भारतमा भेटिएको अनौठो ढुंगा उल्कापिण्ड भएको आशंका

एजेन्सी

शनिबार, ११ साउन २०७६, १२ : २२
भारतमा भेटिएको अनौठो ढुंगा उल्कापिण्ड भएको आशंका

एजेन्सी । विहारको एउटा गाउँको धान खेतमा भेटिएको फुटबल आकारको एक ढुंगा उल्कापिण्ड भएको आशंका गरिएको छ । 
सीएनएनका अनुसार ढुंगालाई अहिले ‘विहार संग्राहलय’मा प्रदर्शनमा राखिएको छ । तर यसलाई तत्कालै श्रीकृष्ण साइन्स सेन्टरमा स्थान्तरण गरेर विज्ञमार्फत उल्कापिण्ड भए नभएको परीक्षण गराइने विहारका मुख्यमन्त्री नितिश कुमारले बताए । 

हेर्दा सामान्य ढुंगाजस्तो देखिए पनि उल्कापिण्ड थप भारी हुने गर्छ । यसको बाह्य भाग जलेको हुने तर पनि चहकिलो हुने गर्छ । र उल्कापिण्डको अर्को महत्वपूर्ण विशेषता यसमा चुम्बकीय गुण हुन्छ । 

‘अनुसन्धानदाताहरुमा उल्कापिण्डबारे ठूलो चाख छ । तिनको अध्ययनले हाम्रो सौर्य मण्डलको उत्पत्ति र विकासबारे थाहा पाउन सकिन्छ,’ नासाको मेटेरोएड कार्यालयको स्टेभन एहलर्टले भनिन् । 
नासाका अनुसार, उल्कापिण्ड शिशुग्रह अथवा पुछ«ेताराका टुक्रा हुन् र ती अन्तरीक्षमा सूर्यको वरिपरि घुमिरहेका हुन्छन् । 

जब ती पृथ्वीको गुरुत्वाकर्षणका कारण तानिएर पृथ्वीको वायुमण्डलमा आइपुग्छन् ती उल्का बन्छन् । अधिकांश उल्का वायुमण्डलमै जलेर नष्ट हुन्छन् तर पृथ्वीको सतहसम्म आइपुग्ने उल्कालाई उल्कापिण्ड भनिन्छ । 

बुधबार राती क्यानडाको आकासमा एक विशाल उल्का खसिरहदाँ आकासमा चन्द्रमाभन्दा बढी चहकिलो देखिएको थियो । त्यो उल्का पनि पृथ्वीको सतहमा आइपुगेको हुन सक्ने वैज्ञानिकहरुले अनुमान गरेका छन् । 

सन् २०१३ मा रुसको उरल्स क्षेत्र एउटा ठूलो उल्का पृथ्वीको सतहभन्दा केहीमाथि विस्फोट हुदाँ ठूलो क्षति भएको थियो । घना वस्तीको आकासमा भएको विस्फोटले ठूलो ध्वनी तरङ उत्पन्न गरेको थियो । त्यसले वरिपरिका कयैन घरका झ्यालढोकाको सिसामात्र फुटाएन १००० मानिसलाई घाइते बनाएको थियो । 

प्रतिक्रिया दिनुहोस