सुनको भाउ तोलाको ६७ हजार ८ सय, दैनिक बनाउँदैछ रेकर्ड

सफल खबर संवाददाता

सोमबार, २० साउन २०७६, १५ : २२
सुनको भाउ तोलाको ६७ हजार ८ सय, दैनिक बनाउँदैछ रेकर्ड

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनको भाउ सोमबारका लागि तोलाको ६७ हजार ८ सय रुपैयाँ तोकिएको जनाएको छ । यो भाउ अहिलेसम्मकै धेरै हो ।

आइतबार सुन तोलामा ६६ हजार ३ सय रुपैयाँ थियो । सुनको भाउ सोमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेको छ । शेयर बजार कमजोर भएकाले अन्तर्राष्ट्रिय बजारमा महंगो भएकाले नेपालमा पनि भाउ बढेको सुनको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो ।

भारत र पाकिस्तानको तनाब बढेपछि भारतीय मुद्रा कमजोर भएकाले नेपालमा पनि त्यसको असर परेको संयोजक शाक्यले बताउनुभयो । भाउ बढेकै कारण सुनको बिक्री घटेपछि ब्यापारीले बैंकसँग सुन किन्न छाडेका छन् । 

दैनिक २० किलोसम्म बैंकसँग सुन किन्न पाउने ब्यापारीले अहिले भएको सुन पनि बिक्न छोडेको बताएका छन् । सोमबार चाँदीको भाउ पनि बढेर तोलामा ७ सय ९५ रुपैयाँ तोकिएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने थप ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने घोषणा गरेपछि सुनको भाउ लगातार बढिरहेको छ। चीनसँगको व्यापार वार्तामा चीनले अलमल गरिरहेको भन्दै राष्ट्रपति ट्रम्पले आगामी सेप्टेम्बर १ तारिखदेखि लागू हुनेगरी करवृद्धिको घोषणा गरेका थिए।

अमेरिकी घोषणासँगै विश्वका दुई प्रमुख अर्थतन्त्र भएका मुलुकहरु चीन र अमेरिकाबीच भइरहेको करिब ६६० अर्ब अमेरिकी डलर बराबरका आयात–निर्यातमा करवृद्धि भएको थियो।योसँगै अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाएपछि लगानीकर्ताहरु सुरक्षित लगानीका लागि सूनमा आकर्षित भएकाले भाउ बढेको हो।

प्रतिक्रिया दिनुहोस