नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने विश्व क्रिकेटको प्रतिष्ठित इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा खरिद भएका छन् ।
सन्दिपलाई दिल्ली डेरडेभिल्स ले भारतीय रुपैंया २० लाख मा बोलि लगाउँदै खरिद गरेको हो । उनको बेस प्राइज २० लाख भारु नै थियो । नेपालको क्रिकेट इतिहासमै सन्दिप ईपीएलमा खेल्ने पहिलो खेलाडी हुन् ।
यस्तो छ सन्दिपको क्रिकेट करिअर
सन्दिप लामिछाने नेपाली क्रिकेटका उदीयमान खेलाडी हुन् । यतिमात्रै नभएर विश्व क्रिकेट जगतकै ध्यान तान्न सक्ने प्रभावशाली खेलाडी हुन् उनी । सन् २०१६ मा बंगलादेशमा सम्पन्न आईसीसी यु–१९ विश्वकप क्रिकेटमा सन्दिपले आयरल्याण्ड विरुद्ध ह्याट्रिक विकेट लिएका थिए । पहिलो खेलमा नै न्युजील्याण्ड जस्तो बलियो टेष्ट राष्ट्रलाई ३२ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दै थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १३१ रनमात्रै बनाएको थियो । आयरल्याण्डका अग्रपंक्तिका ब्याट्सम्यानलाई आउट गर्ने क्रममा सन्दिपले ह्याट्रिक गरेका थिए । उनले खेलको ३१.४ ओभरमा लोर्कन टुकर, ३१.५ ओभरमा फायच्रा टुकर र ३१.६ ओभरमा एडम डेन्नीसनलाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए ।
आयरल्याण्डविरुद्ध सन्दिपले १० ओभर बलिङ गर्दै २७ रन खर्चेर ५ विकेट लिएका थिए । आईसीसी यु–१९ विश्वकप क्रिकेटमा सन्दिप सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहे । पहिलो स्थानमा भने नामिवियाका फ्रिट्ज कोएत्जी भए । सन्दिपले विश्वकपमा १४ विकेट लिए भने कोएत्जीले १५ विकेट लिएका थिए ।
गत साउनमा सिंगापुरमा सम्पन्न आईसीसी यु–१९ विश्वकपअन्तर्गत एसिया क्षेत्रको छनोटमा सन्दिप लामिछानेले नेपालले खेलेको सबै खेलमा उत्कृष्ट बलिङ गरेका थिए । उनले ६ खेलबाट २४ विकेट लिएका थिए । सन्दिपले पहिलो खेलमा आयोजक सिंगापुर विरुद्ध ५ विकेट लिएका थिए । निकै किफायती बलिङ गरेका सन्दिपले ८ ओभरमा २ मेडन राख्दै २१ रन खर्चेर ५ विकेट लिए । उनले २.६२ को इकोनोमीमा बलिङ गरेका थिए ।
दोस्रो खेलमा पनि सन्दिपले मलेसियाका ब्याट्सम्यानलाई ध्वस्तै बनाएका थिए । उनले यो खेलमा पनि ५ विकेट लिए । ८.५ ओभर बलिङ गरेका सन्दिपले १ मेडन राख्दै १७ रनमात्र खर्चेका थिए । तेस्रो खेलमा अफगानिस्तानसँग सन्दिपले ९.२ ओभर बलिङ गर्दै २ मेडन राखेर ३० रन खर्चिदै २ विकेट लिए ।
राउण्ड रोविनको आधारमा सञ्चालन खेलमा सन्दिपले पुनः सिंगापुर विरुद्ध १० ओभर बलिङ गर्दै ४ विकेट लिन सफल भए । सन्दिपले मलेसियासँगको पाँचौं खेलमा ७ विकेट लिएका थिए । ९.१ ओभर बलिङ गरेका सन्दिपले १ मेडन राख्दै मात्र १३ रन खर्चेर ७ विकेट लिएका थिए ।
सन् २००० मा जन्मिएका सन्दिपको क्रिकेट करियर भने चितवनबाट सुरु भएको हो । बाल्यकाल स्याङ्जामा बिताएका सन्दिपले क्रिकेट खेल्न थालेको लामो समय भएको छैन । क्रिकेट एसोसिएसन अफ चितवन एकेडेमीबाट नोभेम्बर २०१४ मा भर्ना भई क्रिकेट सिक्न थालेका सन्दिपले १०१६ मा डेब्यु गरेका थिए ।
२०१५ मार्च ४ तारिखमा चितवन गएका तत्कालिन नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सन्दिपको खेल देखेर काठमाडौं बोलाएका थिए । अवसरको पर्खाइमा रहेका सन्दिपको क्रिकेट यात्रा त्यहीदेखि सुरुवात भएको हो ।
सामान्य परिवारमा जन्मिएका सन्दिप अहिले नेपाली सिनियर राष्ट्रिय टिमका पनि नियमित खेलाडी हुन् । उनले आईसीसी विश्व च्याम्पियनसिपअन्तर्गत नामिवियाको खेलमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । डेब्यु खेलमै सन्दिपले उत्कृष्ट बलिङ गरेका थिए । दुबै खेलमा नेपालले नामिवियालाई पराजित गरेको थियो । त्यसपछि सन्दिप नेपाली टिममा निरन्तर छन् । उमेर समूहमा पनि उनले पटक पटक चमत्कारिक प्रदर्शन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस