पूर्व राजा ज्ञानेन्द्र आज सिंगापुर जाँदै, ओलीसँग होला त भेटघाट ?

दुई वर्ष अगाडी २०७४ पुसमा बैंककमा केपी ओली र पूर्व युवराज्ञी हिमानी शाह बीच भएको भेटवार्ताकै दोश्रो चरणको निरन्तरतामा फेरि सिंगापुरमा भेटवार्ता हुन लागेको आशंका

सफल खबर संवाददाता

मंगलबार, २१ साउन २०७६, ०७ : ५८
पूर्व राजा ज्ञानेन्द्र आज सिंगापुर जाँदै, ओलीसँग होला त भेटघाट ?

काठमाडौं । प्रधानमन्त्री केपी ओली यतिबेला सिंगापुरमा छन् । स्वास्थ्य परिक्षण र आरामका लागि भन्दै उनी श्रीमति राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल , नीजि चिकित्सक डा दिब्या सिंह लगायत ९ सदस्यीय टोली सहित १८ साउनमा त्यसतर्फ लागेका थिए ।

एक साताका लागि सिंगापुर उडेका प्रधानमन्त्री ओलीले त्यहाँ केही महत्वपूर्ण भेटवार्ता गर्न सक्ने आंकलन उनी सिंगापुर नजाँदै नेपालमा हुन थालिसकेका थिए । तर उनको त्यहाँ को को सँग कस्ता छलफल र भेटघाट हुन सक्छन भन्ने खुल्न भने सकेको छैन ।  

ओली सिंगापुरमै रहेका बेला पूर्व राजा ज्ञानेन्द्र शाह पनि आज बेलुकी सिंगापुर जाँदैछन् । दरबार उच्च स्रोतका अनुसार सिंगापुर हुदै पूर्व राजा ज्ञानेन्द्र चीन समेत पुगेर फर्किने योजनामा सिंगापुर जान लागेका हुन् ।

सिंगापुरमा पूर्व राजा र प्रधानमन्त्री ओलीका बीचमा भेटवार्ता हुन सक्ने आंकलन पनि अहिले हुन थालेको छ । नेपाललाई हिन्दु राज्य बनाउनका लागि राष्ट्रिय अन्तराष्ट्रिय लबिङ तिव्र भईरहेका बेला देशभित्रै पूर्व राजा र ओली निकट नेता उपप्रधान तथा रक्षामन्त्री इश्वर पाखेरेलबीच ढेड घण्टासम्म १७ साउनमा गोप्य भेटवार्ता गर्नु, १८ गते प्रधानमन्त्री ओली सिंगापुर जानु र ओली सिंगापुर गएको चार दिन पछि पूर्व राजा ज्ञानेन्द्र पनि सिंगापुर जाने कार्यक्रम बन्नु रहस्यमय परिदृश्य देखिन थालेको छ ।

त्यसोत ओली प्रधानमन्त्री हुन भन्दा अगाडी पनि पूर्व राजा ज्ञानेन्द्रकै प्रतिनिधीका रुपमा पूर्व युवराज्ञी हिमानी शाहसँग बंैककमा ओलीको भेटवार्ता भएको थियो । २०७४ को मंसिरमा सम्पन्न प्रतिनिधीसभा तथा प्रदेश सभाको चुनावमा सरकारको नेतृत्व गर्ने गरी ओलीले स्पष्ट जनमत ल्याएपछि सरकारको बागडोर सम्हाल्नु अगाडी पनि उनी उपचारका नाममा बंैकक गएका थिए ।

त्यसबेला बंैककमा ओली र हिमानी बीच भेटवार्ता मात्र भएको थिएन । उनीहरु एउटै जहाजमा स्वदेश समेत फर्किएका थिए ।

अहिले पूर्व राजा र प्रधानमन्त्री ओलीको सिंगापुर बसाई दोश्रो चरणको थप भेटघाटका लागि भएको विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ ।

झण्डै दुई वर्ष अगाडी २०७४ पुस २६ मा ओली बैंकक गएका थिए । हिमानी पनि पुस २१ मा छोरी पूर्णिकालाई लिएर बैंकक गएर बसेकी थिइन् ।

यति एयरलाइन्सका आङछिरिङ शेर्पा (जो अहिले ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा रविन्द्र अधिकारीसँगै निधन भईसकेका छन् ) ले बैंककको सुक्मित–२४ स्थित सिफुड रेस्टेरेन्टमा डिनर कार्यक्रम आयोजना गरेर ओली र हिमानीबीचको भेटवार्ताको बातावरण मिलाईदिएका थिए ।

त्यही डिनर भोजमा ओली र हिमानीबीचको भेटवार्ता भएको थियो । दुबैले त्यसबेला उक्त रेष्टुरेन्टमा नमस्कार गदै हात मिलाएका थिए र केही बेर कुराकानी गरेका थिए ।

पछि माघ ४, २०७४ मा ओली र हिमानी थाई एयरवेजको टीजी ३१३ कलसाइनको बिमानबाट सँगै स्वदेश फर्किएका थिए ।

त्यो पहिलो चरणको भेटवार्ता भएको र त्यसैको निरन्तरताको रुपमा अहिले भने शीर्ष भेटवार्ता हुन लागेको राजनीतिक विश्लेषकहरुले अनुमान लगाएका छन् । यद्यपी, यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

नेकपाकै अर्का अध्यक्ष प्रचण्डले यूएई भ्रमणबाट फर्केको भोलिपल्टै १९ साउनमा सिन्धुली र रामेछापको सिमानामा पुगेर एक कार्यक्रममा पुगेर पूर्व राजाले वकवक गरिरहे नागार्जुनबाट पनि हटाइने भन्दै भाषण गर्नुले पनि नेकपाको ओली पक्षधर नेता हरु र पूर्व राजा ज्ञानेन्द्रका बीचमा कुनै अघोषित साँठगाँठ र सम्बन्ध बन्दै त छैन भन्ने आशंका भने तिव्र रुपमा जन्माईदिएको छ ।

प्रतिक्रिया दिनुहोस