विप्लवका यी नेतालाई करोडौं ठगीको आरोप !

काठमाडौंमै करोडौं मूल्यको घर घडेरी जोडेको आरोपमा कारबाही

सफल खबर संवाददाता

मंगलबार, २१ साउन २०७६, १० : २७
विप्लवका यी नेतालाई करोडौं ठगीको आरोप !

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको असार अन्तिममा बसेको स्थायी समिति बैठकले आन्तरिक पार्टी संरचनामा सुद्धिकरण अभियान चलाउने र संगठन विस्तारका लागि ५ महिने अभियान चलाउने निर्णय गरेसँगै केही नेताहरु कारबाही र घटुवामा परेका छन् ।

प्राय नेताहरुलाई एक तह घटुवा गरेपनि एक जना पोलिटब्यूरो सदस्यलाई भने उसले पोलिटब्यूरोबाट घटुवा मात्र गरेको छैन, केन्द्रीय समिति सदस्य समेत नरहने गरी कारबाही गरेका छ । ति नेता हुन्, कृष्ण धमला गम्भिर । सुर्खेतका यी नेतालाई विप्लवको स्थायी समिति (सोही बैठकबाट सचिवालयमा रुपान्तरित भईसकेको छ)को बैठकले कारबाही गरेको हो । धमलालाई आर्थिक अपचलन गरेको र काठमाडौंमा भब्य महल खरिद गरेको आरोप लगाउँदै विप्लवको पार्टीले कारबाही गरेको हो । पार्टीभित्र आर्थिक पारदर्शी देखाउनुको साटो धमलाले आर्थिक अराजकता मच्चाएको र काठमाडौं उपत्यकाभित्रै कम्तीमा १ करोड बराबर मूल्यको घर जग्गा जोडेको उजुरीका आधारमा कारबाही गरिएको विप्लवका एक केन्द्रीय सदस्यले बताए ।

धमलाले ८ महिना अगाडी मात्रै काठमाडौंमा घर घडेरी जोडेको उजुरी पार्टीमा परेको थियो । स्रोतका अनुसार, धमलाले आफुमाथी पार्टीले कारबाही गरेको खबर औपचारिक रुपमा साउन दोश्रो साता मात्र जानकारी पाएका थिए । त्यसबेला सम्म उनलाई पार्टीले कारबाही गरेको खबर गुपचुप राखिएको थियो ।

अन्य नेतालाई शुद्धीकरण अभियानका नाममा एक तह घटुवा गरे पनि आफूलाई केन्द्रीय समितिबाटै समेत हटाइनुको कारण उनले कार्यालय सचिवसँग जानकारी लिन खोजेकोे स्रोत बताउँछ । कार्यालय सचिव धुव्रले उनलाई केही आर्थिक अपचलनको आरोप लागेको र पार्टीले छानविनका क्रममा राखेकोले हाल केन्द्रीय समितिबाट निलम्बन गरिएको जानकारी गराइएको स्रोतले बतायो ।
धमलाले आफूमाथि काठमाडौंमा घर घडेरी जोडेको आरोप लागेपछि भने आफ्नो सुर्खेतको रेडियो नेपालको स्टेसननजिकै ६ लेनको सडक खण्डमै रहेको घर जग्गा बेचेर काठमाडौंमा घर किनेको जवाफ दिएको स्रोतले बताएको छ ।
विप्लव नेकपाले धमलालाई केन्द्रीय समितिबाटै  कारवाही नै गरेर हटाएको थियो भने अन्य थप केही केन्द्रीय नेताहरुलाई भने घटुवामात्र गरिएको वताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस