बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीले आफ्नो परीक्षा भैरहवाको गौतमवुद्ध विमानस्थलबाट लिने बताउनुभएको छ ।
उहाँले सो विमानस्थल आज निरीक्षण गर्दै भन्नुभयो, ‘कुनै यो विमानस्थल आउँदो डिसेम्बर ३० सम्म जसरी पनि सम्पन्न गर्नुपर्छ, मेरो परीक्षा प्रधानमन्त्रीले यही विमानस्थलबाट लिनुहुन्छ ।’ उहाँले भ्रमण वर्ष सफल कि असफल हुन्छ भन्ने विषयसंग विमानस्थल र लुम्बिनी जोडिएको बताउनुभयो । प्रधानमन्त्री केपी ओलीको पनि चासोको विषय गौतमबुद्ध विमानस्थल बनेको उहाँको भनाइ थियो ।
‘जुनसुकै अन्तर्राष्ट्रिय मञ्चमा पनि प्रधानमन्त्रीज्युले भन्नुभएको छ, डिसेम्बरमा हामी आयोजनाको काम सम्पन्न गर्छौं र तपाईहरुलाई लुम्बिनीमा स्वागत गर्न आतुर छौं, मन्त्रीको जिम्मेवारी दिएपछि बधाई दिने क्रममा पहिलो जिम्मेवारीकै रुपमा गौतमबुद्ध विमानस्थलको आयोजनाबारे मलाई भन्नुभएको छ’ मन्त्री भट्टराईले भन्नुभयो ।
आयोजनाका काम निरीक्षण गर्ने क्रममा मन्त्री भट्टराईले सिंगो मुलुकले यस विमानस्थलबाट फाइदा लिने बताउनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख ईञ्जिनियर प्रवेश अधिकारीले नदीजन्य पदार्थ समयमा उपलब्ध नहुँदा समस्या आएको गुनासो मन्त्रीसमक्ष गर्नुभएको थियो । मन्त्री भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो ।
सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्ष शुरु हुनु अगावै विमानस्थलको काम पूरा हुनुपर्ने भएकाले सोहीअनुसार काम गर्न निर्देशन मन्त्री भट्टराईले दिनुभएको थियो । उहाँले पर्यटकको सङ्ख्या बढाउनका लागि लुम्बिनीको विकास र सौन्दर्यका लागि नयाँ ढङ्गले काम अगाडि बढाउने बताउनुभयो ।
विमानस्थलमा भइरहेको कामबारे जानकारी गराउँदै विमानस्थल आयोजनाका प्रमुख इञ्जिनीयर प्रवेश अधिकारीले निर्माण सामग्रीको अभाव नभए समयमै काम पूरा हुने बताउनुभयो । धावनमार्ग तयार भएसँगै विमानस्थलमा जहाज अवतरण र उडान गर्न मिल्ने भएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ साउन २०७६, १५ : २०
लेखकबाट थप