‘कुटपिटले मात्र होइन, कठोर वचनले पनि बालबालिकालाई आक्रामक बनाउँछ’

सफल खबर संवाददाता

सोमबार, २७ साउन २०७६, ११ : १०
‘कुटपिटले मात्र होइन, कठोर वचनले पनि बालबालिकालाई आक्रामक बनाउँछ’

चितवन । शिक्षाविद् रमाकान्त सापकोटाले बालबालिकाको क्षेत्रमा काम गरेको लामो अनुभव सँगाल्नुभएको छ । शिक्षा मन्त्रालयका पूर्व सल्लाहकारसमेत रहेका सापकोटा मनोविज्ञानका प्राध्यापकसमेत हुनुहन्छ ।

हाल भरतपुर महानगरपालिकामा शिक्षा विज्ञको रुपमा कार्यरत रहनुभएका सापकोटा शिक्षासँग सम्बन्धित थुप्रै आयोग तथा नीति निर्माण तहमा रहेर काम गरिसक्नुभएको छ । 

पछिल्लो समय  समाजमा बालबालिकामाथि हुने गरेको शारीरिक तथा मानसिक हिंसालाई नजिकबाट हेर्दै आउनुभएको सापकोटासँग सफल खबरले गरेको कुराकानीमा आधारित रहेर बनाएको फिचर सामग्री उहाँकै शव्दमा :

कठोर वचन हानिकारक 
बालबालिकाले सानो गल्ती गर्दैमा हामी कठोर वचन बोल्छौँ । गाली गर्छौं । कठोर वचन र गालीहरु बालबालिकाको लागि हानिकारक हुन्छ । हामी मीठो लवजले कम मात्र बोल्छौँ । हामीमा के भ्रम छ भने हामी ठूलो मान्छेले भनेको बालबालिकाले मान्नैपर्छ, गर्नैपर्छ । पढ् भनेपछि पढ्नैपर्छ । नचल भनेपछि चल्न हुँदैन, नबोल भनेपछि बोल्नहुँदैन । यो गलत मान्यता हो । बालबालिकालाई घरभित्रै पिँजडाका सुगाजस्तो बनाउनु हुँदैन ।

मूलतः अभिभावकले उनीहरुको भावना बुझ्न जरुरी छ । जब उनीहरुसँग नजिक हुन सकिन्छ । तब उनीहरुको भावना बुझ्न सकिन्छ । रुची, समय वातावरणअनुसार हामी बालबालिकासँग मीठो लवजले बोल्नुपर्छ । कुटपिटले मात्र होइन, कठोर वचनले समेत बालबालिकालाई आक्रमक र विद्रोही बनाउँछ । बच्चा अवोध हुन्छन् । उनीहरु जानेर गल्ती गर्दैनन् । नजानेरै कतिपय कमजोरी गर्छन् । त्यस्ता कमजोरी सच्याउनका लागि उनलाई कुट्नैपर्छ, कठोर वचन बोल्नैपर्छ, गाली गर्नैपर्छ, तह लगाउनैपर्छ भन्ने संस्कारबाट हामी मुक्त हुन अब धेरै ढिला भइसकेको छ ।

प्रेमको भाषा बोलौँ 
हामीसँग बच्चलाई थर्काउनै पर्छ भन्ने मान्यता छ । उनीहरुसँग तिमी र तपाइँ भनेर कमैले कुरा गर्छन् । कुटेर, थर्काएर बच्चाको बानी सुधार हुँदैन, उनको बानी सुधार गर्न मायालु वातावरण चाहिन्छ । भनिन्छ नि, बच्चाले प्रेमको भाषा बुझ्छन् । उनीहरुलाई प्रेमपूर्वक नै सम्झनुपर्छ । प्रेमपूर्वक नै बुझाउनुपर्छ । प्रेममा उनीहरु पग्लिन्छन् । जबकी कुटपिट, थर्काइले उनीहरुलाई थप कठोर बनाउँछ । कठोरताले आक्रमक बनाउँछ । आक्रमकले क्रुर बनाउँछ । क्रुरताले अपराधी बनाउँछ ।

