लिएका थिए ।

ओलीको भन्दा फरक छ नेता नेपालको पृष्ठभूमि । बाल्यकालदेखि नै परिवारको छत्रछायामै हुर्कने र पढ्ने अवसर नेपालले पाएका थिए । राजनीतिमा आउनुअघि केही समय बंैकका जागिरे नेपाल वािणज्यशास्त्रमा स्नातक हुन् ।

पार्टी संगठनमा भने तल्लै कमिटीबाट जिम्मेवारी लिँदै माथिल्लो सर्वाेच्च पदमा पुगेका नेता हुन् नेपाल । ओली भने २०४४ मा १४ बर्से जेल जीवनपछि केन्द्रीय समितिमा पुगेका थिए । भूगोलको जिम्मेवारी लिएर काम गरेको अनुभव ओलीमा नेपालको तुलनामा कम छ । ओलीका सन्तान छैनन् । नेपालका दुई सन्तान छन् । ओली–नेपाल दुवै राजनीतिको केन्द्रमा रहने र राजनीतिलाई आफू अनुकूल केन्द्रीकरण गर्न चाहने नेता हुन् ।

ओलीमा वाक्पटुता छ । उनी आफ्नो विचार र अडानमा स्पष्ट छन् । नेता–कार्यकर्तालाई उखान–टुक्का मिसिएको भाषण सुनाउन माहिर छन्, ओली । तर नेपालमा त्यो खुबी छैन । नेपालसँग ओलीको जस्तो वाक्पटुता छैन ।

नेपालले आफूलाई समन्वयकारी नेताका रूपमा चिनाएका छन् । तर ओली मनोगतवादी र एकलकाँटे प्रवृत्ति भएका नेता हुन् । ओली आफ्नो अडान हतपत छोड्न चाहँदैनन् । तर आवश्यकताका आधारमा नेपाल भने अडानमा लचिलो पनि हुन्छन् ।  

ओली मिर्गौला रोगी छन् । दुवै मिर्गौला खराब भएपछि २०६४ मा उनको मिर्गौला प्रत्यारोपण गरिएको छ । अहिले पनि त्यही मृगौला रोगका कारण उपचारका लागि सिंगापुर पुगेका छन् । नेपाललाई भने देखिने गरी कुनै रोग लागेको छैन । उनी नियमित योग गर्छन् ।

कहिले – कहिले विवाद भएको छ ओली नेपालका बीचमा ?
ओली नेपाल बीचको विवाद र बेमेलका अनेकन किस्सा जोडिएका छन् । पछिल्लोपटक पार्टी एकतापछि आफ्नो समूहका नेताहरूलाई पेल्ने रणनीतिमा ओली लागेका, वरियताका विषयमा झलनाथ र आफनो बीचमा नियोजित रुपमा खेल्ने कोसिस भएको भन्दैै नेपाल ओलीसँग रुष्ट छन् ।

प्रदेश पदाधिकारी चयन देखि पछिल्ले सचिवालय बैठक सम्ममा आईपुग्दा पार्टी निर्णयमा नेपालले दुई पटक आफनो लिखित फरक मत राखिसकेका छन् । यी दुवैमा ओलीको कार्यशैलीमा नेपालको चर्काे असन्तुष्टि पोखिएको छ ।

त्यति मात्र होइन, उनले ओली नेतृत्वको सरकारविरुद्ध संसदमै देश डुब्न लागेको भन्दै माझीको खोजीसमेत गरेका थिए , एकपटक । नेपाल–ओली सम्बन्धमा पछिल्लो स्थायी समिति बैठकले त दुई भित्तातिर मुख नै फर्काएर बस्नुपर्ने अवस्था आएको छ 

