काग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

सफल खबर संवाददाता

आइतबार, २९ असार २०७६, ०८ : ४७
काग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली काग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । पार्टी महाधिवेशन लगायत १४ ओटा एजेण्डामा छलफल गर्ने कार्यसूचिसहित बस्न लागेको बैठक आज तेश्रो पटक बस्न लागेको हो ।

गत हप्ताबाट काग्रेस बैठक शुरु भएको थियो । गत आइतबार बैठकमा नियमावली मस्यौदा प्रस्तुत भएपछि बैठक स्थगित भएको थियो । शुक्रवार पनि बसेको बैठक आजबाट भने नियमित बस्ने नेताहरुको भनाई छ ।

बैठकका पूर्वसन्ध्यामा शनिवार बिहान पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवास वुढानिलकण्ठमा आफु निकट नेताहरुसँग परामर्श गरेका थिए । पौडेल , कोइराला र सिटौला पक्ष जारी केन्द्रीय समिति बैठकमा एकगुट हुने देखिएपछि देउवाले पनि आफ्नो पक्षका बीचमा बलियो उपस्थिती देखाउन आन्तरिक छलफल गरेका हुन् ।

काग्रेसमा लेभी, अनुशासन सम्बन्धि ब्यवस्था लगायतका विषयमा नियमावली मस्यौदाका विषयमा पनि विवाद छ । नियमावली बनाउनका लागि काग्रेसले नेता रमेश लेखकको संयोजकत्वमा कार्यदल बनाएको थियो । उक्त समितिले गत आइतबारको बैठकमा आफ्नो प्रतिवेदन बुझाएको थियो ।

तर नियमावलीको मस्यौदामा उल्लेखित लेवी र अनुशासनसँग सम्बन्धित ब्यवस्थाका विषयमा भने देउवा इतर पक्षका नेताहरुले शुक्रवारको बैठकमा विरोध जनाएका थिए ।

आजको बैठकमा पनि नियमावली केन्द्रीत हुने नेताहरुको भनाई छ । नियमावली छलफल सकिएपछि अन्य एजेण्डामा प्रवेश पाउने बताईएको छ ।
 

प्रतिक्रिया दिनुहोस