इमान्दार, नैतिकवान, चरित्रवान, संस्कारी बनाउनका लागि त उनीहरुलाई प्रेममय वातावरण नै दिनुपर्छ । प्रेममय वातावरणमा नै उनीहरुले जीवनका अनेक आयमलाई बुझ्न र ग्रहण गर्न सक्छन् । बाल मनोविज्ञानको यही पाटोलाई बुझेर अहिले बालबालिकामाथि कुटपिट गर्न निषेध छ ।

विदेशमा सामान्य कुटपिट गर्ने अभिभावकलाई प्रहरीले समात्छ । बालबच्चालाई कुटेर तह लगाउनुपर्छ भन्ने मानसिकता समाजबाट हट्नुपर्छ, विस्तारै कम हुँदै पनि गएको छ । नजानेरै गर्ने कतिपय गल्तीमा बच्चाले अभिभावक वा शिक्षकबाट अपराधी झै कुटाइ खानुपर्ने अवस्थालाई समाजबाट उखेल्नुपर्छ ।  

विद्यालय नहोस् यातनागृह 
बालबालिकाले चकचक गरेमा उनलाई सम्झाउनुको साटो कतिपय विद्यालयहरुमा कुटेर, थर्काएर तर्साउने काम गरिन्छ । बालबालिकालाई अनुशासनको नाममा कान समातेर उठ्बस् गराइन्छ । हल्ला गरेमा, साथीसँग चलेमा, गृहकार्य नगरेमा चौर घुमाइन्छ । यस्ता किसिमका सजाय यातना नै हो । बालबालिकामाथि हुने यस्ता यातनाले उनीहरुलाई असल बाटोमा होइन, झन् आक्रमक बनाउँदै गलत बाटोमा हिँडाउन प्रेरित गर्छ । 

जब बालबालिकाले कुनैपनि प्रश्नको ठिक ढंगले हल गर्न सक्दैनन् तब उनीहरुलाई यातना दिइन्छ । सोधेका प्रश्नहरुको सही उत्तर नदिएमा यातना दिने चलन छ, यो गलत हो । बालबालिका नजानेर सिक्नको लागि विद्यालय गएका हुन् । हामी सिकेन भनेर शारीरिक तथा भावनात्मक यातना दिइरहेका छौँ, भने गलत को हुन्छ ? 

उदाहरण, एउटा शिक्षकले एक विद्यार्थीलाई विद्यालय आउन ढिलो भयो भनेर दिनहुँ शारीरिक यातना दिने रहेछ । किन ढिलो भयो भनेर शिक्षकले विद्यार्थीलाई कहिल्यै सोधेन र विद्यार्थीले पनि ढिलो भएको कारण बताउन सकेन । शिक्षक देख्नसाथ ऊ डराउँथ्यो, पछि त्यो कुनै दिन शिक्षक बजार पुग्दा थाहा पायो कि, त्यो विद्यार्थीले बिहान पत्रिका बेचेर विद्यालय आउँदा समयमै हाजिर हुन सक्दोरहेनछ र दिनहुँ शिक्षकको कुटाइ खाँदोरहेछ । 

शिक्षकहरु विद्यार्थीहरुको समस्या नजिक पुग्न आवश्यक छ, अनावश्यक रुपमा गहिराइमा नपुगी विद्यार्थीमाथि हुने शारीरिक कुटपिट नै यातना नै हो । बालबालिकामाथि दिने यातना छौडौँ, प्रोत्साहन गरौँ, प्रेरणा जगाऔँ । यसैबाट विद्यार्थी उच्च स्थानमा पुग्न सक्छन् । 
 

प्रतिक्रिया दिनुहोस