– शर्मा नारायण
साहुजी, ओ साहुजी
अलिकति न्याय पाइन्छ ?
बिक्रीमा सेल लागेको छ
भन्दै थियो जेठाले
त्यसैले किन्न आएकी ।
धेरै महंगो पो रैछ त साहुजी
पैसा तिर्न त सक्दिन
हात पाखुरा
धडकी रहेको मुटु
उम्लि रहेको रगत
हातका ठेला
खिल परेका खुट्टा
के रे स बिक्दैनन ?
अरु पनि छन्
तर ती त काम नलाग्ने
भइ सके होलान साहुजी,
अँ के लिनु हुन्छ
ज्युँदै आँखा झिकिएकी
कुमारी बुढाको आँखाको सपना ?
बारम्बार गिद्धहरुले झैँ
जल्लादहरुबाट पालैपालो
बलात्कारका सिकार
देवी खड्का र कमला भट्टहरुको चित्कार ?
राता मान्छे लुकाएको निहुँमा
च्युरि पेल्ने कोलमा
ज्युँदै रगत निचोर्दै पेल्दै मारिएका
गाउँले चेपाङको अगाध आस्था ?
बमको छर्रा टाउकोमा लिएर
युद्धमा एउटा आँखा गुम्दा
अब त निशाना लगाउन सजिलो भयो भनेर
रमाउने मेरो कान्छाको त्यो विश्वास रु
काखको छोराछोरी अर्कैलाइ जिम्मा लाएर
काँधमा बन्दुक बोकेर हिडेकी सुन्तलीको त्यो ममता ?
आमा ( आप्पा फर्केर आउँछ भनी
बाटोमै आँखा ओछ्याएर बसेको लाक्पाले
मेरो आमा ( आप्पा त
उ त्यहाँ पो छ अरे भनेर
जून देखाँउदा आँखाबाट बगेको बालपन रु
आफ्नो शरीरभरि समाजवादको लागि परेको किरा
आफ्नै हातले सफा गर्दा
जेल भित्र चहर्याएका घाउ
मुस्कानसंगै दबाउने त्यो बन्दी जीवन ?
साहुजी,
जेल भित्रै अस्मिता लुटिँदा पनि
समाजवादका निम्ति अट्टहास गर्ने ती साहसहरु ?
विवाहको हप्ता दिन नबित्दै
जीवनसाथी गुमाउने ती आलिगंनहरु
ती प्रेमिल स्पन्दनहरु ?
योजना खोल्नु भन्दा यातना खप्नु बेश मानेर
आततायी बन्दुकको संगिनमा लाज झुन्ड्याएर
निर्वस्त्र गाउँ डुलाइएका
उर्मिलाहरुको त्यो त्याग ?
बुढेसकालका सहारा आफ्ना छोराछोरी
युद्धमा गुमाउँदा पनि
छोराछोरी गए पनि समाजवाद त आउँछ
भनेर बस्ने ती बा आमाको वात्सल्य ?
हुँदैनन , पुराना भए ?
नयाँ पनि त छन् नि
तिलाठिमा बगेको देवनारायणको रगत,
सिमानामा गोविन्दको सहादत ?
कुमार पौडेलको सर्लाहीमा इन्काउन्टर परेको विश्वास ?
सुदर्शनको हातको नेल
निर्मला पन्तको चन्चलता ?
ओ साहुजी,
सकिन्छ मुल्य तोक्न ,
सकिन्छ मुल्य चुकाउन ?
तिम्रो समाजवादको डिपार्टमेन्टल स्टोरमा
न्याय त बिक्रि होला साहुजी
तर
मेरो आस्था , विश्वास र इतिहास
म बेच्ने छैन, म साट्ने छैन
समाजवादको तिम्रो बजारमा ।।
(तोरिखेत, चितवन)
प्रतिक्रिया दिनुहोस