करिब १५ वर्ष महासचिवको रूपमा पार्टीको नेतृत्व गर्दा पनि नेपालको पार्टीभित्रको प्रतिस्पर्धा ओलीसँगै चल्यो । २०५६ को संसदीय चुनाव र सातौं महाधिवेशनका बेलामा पनि ओली–नेपालका बीचमा अन्तरविरोध देखा परेको थियो । त्यसबेला ओलीले पार्टी महासचिव नेपाल भएकाले दलको नेता आफू बन्न चाहेका थिए, तर नेपालले दिएनन् । त्यसपछि नै ओलीले पार्टीभित्र गुट बनाउँदै आफूलाई शक्तिमा ल्याउने प्रयास थालेको नेताहरूको बुझाइ छ ।

०७० को संसदीय दलको चुनावपछि पनि यी दुई नेताका बीचमा तीक्तता देखियो । पार्टीको आठौं महाधिवेशनमा ओलीलाई काँध थापेका नेपाल दलको चुनावमा तत्कालीन अध्यक्ष खनालको पक्षमा थिए । तर बाजी मारे ओलीले । ‘नेतृत्व हस्तान्तरण, उमेर पुगेका नेताहरूको अवकाश र नयाँ पुस्तालाई अवसर’ भन्ने नारा लिएर ओली दलको चुनावमा खनालसँग भिड्न पुगेका थिए ।

तर ०४८ यता पार्टी नेतृत्वमा रहेका व्यक्ति नै दलको नेता पनि बन्ने परम्परा एमालेमा थियो । त्यो ओलीले भंग गरिदिए । खनाल पार्टी अध्यक्ष हुँदाहुँदै पनि उनले खनाललाई चुनावमा पराजित गरिदिए ।

ओलीको पहिलो प्रधानमन्त्रीको कार्यकालमा सत्ता सहयात्री तत्कालीन माओवादीले समर्थन फिर्ता लिएर अविश्वास प्रस्ताव दर्ता गरायो । त्यसबेला नेपालले ओलीको बचाउ गर्नुको सट्टा संसदमा कार्यशैलीगत कमजोरीको प्रश्न मात्रै उठाइदिए । त्यसपछि त झन् ओली–नेपाल द्वन्द्व अस्वाभाविक चुलियो ।

परिवर्तनप्रति अनुदार रबैया, वामपन्थी मान्यताको साटो लोकतन्त्र मात्र भन्ने, नैतिक आचरणमा लचकता, तथाकथित ‘अतिवाद’ सँगको निकटता जस्ता कारणले ओलीमा दक्षिणपन्थी रुझान रहेको देखाउँछ । प्रतिस्पर्धी दलहरूसँग मुद्धाअनुरूप सन्तुलित सहकार्य वा विरोध, सामाजिक न्यायसहितको लोकतन्त्रमा जोड, राजनीतिमा अपराधीकरण, भ्रष्टाचार तथा गलत आचरणको सख्त आलोचना र तदनुरूपको व्यवहारले नेपाल ओलीभन्दा भिन्न चरित्रका देखिन्छन् ।

गतिशील, घुलमिल हुन सक्ने खुबी तथा कूटनीतिक क्षमता नेपालका प्रमुख गुण हुन् । निर्णय क्षमताको अभाव, अरूबाट छिट्टै प्रभावित हुने अवगुण पनि उनमा भएको नेपाल निकट नेताहरू नै स्वीकार गर्छन् ।

ओली कार्यकर्ताका कुरा लामो समयसम्म पनि सुन्न सक्छन् । कार्यकर्ताका समस्यामा समाधान पनि खोज्न रुचाउँछन् । तर नेपाल कार्यकर्ताको पालो पु¥याउने गरी मात्र सुन्न रुचाउने गर्छन् । नेपाल सक्रिय रहने, समयअनुसार चल्ने स्वभावका छन् भने ओली निष्क्रिय र लामो कुराकानी गर्ने, समयको हेक्का नराख्ने छन् । आनीबानी हेर्दा दुई नेता विपरीत धुव्रका छन् ।  

प्रतिक्रिया दिनुहोस